|

अमेरिकाले रूसमाथि ‘साइबर हमला’ लगायत अन्य शत्रुतापूर्ण कार्यको आरोप लगाउँदै प्रतिबन्धको घोषणा गरेको छ। अमेरिकाले घोषणा गरेको प्रतिबन्धले रूसका दर्जनौं संस्था र अधिकारीहरूलाई निसानामा पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

ह्वाइटहाउसले प्रतिबन्धको उद्देश्य रूसको हानिकारक वैदेशिक गतिविधिहरु रोक्न रहेको बताएको छ। ह्वाइटहाउसले जारी गरेको वक्तव्यमा गत वर्षको ठूलो ‘सोलारविन्डस्’ ह्याकिङमा रूसी जासुसको हात रहेको दाबी गरिएको छ।

त्यस्तै‚ २०२० को चुनावमा पनि मस्कोले हस्तक्षेप गरेको आरोप लगाइएको छ। यद्यपि‚ रूसले ती आरोप अस्वीकार गर्दै छिट्टै त्यसको प्रतिउत्तर दिने बताएको छ।

हिजो घोषित प्रतिबन्धको विस्तृत विवरण राष्ट्रपति जो बाइडेनद्वारा हस्ताक्षरित एक कार्यकारी आदेशमा उल्लेख छ। अमेरिकाको यो कदमपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण अवस्थामा पुग्ने आँकलन गरिएको छ। गत महिना मात्रै क्रेमलिनका आलोचक एलेक्सी नभाल्नीलाई विष दिएको आरोपमा अमेरिकाले सातजना रूसी अधिकारी र एक दर्जनभन्दा बढी संस्थालाई निसानामा पारेको थियो।

प्रतिबन्ध घोषणा भएलगत्तै रूसी विदेश मन्त्रालयले त्यसलाई 'खतरनाक तवरले तनावको तापक्रम बढाउने शत्रुतापूर्ण कदम' भनेको छ। रूसी विदेश मन्त्रालयले मस्कोस्थित अमेरिकी दूतलाई बोलाएको छ। युरोपेली संघ, नेटो र बेलायतले पनि अमेरिकी प्रतिबन्धको समर्थनमा वक्तव्य निकालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.