|

काठमाडौं : काठमाडौं महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन शुक्रबारदेखि सडक नाटक प्रदर्शन गर्ने भएको छ। पहिलो चरणमा १० स्थानमा सडक नाटक देखाउने तयारी भएको महानगरपालिका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए।

‘करदातालाई दबाब दिएर होइन सकारात्मक सन्देशसहित कर तिर्ने वातावरण सिर्जना होस् भन्ने हेतुले महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आनासुकी घरबेटी बा ‘सडक नाटक’ सुरु गर्न लागेको हो,’ अधिकारीले भने, ‘पहिलो चरणमा हामी काठमाडौं क्षेत्रभित्रका वसन्तपुर, कालीमाटी, कलंकी, चाबहिल, गौसाला, नयाँ बानेश्वरलगायतका विभिन्न १० स्थानमा सचेतनासहित सडक नाटक गर्छौं, प्रभावकारी भयो भने स्थानहरू थप गर्ने तयारी छ।’ 

अधिकारीले कोभिडका कारण चालु आर्थिक वर्षमा राजस्व संकलनको प्रक्षेपण नै कम गरेको भन्दै प्रक्षेपण अनुरुप कर संकलन गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिए। ‘महामारीका बेला करदातालाई दबाब दिने भन्दा पनि सचेतनामुलक अभियान सञ्चालन गरेर राजस्व असुली गर्ने उद्देश्यअनुरुप यसो गरेका हौँ,’ उनले भने, ‘हामीले यसअघि पनि आर्थिक कारोबार बढी हुने क्षेत्रका बजारको अनुगमन गरेका थियौँ, कर तिर्नेलाई धन्यवादपत्र र नतिर्नेलाई के–कारणले कर तिर्न सम्भव भएन भनी जानकारी गराउन सबै विवरणसहित विभागमा हाजिर हुने पत्र थमाएका थियौँ।’ 

उनका अनुसार कोभिडका कारण यो वर्ष व्यवसाय करमा २० प्रतिशत र होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई ५० प्रतिशत छुट दिइएको छ। ‘होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई हामीले असारसम्म नै छुट दिएका छौँ,’ उनले भने, ‘सम्पत्ति करमा १० प्रतिशत छुट दिएका छौँ। त्यो चैत मसान्तासम्म मात्रै हो, सम्पत्ति करमा पनि होटललाई असारसम्म ७५ प्रतिशत छुट दिएका छौँ।’ 

उनले बहाल करमा कोभिडका बेला एक महिना घरभाडा छुट दिएका घरधनीलाई असारसम्म करमा १० प्रतिशत छुट दिएको पनि  जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.