लक्षणबिना संक्रमण हुने र फैलने खतरा बढ्न थाल्यो

|

काठमाडौं : कोरोना संक्रमण फेरि बढ्न थालेको भन्दै सरकारले हिजो मात्र १४ वटा जिल्लामा विद्यालय सञ्चालन नगर्न आग्रह गरिसकेको छ। 

कोरोनाको नयाँ भेरियन्टको बढ्दो संक्रमणको उच्च जोखिममा बालबालिका पर्न थालेका भन्दै सरकारले सकभर विद्यार्थीलाई विद्यालय नपठाउन र सावधानी अपनाउन भनेको छ। ​

आजै मात्र राष्ट्रियसभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिको शुक्रबारको बैठकले बालबालिकाहरू कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पठनपाठन सञ्‍चालनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। ​

फागुन, चैत वैशाखमा सामान्य अवस्थामा पनि निमोनिया झाडापखलाका बिरामी बालबालिकाको चाप हुन्छ। त्यसमाथि कोरोनाको नयाँ भेरियन्ट संक्रमणबाट बालिबालिका प्रभावित भइरहेका छन्। 

दुई हप्तायता हाम्रोमा कुल संक्रमितको १० देखि १८ प्रतिशत बालबालिका भेटिएका छन्। यसअघि पहिलो लहरको तथ्यांक ३ दशमलव ७ प्रतिशत थियो। यसले पनि अहिले संक्रमणबाट बालबालिका प्रभावित भएको पुष्टि हुन्छ।

सानो समस्या भए पनि कोरोना हो कि भनेर अभिभावकले उपचारका लागि बालबालिकालाई अस्पताल ल्याउन थालेका छन्। त्यसैले अहिले त्रसित हुनुभन्दा सतर्क हुनुपर्ने समय हो।

बालबालिकामा संक्रमण बढ्दै गएपछि हामीले हाल कान्तिमा २५ बेड कोरोना उपचारका लागि थपेका छौँ। एक हप्ताभित्र हामीले‍ २५ बेड थप्ने तयारी गरिरहेका छौँ अब संक्रमित बालबालिकाको उपचारमा कान्तिले आवश्यक तयारी पूरा गरेको देखिन्छ। 

अहिले हाम्रोमा ५ जना कोरोना संक्रमित बालबालिकाको उपचार भइरहको छ। जसमा दुई जना कोरोना संक्रमित हुन् भने ने तीन जना एन्टिबडी पोजेटिभ।

दोस्रो लहर सुरु हुनुभन्दा पहिला हाम्रोमा १८ जना कोरोना संक्रमितको उपचार भएको थियो। जसमा एक जना ११ वर्षकाको मृत्यु भएको थियो। दोस्रो लहर सुरु भएपछि चैत २० पछि ७ जना संक्रमित बालबालिकाको हाम्रोमा उपचार भएको छ। जसमा एक जना संक्रमित बच्चाको मृत्यु भएको हो।

हाल हाम्रो उपचार गर्न आउने अधिकांश संक्रमित बालबालिकामा निमोनिया देखिएको छ। सामान्य रुघाखोकी लाग्ने त्यसपछि श्वास प्रश्वासमा समस्या हुने र हाम्रोमा आउँदा कोरोना पोजेटिभसहित निमोनिया भइसकेको अवस्था छ।

संक्रमित बालबालिकामा निमोनिया मात्रै हैन, कडा खालको झाडापखfला भएर उपचार गर्न आउने बालबालिकामा पनि कोरोना पोजेटिभ छ। नाकबाट रगत आउने समस्या भएर उपचार गर्न आउदा पिसिआर गर्दा कोरोना पोजेटिभ देखिएको छ।

अहिले हाम्राोमा उपचार भइरहेका एक जना कोरोना संक्रमित बच्चा पूरै शरीर दुख्यो भनेर उपचार गर्न आउनुभएको थियो। पछि पिसिआर गर्दा पोजेटिभ देखिएको थियो। त्यसैले ठूला मान्छेभन्दा बालबालिकामा कोरोनाको लक्षण अलि फरक देखिएको छ। बच्चाहरु धेरैमा 'पोष्ट कोभिड सिन्ड्रोम' छ जुन अरुमा हुँदैन। यसले बच्चाको मल्टीअर्गानहरूमा असर गर्छ।

हामीले पटक पटक जनस्वास्वास्थ्यको पालना गर्न भनिरहेका छौँ। सबैले गर्नु पनि भइरहेको थियो। तर बीचमा अलि हेलचेक्राइँ भयो। संक्रमण बढ्यो। ठूलो मानिसले गर्नुपर्ने मुख्य काम भनेको जनस्वास्थ्य मापदण्ड पालना नै हो।

सकभर बालबालिकालाई घर बाहिर लैजानै हुँदैन। बालबालिकाको इम्युनिटी पावर कम हुन्छ। यसले स्वास्थ्य अवस्था गम्भीर हुने सम्भावना बढी नै हुन्छ। अर्थात् इम्युनिटी कम हुँदा मोटालिटी चान्स हाइ हुन्छ।

त्यसैले स्कुल बन्द गरेर बालबालिकालाई घरबाहिर ननिकालाैं। अहिले भीडभाड हुने स्कुल कलेजमै हो। लक्षणबिना संक्रमण हुने र फैलने खतरा रोक्न यो गर्नैपर्छ। तर संक्रमण नियन्त्रणमा ढिलाइ गरियो भने यो भयावह बन्न सक्छ।

घर भित्रै भएका बालबालिकामा पनि उनीहरुको व्यक्तिगत स्वास्थ्यमा अरु बेलाभन्दा अलि ध्यान दिनुपर्छ। साना बालबालिकालाई खाना खुवाउँदा अभिभावकले राम्रोसँग हात धोएर मात्रै खुवाउने गर्नुपर्छ।

हामीले बालबालिकालाई काखमा लिने चुम्बन गर्ने परम्परा छ, अभिभावकले यो बानी हटाउनुपर्छ। कुनै पनि बालबालिकामा रुघाखोकी, झाडापखाला, श्वासप्रश्वासमा समस्या भए तुरुन्त अस्पताल तथा स्वास्थ्यकर्मीसँग उपचारका लागि लैजानुपर्छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.