|

वंशको बीउ रोपेर चन्द्रसेन परदेशिए।

शशिकलाको गर्भमा सिग्देल कुलको भ्रूण विकसित हुँदै गयो। गर्भे शिशुले धरती टेक्नु अगावै चन्द्रसेनलाई उसको उचित स्याहारसुसार खर्च जोहो गर्नु जो थियो।

देशमा बसेर कमाउन सकेका होइनन्। उमेरले २५ छोउञ्जेल पढाइमै घिस्सिए। स्कूल-कलेजको चक्करले दिएको भनेको एउटी प्रेमिका बाहेक अरू केही होइन्‌। केही आफूजस्तै अल्लारे साथी दियो। ती सबै खाडीतिर फाँडी भए।

२७ वर्षको उमेरमा चन्द्रसेनले विवाह गरे। रहरले जन्माएको सन्तानलाई जहरजस्तो जीवन दिने इच्छा कुन चाहिँ बाबुआमालाई पो होला! कर्तव्यबोधको घण्टी बजेपछि चन्द्रसेन परदेशिए।

आश, श्वास र लाशको ब्रह्माण्डमा केवल आशाको त्यान्द्रो समाएर नै त मान्छे झुन्डिएको हुन्छ। त्यो चुँडियो भने मान्छे कहाँ पो खसि जाला! त्यही आशाको त्यान्द्रो समाएर चन्द्रसेन झुन्डिइरहेका थिए। कोरियन भाषा अध्ययन गरे। जसोतसो उत्तीर्ण भए। कागजपत्र, यताउता र सबथोक चाजोपाँजो मिलाउँदा सात महिना बित्यो।  

शशिकलाको गर्भले भार छोड्ने तरखर गर्दै थियो। चन्द्रसेन माटो छोड्ने हुटहुटीले छट्पटाइरहेका थिए। ९ महिना पूरा भैसक्दा गर्भे शिशुले धरती टेक्यो। यता चन्द्रसेनले जन्मभूमि छाडे। जन्म र कर्मको खेलले बाबू छोरालाई अलग बनायो।

जीवनको भिन्दाभिन्दै पर्दामा अस्पतालभित्र छोरोले संसार देख्यो, उता बाबुले प्लेनबाट उत्रिएर अर्को साँघुरो देशभित्रतिर फराकिलो संसार देखे।

मालिकको शासनमा आसन लिएर चन्द्रसेन काम सिक्दै गए। मेशिनसँग सहकार्य जुटाए। फरक माटो र भिन्दै परिवेशमा आफूलाई ढाल्दै लगे। जीवनको सिंहासनमा भर्खर उत्रिएको गर्भे बालक आमाको हथेली समाएर बामे सर्दै गयो। काख, ओछ्यान र भुईंसँग सहकार्य जुटायो। जीवनका दुई भिन्दाभिन्दै पर्दामा बाबुछोराको संघर्ष जारी रह्यो।  

चन्द्रसेन हँसमुख थिए। मिजासिला थिए। शीलस्वाभाव असल थियो। तर, देश छाड्नुको पीडा हृदयमा गढेकै भएर होला - छोराको नाम स्वदेश राखिदिए। छोरोको नाम बाबुको झोंकको सिकार भयो। स्वदेश देशमा हुर्कियो। चन्द्रसेन परदेशमा घोटिए।

शशिकलाले तनमन लगाएर छोराको स्याहार गर्न थालिन्। छोराको ज्यानमा मासु भरिँदै आयो। गाला पुक्क बाहिर निस्किए। चिम्से आँखा गोला र फराकिला हुँदै आए। शशिकला घरिघरि छोरोको अनुहार हेर्थिन्‌ र भिन्दै पाराले मुस्कुराउँथिन्। सायद उनलाई लाग्दो हो - आमा भनेका जीवनका लागि मान्छे निमार्ण गर्ने सबैभन्दा उत्कृष्ट कालीगढ हुन्।

चन्द्रसेनलाई परदेश फाप्यो। मेसिनको दुनियाँमा आफूलाई रमाउन सिकाए। यन्त्रहरूलाई जीवन जिउने संयन्त्र बनाए। समय र कामको मूल्यबोध गर्दै गए। बाहुबल लगाएर मालिकको खुशीका लागि लागि परे। उनी मालिकको ढाडस त पाउँथे। तर खै किन !उनको हाड र मासुको शरीर हाड र छालामा परिणत भयो। त्यति हुँदा केही फाइदा भने अवश्य भयो।

सधैँजसो दैलो टेक्ने साहु आउन छाड्यो। छोराका पाइला स्कूल टेक्ने भए। श्रीमतीको मुहारमा कान्तिले ठाउँ पायो। चन्द्रसेनको आकाश उज्यालियो। मासुको व्ययले जीवनको आँसु कटौती भयो।

बल्ल चन्द्रसेनलाई क्षितिज टेकेर उक्लिएको घाम घाम जस्तो लाग्न थाल्यो। परदेशमा निस्किएको घाम बल्ल उसलाई आत्मीय लाग्न थाल्यो।

चन्द्रसेनले भिडियो कलमै छोराको अनुहार देखे। भिडियो कलबाटै छोरोले चन्द्रसेनलाई 'ड्याडी' भनेको हो। छोरोको मुखबाट 'ड्याडी' सुनेपछि पो चन्द्रसेन झसङ्ग भए।

ऐनामा पहिलोपटक राम्रोसँग आफूलाई ठम्याए। छड्के पर्दै टाउकाको फुलेका कपाल गने। निधारको क्षेत्रफल नापे। जुँगाको मोटाइदेखि अनुहारको छिप्याइसम्म सबका सब ध्यानपूर्वक नियाले। उमेरको क्षय नभइ आयव्यय हिसाब नमिल्ने रहेछ भन्ने उनलाई लाग्दै गयो। हिजोसम्म आफूलाई केटाकेटी सम्झने चन्द्रसेनले आफू बूढो भएको आभास बल्ल पाए। 

'छोरोले खाना खायो?'

'छैन !'

'के गर्दैछ?'

'निदाइरा'छ।'

'जाडो बढ्यो होला, चिसोबाट जोगाउ।'

'हस्!'

'लिटो खुवायौ?'

'खुवाएँ।'

खोप? सुई?'

'अँ! अर्को साता हो।'

यस्तै यस्तै...

समयले परिवर्तन काँधमा बोकेर ल्यायो। सधैँ आमाका खातिर सोधिने प्रश्न छोराका लागि भए। सधैँ एकअर्कामा ठोक्किने दुवैका आँखा छोरामा गएर ठोक्किन थाले।

एक ब्रह्माण्डमा हरेक बाबुआमाले सन्तानका आँखामा सायद अर्को ब्रह्माण्ड देख्दा हुन्! यो दाम्पत्य जीवनको सर्वव्यापी नियम हुँदो हो। त्यसैले त दुवैका आँखा छोरामा आएर अल्झिन थालेका थिए।​

०००

चन्द्रसेनले प्रेम विवाह गरेका हुन्। कोरियन भाषा पास गरेकै दिन प्रेमिकाको घर गए। हात माग्ने साहस जुटाए। प्रेमिका प्रधानकी छोरी थिइन्‌। बाबू हेर्दै ज्युँदो मानिस झम्टिएलान् जस्ता थिए। कोरियन भाषा पास भएरै चन्द्रसेनको दुब्लो र पातलो छातीमा हिम्मत भरिएको हो।

त्यही हिम्मतको तात्तातो हावा नफुस्किँदै प्रेमिकाको घर पुगे, हात मागे। 

प्रधानले शिरदेखी पाउसम्म नियालेर भनेका हुन्, 'सुखसयलमा हुर्किएकी छोरी हो। के छ हुती तिम्रो?'

चन्द्रसेनलाई पनि आफू हेपिएको आभास भयो क्यारे। आफ्नो शाख जोगाउने हेतुले गर्वले छाति फुलाएर भनिदिए, 'कोरियाको लाख कमाएर तिम्री छोरी पाल्छु। ' 

छाँटकाट खासै नदेखेपनि प्रधानलाई हुनेवाला ज्वाईंको आँट मनपर्‍यो। त्यसपछि त के चाहियो? दुई साता नबित्दै दुवैको विवाह भयो। छोरो जन्मिएपछि दुवैको प्रेम छोरोमा गएर मिसिएको हो। दुवैले स्वदेशलाई प्रेमको अमूल्य निसानी सम्झिएका हुन्। 

यी, यिनै र यावत कुराबीच केही त खड्किरहेको थियो, जसले शशिकलाको कान्ति बिस्तारै खोसिरहेको थियो। चन्द्रसेनको चन्द्रमामा औँसी लगाउँदै थियो। उज्यालिएको जीवनमा असन्तुष्टिका धर्काहरू कोरिन थालेका थिए।​

०००

चन्द्रसेन परदेशिएको थुप्रै भयो।

भर्चुअल पर्दामा नै उनले छोरो हुर्किएको हेर्नुपर्‍यो। उनलाई जीवन कुनै सिनेमा भन्दा कम लागेन। भिडियो कलमै छोरो हिँड्न, दगुर्न थाल्यो। चुट्कीभरमा छोरो बढेको आभास हुँदा समय बितेको पत्तै भएन। सपना र यथार्थबीच समानान्तर केही थियो - जसले आमाछोरा र बाबुलाई जोडिरहेको थियो। जसलाई छामेर एक परिवारले दिन व्यतित गरिरहेका थिए।

सबथोक ठीकठाक नै त थियो। लोग्ने कोरिया भएकी श्रीमतीको आफ्नै शान थियो। गाउँ-ठाउँमा सम्मान थियो। परदेशिएपछि कहिल्यै उनीहरूले जीवनलाई पछाडि फर्किएर हेर्नुपरेन। तर, परदेशको रमझमबीच चन्द्रसेन खुशी रहिरहन सकेनन्। सन्तान, सम्पत्ति र पति हुँदा पनि शशिकला खुशी रहिरहन सकिनन्। 

खुशीहरूको आयु क्षणभङ्गुर हुन्छ। यसको तन्काइ एक विन्दुमा गएर चुँडिजान्छ।

परदेशमा लामो समय बिताउँदिन भन्ने चन्द्रसेनको सोच बालुवामा पानी भयो। केही वर्षमै जग्गा जमिन जोडेर एउटा घर बनाउने र देश फिर्ने सपनामा तुवाँलो लाग्यो। देशको काख सम्झिएर के गर्नु परदेशको लाख सम्झिएपछि चन्द्रसेन देश फर्किने आफ्नै सोचको गर्दन निमोठिदिन्थे। उनी आफ्नै सोचहरूको हत्या गरेर सुकुनको स्वास फेर्न खोजिरहेका थिए। जुन सम्भव थिएन। सन्तानको लालनपालन खर्च, स्कूल खर्च, पारिवारिक झैँ-झमेलातर्फको भविष्यत दृष्टिले चन्द्रसेनलाई घर फर्किन दिएन।

दूरीका फाइदा र घाटा दुवै छन्। दूरीले मान्छेबीच प्रेम बढाउँछ। त्यहि दूरीले झन मानिसलाई टाढा बनाउन पनि सक्छ। दूरीको दोस्रो सूत्र उनीहरूबीच लागू भयो।

श्रीमान परदेशको रमझममा हराउँदै गए भन्ने शशिकलालाई लाग्दै गयो। जति कमाएपनि नभरिएको आवश्यकताको भकारी देखेर चन्द्रसेन वाक्क दिक्क भए। परदेशमा कामको चाप बढ्दै गयो। डे र नाइट दुवै सिफ्टमा काम गर्न थाले। पहिले भन्दा धेरै कमाउन थाले। पहिले भन्दा कम सुत्न थाले। पहिलेभन्दा झन दु:ख गर्न थाले। राती अबेर कोठामा आउँथे। भुक्लुक्क निदाइहाल्थे।

श्रीमतीसँग संवादहरू छोट्टिँदै गए। धनको भकारी भरिँदै आयो। मनको भकारी रित्तिँदै गयो। कहिलेकाहीँ फोन गरिहाले भने धेरै समय छोरासँगै कुरा हुन्थ्यो।

लोग्ने र स्वास्नीबीच भावनाको नाता मात्रै नाता हुँदैन। प्रेमको नाता मात्रै पनि नाता हुँदैन। शरीर, संसर्ग र आत्मातिरको नाता पनि नाता हुन्छ। फोनमा भावना र प्रेम मात्रै बाँडिन्थ्यो। 

कामको थकान, आफैँसितको असन्तुष्टि र एक्लोपनको साहारा चन्द्रसेनले रेड लाइटको उज्यालोमा देख्न थाले। अब चन्द्रसेनको कैयौं रात रेडलाइट एरियामा बित्न थाल्यो। जीवनको प्राकृत उज्यालो हराउँदै गयो। कृतिमताको भ्रामक उज्यालोमा चन्द्रसेन जाकिँदै गए।

छुट्टीमा बाटोमा घुम्न निस्किएको सिङ्गो परिवार देखेर चन्द्रसेनलाई परिवारको नियास्रो लाग्थ्यो। कल्पनाको पार्कमा घरिघरि चन्द्रसेन आफू, छोरा र श्रीमतीलाई भेट्टाउँथे। वास्तविकतामा पछारिँदा एक्लो आफूलाई धनको बिछ्यौनामा पाउँथे। उमेरको जोश र होस सबै सराब र रेड लाइट एरियामा गुम्न थाल्यो। त्यहाँ तनको प्यास त मेटिन्थ्यो, तर मनको प्यास मेटिँदैनथ्यो। त्यो संसर्गमा आत्मियता थिएन। आफ्नोपन थिएन। 

'घर कहिले आउँछौ?', श्रीमती प्रश्न तेर्स्याउँथिन्।

'खै!', चन्द्रसेन त्यही प्रश्नमा छिर्के लागेर लड्थे।

चन्द्रसेनको 'खै' मा छुट्टी नपाउनुको तित्तता मिसिएको हुनसक्थ्यो। जति कमाएपनि नपुगेको सम्पत्तिको तृष्णा मिसिएको हुनसक्थ्यो। जसोतसो एउटा घर र थोरै सम्पत्ति जोड्न पाए घर फिर्ने योजना बुन्ने आफ्नै आकांक्षाहरूले बारम्बार बदलेको रूप चिन्न नसक्नुको दिक्दारी मिसिएको हुनसक्थ्यो। परदेशको एक्लो जीवनले देखाएको एकलमार्गी दृष्टिको अँध्यारोमा हराएका पनि हुनसक्थे, चन्द्रसेन।

'चन्द्रसेन! म तिमीलाई केही सोध्न चाहन्छु।,' श्रीमतीले धेरै दिनपछि मनको दैलो उघारिन।

चन्द्रसेन दङ्ग परे। कहिल्यै अनुमति नचाहिने संवादमा यो पङ्ती उसलाई अलिक भिन्नै लाग्यो।

'सोध न के कुरा?' चन्द्रसेन सचेत शैलीमा बोले।

'के तिमी मलाई अझै पनि प्रेम गर्छौ?'

चन्द्रसेन झस्किए। श्रीमतीको यस प्रश्नमा सम्पत्तिको सम्पन्नता बीच कतै खड्किएको एक्लोपनको खिन्नता मिसिएको हुनसक्थ्यो। दिनभर घर व्यवहार सम्हालेर रात ओछ्यानमा अँगालो भर्ने साथीको अभावको शून्यता खड्किरहेको हुनसक्थ्यो। मनका बह र भावना पोख्ने ठाउँ नहुँदा एकनासको दैनिकी मेसिनजस्तो उनलाई लागेको पनि हुनसक्थ्यो।

देश, परदेश र परिवेशको जाँतोमा दुवैजना पिल्सिएका हुनसक्थे।

'के भनेकी? किन गर्दिन त! शशि तिम्रो कुरा म राम्रोसँग बुझ्छु। तर प्रेमले मात्रै जीवन नचल्ने रहेछ। एकचोटि आफूलाई ऐनामा हेर त। अब हामी धेरै परिपक्व पो भैसक्यौ। यस्ता कुरामा अल्झिनु हुदैन। '

'कस्ता कुरा चन्द्रसेन? कतै तिमीले हाम्रो प्रेमलाई अपरिपक्वताको नतिजा भन्न खोजेका त होइनौ?'

श्रीमतीका सबै प्रश्नको उत्तर अचेल चन्द्रसेनसँग हुँदैन।

०००

पाँच वर्षमा पहिलो पटक चन्द्रसेन घर फर्किएका थिए।

छोरो स्कूल पढ्ने भएको थियो। श्रीमती अत्याधिक खुशी भएकी थिइन्‌। चन्द्रसेनलाई पाँच वर्षपछि आफ्नो देशको धर्ती टेक्दा माटो र पैतालासँगको सम्बन्ध बडो अनौठो नजर आएको थियो। लामो समयपछि प्राप्त भएको एकमुष्ठ खुशीको स्वाद उनले राम्रोसँग चाख्न भ्याएनन्। तीन महिने छुट्टि चुट्की भरमा सकिएको आभास चन्द्रसेनलाई भयो।

त्यस अवधिमा उनले शहरबाट भित्र केही जग्गाजमिन जोडे। पुरानो ठाउँको डेरा सरेर नयाँ ठाउँमा फ्ल्याट लिएर बासस्थान जमाए। आफन्तजन भेटघाट गरे। सबैको मुखमा बुझो लगाए, तर आफ्नै परिवारलाई दिने समय उनीसँग बचेन।

वंशको दोस्रो बीउ रोपेर चन्द्रसेन बादलको थुप्रोबाट पुन: कतै गायब भए।

अर्को पाँच वर्ष परदेशमा बित्यो। वंशको दोस्रो बीउ छोरी थिइन्‌। छोरो १० वर्षको भैसकेको थियो। अब खर्चमा बढुवा भयो। छोरी स्कूल पढ्ने भइन्‌। छोरीलाई राम्रो स्कूल पढाउनै पर्‍यो। अगाडिको भविष्यलाई चन्द्रसेन घरि छोरा त घरि छोरीको आँखाबाट हेर्न थाल्थे। चन्द्रसेनको सुल्झिँदै गैरहेको जिन्दगी फेरि केही जिम्मेवारीको उल्झनमा फस्दै गयो।

भिषा समाप्त भैसकेको थियो। अब उनी वैधानिक भएर कोरिया बसिरहन सक्दैनथे। त्यसपछि उनी अवैधानिक भए। लुकेर काम गर्न थाले।

सम्पत्तिले चन्द्रसेनलाई पुगेन। करोडको थुप्रो टेकेर हेरिएको भविष्य पनि सुरक्षित नजर आएन। शहरबाट अलिक भित्र जोडेका घडेरीहरू सबै बेचे। शहरभित्र आएर एउटा आलिशान घर किने। नपुगेको पैसा ऋण धन गरे। अब उनको अवैधानिक समयको कमाई ऋण चुक्ता गर्नेतर्फ अग्रसर भयो।

अवैधानिक भैसकेपछि बाहिर खुलेर डुल्न डर थियो। परदेशको जीवन पहिलेजस्तो सहज भएन। चन्द्रसेनले कम्पनी र आसपासको सानो क्षेत्रफलमा आफूलाई कैद गरे। उनलाई आफू परदेशको कुनै गुप्त ओडारमा लुप्त हुँदै गइरहेको अनुभूत हुन थाल्यो। निसासिँदै गए। झन पछि झन कुनै दलदलमा भासिँदै गैरहेको अनुभूती उनले गर्न थाले।

स्वदेशमा परिवार आफ्नै घरमा सर्‍यो। घर त आलिशान थियो। तर, शशिकला भने चिन्तामा थिइन्‌। देशमा छोरोले राम्रोसँग पढेन। गलत संगतको सिकार भयो। कुलतमा फस्यो। छोरालाई केही समय सुधारगृह पठाइन्‌। छोरो सुधार गृहको बन्दी भयो। आमाछोरी नयाँ घरमा बन्दी भए। चन्द्रसेन उता परदेशमा बन्द थिए।

जीवनको त्रिकोण बडो अजीव बन्दै थियो। सुधारगृहबाट फर्किएको छोरोको हाउभाउमा केही परिवर्तन आयो। ऊ पहिले जस्तो रहेन। दिनभर आफूलाई प्राय: कोठामा बन्द गरेर बस्थ्यो। कतिबेला कलेज जान्थ्यो, आउँथ्यो। शशिकला अरू समय स्वदेशलाई कोठामै बन्द पाउँथिन्।

समय बित्दै गयो। दिन, महिना, वर्ष व्यतीत भयो। सम्झनाहरू सङ्लिए। जीवन सम्हालियो। जीवन जिउने एक आदत विकास भयो।

छोरी हर्लक्क हुर्किसकेकी थिइन्। चन्द्रसेनलाई ड्याडी भन्ने अब दुईजना भएका थिए। एउटी श्रीमती छँदै थिइन्‌। चन्द्रसेन तीनवटा मुटुमा एकैसाथ धड्किन थालेका थिए। तीन जोर आँखामा एकसाथ झल्किन थालेका थिए। तीन जोडा पैतालाबाट एकसाथ सयर गर्न थालेका थिए।

जिम्मेवारीको काँध स्वत: बोझिलो हुँदै गएको थियो। घामहरू आकाशको बुई चढ्दै गए। डाँडामुनि हाम फाल्दै गए। यो चक्र फनफनी चलिरह्यो। चाड आए। पर्व गए। बसन्त गयो। शिशिर आयो। यामहरूको यो परिवर्तनले जीवनको अन्जाम सायद अर्कै सोचेको थियो।

एकदिन शशिकलाको मोबाइलमा रिङ बज्यो। त्यो रिङ अरूबेला जस्तो खुशी र उमंगको थिएन। मोबाइल स्क्रिनमा कुनै अपरिचित नम्बर शंखनाद गरिरहेजस्तो थियो। मौसम आफै निन्याउरो थियो।

शशिकलाले सधैझैँ फोन रिसिभ गरिन्‌। फोन कानमा लगाएको एकैछिनमा उनी कतै भित्तोमा प्वालै छेडुँला जसरी हेरेको हेरै भइन्‌। शरीर लल्याकलुलुक भयो। हातबाट फुत्किएर भुईंमा खसेको मोबाइलसँगै शरीर भित्रका सम्पुर्ण पार्टपुर्जा यत्रतत्र भुइँमा छरिएको भान उनलाई भयो। कसोकसो आफूलाई सम्हालिन्। त्यही विषादको अवस्थामै एयरपोर्ट पुग्नुपर्‍यो।

उनको अगाडि एउटा बाकस तेर्सिएको थियो। 

शशिकलाले आफूलाई थाम्न सकिनन्, छोराको हातबाट आफूलाई छुटाएर बाकसमाथि गर्लम्म ढलिन। स्वदेश अक्क न बक्क थियो। परदेशबाट फर्किएको बाकसमा बा थिए। आशाका शिखरहरू गर्ल्यामगुर्लुम ढले। अग्र जीवनको अनिष्ट छायाँ आसपास देखापर्‍यो। 

चन्द्रसेन भाग्यमानी बाबू हुन्। छोराको हातको दागबत्तीसम्म भेटे।

घाउहरू पुरिएका थिएनन्। घर कुनै निर्जन जंगलजस्तो सन्नाटायुक्त थियो। शशिकला अर्धहोस मै थिइन्‌।

दागबत्ती दिएको तीन महिनापछि स्वदेशको भिषा झर्‍यो। शशिकला दङ्ग परिन्‌। लामो समय सुधारगृह र घरको कोठामा आफूलाई बन्द गरिरहने छोरोले यो सबै कहिले गर्‍यो, शशिकलाई थाहै भएन। ठीकसँग देशको नागरिक भएको चालसम्म पाउन नसकेकी शशिकलाले छोरोलाई परदेशी भएको हेर्न पाउने भइन्‌।

स्वदेशको पासपोर्टमा कोरियाको स्ट्याम्प थपियो। स्वदेश परदेश हानियो। बाबुले लाख कमाउने ठाउँमा अचेल स्वदेश दुई लाख कमाउँछ। चिम्नीबाट उड्दै गरेको धुवाँमा आँखा लगाउँछ र दागबत्ती दिएको आफ्नो बाबुलाई सम्झन्छ!

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.