|

झापा : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक दलभित्र आन्तरिक द्वन्द्व उत्पन्न गर्ने प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराजा ज्ञानेन्द्र शाहको शैली एउटै भएको आरोप लगाएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको बिर्तामोडमा शुक्रबार माधव–झलनाथ पक्षका नेकपा एमालेको जिल्ला कार्यकर्ता भेलामा नेपालले विगत सम्झिँदै भने, 'वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीले जसरी नेकपा एमालेका वरिष्ठ नेता वामदेव गौतमलाई बोलाएर तपाईंभन्दा योग्य कोही पनि छैन, मपछि अबको अध्यक्ष तपाईं नै हो भनिरहेका छन्, त्यही शैलीमा विगतमा पूर्वराजा ज्ञानेन्द्र शाहले मलाई बोलाएर कांग्रेस राष्ट्रघाती हो, गिरिराजप्रसाद कोइराला काम लाग्दैन अब तपाईंले नै जिम्मेवारी सम्हाल्नुपर्छ, उता गिरिजालाई बोलाएर कम्युनिस्ट राष्ट्रघाती हो, माधवजी कामै लाग्दै भनेका थिए, त्यसपछि गिरिराजप्रसाद जीसँग मेरो सम्बन्ध केही समय टाढिएको थियो।'

त्यसैलाई स्मरण गर्दै नेता नेपालले थपे, ‘अहिले त्यही शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीले अघि बढेर कम्युनिस्ट पार्टी फुटाए।' झुटको खेती गर्न ओलीले बनाएको टिमलाई उनले साइबर स्यालको संज्ञा दिए। प्रधानमन्त्री ओलीसँग आफूहरूको कुनै व्यक्तिगत रिसइबी नभएको तर काम गर्ने शैली ठिक नभएको उनको भनाइ थियो। 'उहाँ अहिले पनि सुध्रिएर आए पार्टी एकता सम्भव छ,’ उनले थपे।  

कार्यक्रममा एमालेका उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छाबमोजिम नै अदालतले उनको पक्षमा फैसला गरेको आरोप लगाएका छन्। 

‘राजनीतिक हिसाबले ओलीले नेकपा विभाजन गर्ने काम गरेका थिए, भने अदालतले त्यसलाई कानुनी कार्यान्वयनको मान्यता दियो,’ उनले भने। ओलीको सामर्थ्यले पुगेसम्म यो कम्युनिस्ट आन्दोलनसँगै नेकपा एमाले कहिले नउठ्ने गरी फुटाउने खेलमा लागिसकेको उनको भनाइ छ। 

माधव–झलनाथ पक्षधर नेकपा एमाले झापाका अध्यक्ष बोधराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा ३ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको छ। घोषित कमिटीको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, सचिवमा नीलमणि बराल उपसचिवमा मणि भण्डारीलगायत ३५१ सदस्यीय समिति रहेको र विभिन्न विधागत कमिटी समेत गठन गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.