|

काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानले १०६ वर्षअगाडिको ऐतिहासिक लोक सामग्रीलाई प्रकाशनमा ल्याएको छ। पहिलो विश्व युद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सेनाहरूले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखानेहरूलाई संकलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रकाशन गरेको छ।

प्रथम विश्वयुद्धमा बेलायतका पक्षबाट युद्ध गर्ने गोर्खाली सेनाहरू जर्मनीमा बन्दी बनाइएका समयमा जर्मन प्रोफेसर हाइनरिक ल्युडर्सले तिनको वासस्थानमा नै गएर रेकर्ड गरेका र जर्मनीको हुम्बोल्ड विश्वविद्यालयको ध्वनि संग्रहालयमा सुरक्षित राखिएका लोक सामग्रीहरू प्रज्ञा प्रतिष्ठानले संकलन गरी प्रकाशन गरेको हो।

नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य (बालसाहित्य र लोकवार्ता) विभागको अनुसन्धान परियोजनाअन्तर्गत रहेर हाल अस्ट्रियाको भियाना विश्वविद्यालयमा प्राध्यापनरत डा. अलका आत्रेय चूडालले उक्त सामग्रीलाई ध्वनिबाट लिपिमा उतारेकी हुन्। तीन परिच्छेदमा विभाजन गरिएको यस कृतिको पहिलो परिच्छेदमा प्रस्तुत सामग्रीहरूको स्रोत, खोजी र प्राप्तिका सन्दर्भमा महत्त्वपूर्ण जानकारीहरू प्रस्तुत गरी ती सामग्रीहरूको विश्लेषण गरिएको छ।

दोस्रो परिच्छेदमा गोर्खाली युद्धबन्दीका लोकभाका र कथाहरू राखिएका छन्। यस खण्डमा ती गोर्खाली सेनाले गाएका लोकगीत, सवाई, सिलोक, फुटकर गीत, फुटकर सिलोक, ख्याली, हिन्दी गीत र भजन, हिन्दी दोहा र सिलोकहरू, सोरठी जस्ता गेय विधा लोककथा, आत्मकथा, निबन्ध र केही गाउँखाने कथा जस्ता गद्य विधाका जम्मा ८६ वटा ऐतिहासिक महत्त्व राख्ने लोक सामग्रीहरू समेटिएको प्राज्ञ डा. देवी नेपालले जानकारी दिए।

डा. आत्रेयको अथक मेहनत र प्रज्ञा प्रतिष्ठानको जिम्मेवारीबोधका कारण वीर गोर्खालीहरूको हराउन लागेको इतिहास आज नेपाली पाठकहरूसमक्ष आइपुगेको छ। २२० पृष्ठको उक्त ऐतिहासिक कृति हाल प्रज्ञा प्रतिष्ठानमा भइरहेको बृहत् पुस्तक प्रदर्शनीमा समेत राखिएको सूचना तथा सञ्चार शाखा प्रमुख प्राज्ञ शशी लुमुम्बुले दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.