|

काठमाडौंं : फेरिएको मौसमले तातिएको काठमाडौं !

तातिएको मौसममा भने उनको मन चिसिएको छ। चिसो शरीरलाई तताउन गलामा गलबन्दी र कमिजसहित धोती छ। खुट्टामा रातो फित्ते चप्पल छ।

तर, चिसिएको मन तताउन उनीसँग कुनै पनि विकल्प छैन। किनभने उनी छोराको शव लिन आएका हुन्। यो दुनियाँमा आफ्नो सन्तानको मरेको लाश हेर्नुपर्ने अभागी पिता हुन् उनी।

शनिबार उस्तै गरेर पूर्वबाट घाम उदायो। तर, रतनको भने जीवनको उज्यालो खाडीमै अस्ताइसकेको छ। अस्ताउन लागेको अनुहारमा प्रकाश छर्ने छोराको अवसान उनका लागि व्यक्त गर्न नसकिने पीडा हो।

व्यक्त गर्न नसकिने दु:ख साच्चै कहालीलाग्दो हुन्छ‌। उनको अनुहारमा देखिएको त्यो पीडा हेर्न सकिन्छ। सायद महसुस गर्न सकिँदैन होला।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरस्थित प्रतीक्षालयमा ५४ वर्षीय कामत मलिन अनुहार लिएर टुक्रुक्क बसिरहेका थिए। शनिबार बिहान ८ बजे त्यहाँ भेटिएका उनी घरि परदेशिएका सन्तानहरूको अनुहार हेर्थे त घरि बिदा मनाउन स्वदेश फर्किएका सन्तानहरूको।

तर, ती अनुहारमध्ये कोही पनि उनका छोरा थिएनन्‌। आफ्नै लवजमा उनी भक्कानिँदै थिए, 'जिउँदो हुन्थ्यो भने मेरो छोरो पनि यसरी नै हाँस्दै आउँथ्यो होला।'

कामत सिरहाबाट आएका हुन्।

परिवार आफन्तको मिलन र विछोड गराउने विमानस्थलको विशेषता हो। क्षणिक समयका लागि परिवारसँग छुट्टिएर सुन्दर भविष्यको कल्पना गर्दै नेपाली युवाहरू आँशु लुकाउँदै विदेशिएका छन्।

कामतका छोरा पनि सुन्दर भविष्यको कल्पना गरेर यही बाटो विदेशिएका हुन्।

चार वर्षअघि मलेशिया गएका कामतका जेठा छोरा चन्द्रदेव कामतले गत २५ गते सदाका लागि उतै अस्ताए । 'फोन गरेर जेठमा १ गते आउँछु भनिरहेको थियो, समय अघि नै उ बाकसमा आयो', विरक्त भावमा उनले सुनाए।

पीडामा भएका व्यक्तिसँग अन्तरंग कुरा गर्नु त्यति उपयुक्त हुँदैन, कम्तिमा तत्कालीन समयमा। तर, कामत आफैँ बरबराउन थाले।

छोराको मृत्युको खबर आउँदाको दिन कामत बारीमा काम गरिरहेका थिए। दिनभरको थकान मेट्न नपाउँदै कसैले उनको कानमा छोरोले संसारबाट बिदा लिएको अप्रिय घटना सुनायो। जुन उनले कहिल्यै कल्पना गरेका थिएनन्।

गरिबीमा हुर्किएका चन्द्रदेव परिवारको दु:ख देख्न नसकेर विदेशिएका थिए। परिवारलाई सवल बनाउने सपना बोकेर मलेसिया पुगेका उनी कफिनमा फर्किए।

चन्द्रदेव मलेशिया जाँदा र घर खर्चका लागि लिएको ऋणको ब्याजमिटर उकालो लाग्दै गइरहेको छ। उनले मलेशियामा बस्दा न त ऋण तिरेर सके, न त उनी आफैँ जीवितै फर्किए। अब सिरहामा गर्मीभन्दा ऋणको रापले कामतको परिवारलाई गलाउँदै लानेछ।


कम्पनीले छुट्टी नदिँदा जीवित अनुहार हेर्न पाइनँ

 कोरोना महामारी नभएको भए चन्द्रदेव गत वर्ष घर आइसक्थे। महामारीकै कारण कम्पनीले छुट्टी नदिँदा उनी घर आउन पाएनन्।

'घर जान्छु' भन्दा पनि कम्पनीले चन्द्रदेवलाई आउन नदिएको कामतले बताए। चन्द्रदेवलाई निको नहुने रोगले च्यापेको थिएन। पायल्सको उपचार गरिरहेका थिए।

दिसामा रगत बग्दा उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गइरहेको थियो। 'छोराले फोन गर्दा पायल्सकै कारण स्वास्थ्य अवस्था कमजोर हुँदै गइरहेको छ भनेर सुनाउने गरेको थियो,' उनले भने,' नेपाल आएर राम्रोसँग उपचार गर्ने भनिरहेको थियो। महामारी नभएको मेरो छोरा आउँथ्यो र उपचार गर्थ्यो, आज यस्तो अवस्थामा देख्नुपर्दैन थियो होला।'

चन्द्रदेव मलेशियामा चिनियाँले चलाइरहेको फर्निचर कम्पनीमा काम गर्थे। कम्पनीले समयमा तलब नदिने भनेर सुनाउने गरेको छोराको पीडाले उनलाई सताइरहन्थ्यो।

चन्द्रदेवले घरमा लागेको ऋण तिर्न सकेनन्‌, परिवारकै काँधमा राखेर अस्ताए। गलबन्दीले आँसु पुछ्दै उनका बुबा रतनले भने, 'करिब चार वर्ष बस्दा पाँच लाख रुपैयाँजति पठायो, अहिलेसम्म घरमा लागेको ऋण तिर्न सकिएको छैन।' 

'शुरू-शुरूमा १ वर्षसम्म पैसा पठाएपनि त्यसपछि पठाउन सकेको थिएन,' आँसु पुछ्दै रतनले भने, '६ देखि ७ महिना सम्पर्कविहीन भएको थियो, पैसा पनि पठाउन सकेको थिएन, छोरा गएको ४ वर्ष पुग्न २ महिनामात्र बाँकी थियो, छोरा आयो-तर शव भएर!'

रतनले काँप्दै थपे, 'बुढेसकालको सहारा उही थियो, यही छोराको आशामा बसेको थिए, मेरो सहाराको लठ्ठी टुट्यो।' चन्द्रदेव बाँचेको भए जेठको पहिलो साता घरको आँगन टेक्थे। तर, नियतिको बज्र पर्‍यो र उनी कफिनमा सुतेर वैशाख ४ गते घरको आँगनमा पुगे।

शवसँगै ४२ इञ्‍चको टिभी, तर भन्सार छुटाउने पैसा थिएन

चन्द्रदेवले घरमा ल्याउन ४२ इञ्‍चको टीभी किनेका थिए। उनले घरमा परिवारसँगै बसेर टीभी हेर्न नपाए पनि परिवारको लागि टीभी जोडिदिएर प्रदेशमा अस्ताए।

'छोरा नआए पनि उसले किनेको टीभी आएको छ,' उनले भक्कानिँदै भने, 'भन्सारमा तिर्न पैसा छैन। छोराको शव नि:शुल्क लान पाउने भएपनि टीभी लान पाउँदिन होला जस्तो छ।'

तर, उनकै छिमेकीले भन्सारमा टिभीको भन्सार तिरिदिएपछि टिभी भने लाससँगै लिएर गए। विदेशबाट आएकाले भन्सारबाट '३२ इञ्‍च 'को टीभी निःशुल्क ल्याउन पाउँछन्। तर, त्यसभन्दा बढी इञ्‍चको टीभी ल्याएमा भन्सार लाग्ने गरेको छ।

शवको बाकसलाई छाम्दै उनले भने, 'चार वर्षसम्म बोल्ने अनुहार देख्न पाइनँ, जब नबोल्ने भयो-उसको नजिक पर्न पाएँ। सौभाग्य भनौं-बोल्दैन। मेरो दुर्भाग्य ! मलाई सदाको लागि नहेर्ने गरी गयो। '

२ छोरा, १ छोरी, श्रीमती र आमाबाबासहित चन्द्रदेवका घरमा पाँचजना छन्‌। रतनले छोराको सहारा लिन नसकेपनि नातिहरू ठूलो भइसकेकाले बुढेसकालमा उनीहरूबाट सहयोग पाउने आशा राखेका छन्। उनीहरूको आर्थिक अवस्था राम्रो छैन।

घरसहित ७ कठ्ठा जमिनमात्रै रहेको उनले सुनाए। उनको छोराको शव निकाल्ने पालो करिब ११ बजे आयो। वैदेशिक रोजगार बोर्डले मृतकको घरसम्म शव पुर्‍याउन नि:शुल्क सवारीसाधन व्यवस्था गरेको छ। शव लिन सेतो रंगको (जीप) शववाहन आयो, रतनले शव छेवैमा छोराले नै किनेको 'बोल्ने टिभी' राखे। अब कहिल्यै नबोल्ने छोराको शव नजिकै बसेर उनी सिरहाको धनगढीमाईतिर लागे। 

विप्रेषण चक्करमा गुमिरहेको जीवन

चालु आर्थिक वर्षको आठ महिना अवधिमा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ बराबर विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत फागुन मसान्तसम्मको आर्थिक विवरणमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भएको उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले बढेको थियो।

​रेमिट्यान्स भित्र्याउन सफल भइरहेको सरकारले यसलाई उपलब्धि मानिरहेको छ।

तर, देशमा रेमिट्यान्स मात्र भित्रिएको छैन। युवाहरू बाकसमा फर्किइरहेका छन्‌।

​त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा मलेशिया र कतारबाट गरी शनिबार एकैदिन ११ वटा शव आयो। मलेशियाबाट ९ र कतारबाट २ वटा शव आएको हो।

कोरोना महामारी शुरू भएयता विभिन्न कारणले विदेशमा ६ सय २६ नेपाली कामदारको मृत्यु भएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.