|

सर्लाही : छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढिरहे पनि भारतसँग जोडिएको सर्लाहीको सीमा नाकाबाट सर्वसाधरणहरू निर्वाधरूपमा ओहोरदोहोर गरिरहेका छन्।

दक्षिणी भेगका वासिन्दा खुला सीमाबाट किनमेल, औषधोपचार र दैनिक मजदुरीका लागि सामान्य अवस्थामा झैँ ओहोरदोहोर गरिरहेका छन्। सीमावर्ती क्षेत्रमा पर्ने मलंगवा नगरपालिकाका प्रमुख निर्शल साहले दक्षिणी गाउँका वासिन्दाहरू दैनिकी आवश्यकता पूरा गर्नका लागि भारत आवतजावत गरिरहेको बताउँछन्।

सीमा वारपार गरेर मजदुरी तथा किनमेल गर्न नपाउँदा त्यस क्षेत्रका धेरै घरपरिवारको घरमा चुल्हो नबल्ने नगरप्रमुख साह बताउँछन्। 'सीमा वारपार बन्द भए यहाँका स्थानीयहरु भोकभोकै मर्ने अवस्था आउँछ,' उनले भने‚ 'यो कुरा गत वर्षको लकडाउनले सबैलाई जानकारी नै छ।'

दक्षिण सीमावर्ती क्षेत्रमै पर्ने बलरा नगरपालिकाका प्रमुख अभय सिंहले गत साल भारतमा संक्रमण बढेपछि घर फर्किनेहरूको लर्को लागे पनि यस पटक त्यस्तो अवस्था भइनसकेको बताए। ग्रामीण भेगका वासिन्दालाई चेतनाको कमीले गर्दा संक्रमणबारे सचेतना फैलाउन समेत समस्या रहेको उनको भनाइ छ।

भारतमा दोस्रो चरणमा संक्रमण बढेपछि जिल्ला सदरमुकाम मलंगवास्थित नाकामा भारतबाट आउनेहरूको ज्वरो नाप्ने गरिएको भए पनि त्यसबाहेक अन्य सतर्कता अपनाइएको छैन। मुख्य नाका बन्द रहे पनि खेतबारी र खोला खोल्सी र खुला ठाउँबाट आउजाउ भइरहेको छन। गत वर्ष बन्द भएका सीमा नाका अझै खुलेका छैन।

सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जिल्ला स्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार तत्कालका लागि मलंगवा नाकामा मात्रै हेल्थ डेक्स स्थापना गरेर भारतबाट आउनेहरुको ज्वरो नाप्ने काम मात्र भएको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.