नेपाली नागरिक भएर नेपालमै अन्तिम श्वास फेर्ने इच्छा

|

विराटनगर : तीन दशकअघि भुटान छोडेर नेपाल आएकी ८० वर्षीया सन्तमाया राईलाई बेलाबखत भुटानमा रहेको आफ्नो जमिनको याद आउँछ। उनले सानो छँदा नेपाल पुर्ख्यौली घर हो भन्ने सुनेकी थिइन्। पुर्खाहरू कहिले भुटान आए भन्ने पत्तो थिएन। अहिले पनि छैन।

भुटानको सर्वाङ जिल्लामा सन्तमायाको जन्म भयो। त्यहीँको माटोसँग गहिरो नाता बस्यो। परिश्रम गर्न सके परिवार राम्रोसँग व्यवस्थापन गर्ने उनीहरुको जग्गा थियो। तर‚ भुटानको त्यो जमिन अहिले उनको सम्झनामा मात्रै सीमित छ।

आफू जन्मे हुर्केको ठाउँ पराई हुन्छ भन्ने उनले कल्पना समेत गरेकी थिइनन्। तर‚ तुफानले पतकर उडाए झैं उनीहरु भुटानबाट लखेटिए। भर्खरै फूल लाग्दै गरेको सुन्तलाको बोट, मौलाउँदै गरेको रायो सागको पात हेर्दाहेर्दै ओझेल पर्‍यो। त्यो दृष्य उनको मानसपटलमा क्यानभास झैँ अझै ताजा छ।

‘अब त त्यो सुन्तलाको बोट सबै दाउरा भयो होला,’ विगत सम्झँदै सन्तामायाले भनिन्, ‘उर्मिंदै गरेको हरियो सागको पात त्यहीँ सुकेर माटो भयो होला। सम्झेर मात्रै के गर्नु! फर्किएर जाउँ त कहाँ जानु!’

भुटानी सरकारले लखेटेपछि नेपाल चिन्ने अगुवाको साथ लागेर श्रीमान र परिवारको साथ सन्तमाया नेपाल आइन्। अहिले मोरङ पथरी शनिश्चरे भुटानी शरणार्थी शिविरमा बस्दै आएकी छन्। आफ्नै पुर्खा जन्मेको देश नेपालमा पराइ झैं व्यवहार खेप्नु पर्दा मन कुँडिएको उनको दुखेसो छ।

‘पहिले-पहिले हामीलाई बस्तीका आफ्नै दाजुाभाइले लखेट्न खोजे,’ भावुक हुँदै  उनले सुनाइन्, ‘हामीलाई भुटानी भन्दै हेला गर्थे। त्यो सम्झिँदा अहिले पनि दुःख लाग्छ।’

भुटानबाट विस्थापित भएर पूर्वी नेपालमा विभिन्न शिविरमा बसोबास गर्दै आइरहेका भुटानी शरणार्थी तेस्रो देश पुनर्वास भएसँगै अहिले शिविरको चहलपहल घट्दै गएको छ। सन्तमायाको पनि केही सन्तान अमेरिका पुगेका छन्। केही आफैंसँग रहेको उनले बताइन्। सन्तानलाई आफूबाट अलग्याएर अर्काको देश पठाउन बाध्यता भएको सन्तमायाले सुनाइन्। आफूले जस्तोसुकै दुःख, अभाव झेले पनि आफ्ना सन्ततिले भने त्यस्तो नभोगुन् भनेर नै अर्काको देश पठाएको उनले बताए।

आफ्ना सन्तानहरु विदेशिए पनि आफू जीवनको उत्तरार्द्धमा पुगेकाले आफ्नो प्राण पुर्खाको देशमा नै त्याग्ने इच्छा रहेको सन्तमायाले सुनाइन्। 'उमेरले डाँडा काट्यो,' उनले सुनाइन्, 'आफू जन्मेको देश छोडेर आइयो,  अन्तिम श्वास पुर्खाको भूमिमा त्याग्ने इच्छा छ।'

नेपाली नागरिक भएर मर्ने इच्छा

८७ वर्षीय यमबहादुर तामाङको पनि दुःखका पहाड सन्तमायाको भन्दा कम छैन। २०५० सालमा भुटानबाट लखेटिएर नेपाल आएका उनी त्यसयता दुःखका अनेकौं जँघार तर्दै शरणार्थी शिवरमा बस्दै आएका छन्। उनको कुनै सन्तान सुनौलो भविष्यको खोजीमा अमेरिका पुगेका छन्। एउटा छोरा भने उनीसँगै दुःखसुख बाँड्दै बसिरहेका छन्।

पुर्ख्यौली थलो ओखलढुङ्गा हो भन्ने यमबहादुरलाई थाहा छ। तर‚ भुटानबाट लखेटिएका उनी मोरङको पथरी शनिश्चरे आएर बसेको तीन दशक बितिसक्यो। शिविरमा रहँदा कुनै समय नेपाली दाजुभाइबाट नै कुटपिट सहनु परेको तीतो विगत पनि उनीसँग छ। पछिल्लो समय भने त्यस्तो व्यवहार हट्दै गएको यमबहादुरले बताए।

‘पहिले हामीलाई कुट्न शिविरमा नै आउँथे हाम्रा दाजुभाइ,’ विगत सुनाउँदै उनले भने, 'हामी परिवार पाल्नका लागि भए पनि सस्तोमा ज्याला मजदुरी काम गर्थ्यौं‚ त्यही बहाना बनाएर यहाँका गाउँलेहरू शिविरका मान्छेलाई कुट्न आउँथे।’ 

नेपालमा आफ्नै दाजुभाइको विभेद र हिंसाले यमबहादुरहरूको मन कहिले काहीँ मन थाक्थ्यो। भुटान फर्किन पाएँ हुन्थ्यो भन्ने लाग्थ्यो। तर‚ आजभोलि नेपालको माटो, समाज प्यारो लाग्न थालेको उनले सुनाए। लामो समय संघर्ष र पीडा भोग्दै दशकौं पार गरेका यामबहादुरसँग नेपाली नागरिकता लिएर आनन्दले अन्तिम श्वास यही माटोमा फेर्ने इच्छा छ।

‘हामीले पनि नेपाली नागरिकता पाउँछौ रे भन्ने सुनेको छु,' उनी भन्छन्, 'तर नेपाल सरकारले हाम्रो नागरिकताको विषयमा बोले जस्तो लाग्दैन। नागरिकता पाए अन्तिम श्वास आनन्दले जाने थियो।'

अन्धकारमा बित्यो दशकौं

शिविरमा छेउमा चिल्लो मोटर बाटो छ। बाहिर बिजुलीले झिलिमिली छ। तर‚ शिविरमा अझै बिजुली बत्ती पुगेको छैन।

दशकौंदेखि टुकी र सोलारको भरमा रात काट्दै आइरहेका शिविरवासीलाई नेपाल सरकारले अझै बिजुलीको व्यवस्था गरेको छैन। बिजुली जडानका लागि पैसा तिरिसके पनि आफूहरूले नपाएको उनीहरूको गुनासो छ।

तर‚ शिविरका केही झुपडीमा भने बिजुली बत्ती पुगेको छ। नेपाली नागरिकता भएको बुहारी भित्र्याएपछि ती झुपडीमा बिजुली जडान सहज भएको ७० वर्षीय बहादुर राईले बताए। ‘अहिले नेपाली बुहारी ल्याएका छौं‚' उनले भने‚ 'बुहारीको नागरिकताबाट विद्युत जडान गरेर झिलिमिलि पारेका छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.