एक पटक कोरोना भएकालाई पनि सर्नसक्छ

|

काठमाडौं : समुदायमा फैलिसकेको यूके भेरिएन्ट यसअघिको भाइरसभन्दा तेब्बर गतिमा फैलिनसक्ने चिकित्सकले बताएका छन्। यस अघि हाम्रोमा देखिएको कोरोना भाइरस भन्दा यूके भेरिएन्ट समुदायमा ५०- ६० प्रतिशत छिटो फैलिन सक्ने हुँदा सचेत बन्न चिकित्सकहरुले सुझाएका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा.अनुप वास्तोलाले यूके भेरिएन्ट समुदायमा फैलिसकेकाले संक्रमितको संख्या बढ्दै गएको बताए।

उनले भने,‘अहिले हाम्रो समुदायमा पुगिसकेको यूके भेरिएन्ट यसअघि हाम्रोमा देखिएको कोरोना भाइरस भन्दा ६० प्रतिशत छिटो फैलन्छ जसले गर्दा अहिले हाम्रोमा संक्रमण दर बढ्दै गएको हो।‘ पहिले संक्रमित भएकालाई पनि नयाँ भेरिएन्ट लाग्न सक्ने उनले बताए।

हाल सम्म नेपाल झन्डै तीन लाख कोरोनाबाट संक्रमित भइसकेका छन्। पहिला संक्रमित भएकाहरुलाई फेरि संक्रमण नहुने बताइए पनि नयाँ भेरिएन्टको संक्रमण हुन सक्ने डा. बाँस्तोला बताउँछन्।

‘पहिला संक्रमित भएकाहरुलाई नयाँ भेरिएन्ट नहुने भन्ने हैन। तर, संक्रमण भयो भने गम्भीर नहुँन सक्छ तर सक्रमण हुँदै हुँदैन भन्ने हुदैन।‘ सरकारले कोरोनाको नयाँ भेरिएन्ट समुदायमा पुगि सकेको र यही अवस्थामा संक्रमण बढ्दै गए जेठ-असार सम्ममा दैनिक ११ हजार संक्रमित देखिन सक्ने र संक्रमितको संख्या ६ लाख पुग्न सक्ने यस अघिनै अनुमान गरिसकेको छ।

पछिल्लो २४ घण्टाको विवरण हेर्ने हो भने ३० देखि ३९ वर्षका एक सय ८५ जना रहेका थिए भने २० देखि २९ वर्षका एक सय ७५ जना र १० देखि १९ वर्षका ७२ जना संक्रमित भेटिएका थिए। 

बालबालिका र युवा धेरै सक्रमित 

छिटो फैलिने भेरिएन्ट समुदायमा पुगेसँगै युवा र बालबालिका धेरै संक्रमित भएका छन्। सरुवा रोग विषेशज्ञ डा. शेर बहादुर पुनले बालबालिका र युवा बढी सचेत बन्नुपर्ने बताए।

‘यसअघि संक्रमित हुने र भर्ना भएरै उपचार गर्नुपर्ने धेरै जेष्ठ नागरिक र दीर्घरोगीहरु थिए तर यस पटक ठिक उल्टो छ। उनले भने,‘अहिले धेरै संक्रमित युवा उमेर समूहका छन्। यस्तो अवस्थामा धेरै सतर्कता अपनाउनु पर्छ।’ हाल लकडाउन पनि नभएको, स्कुल पनि सञ्चालन भइरहेको र समूहमा भेला हुने कार्यक्रमहरु भइरहेकाले जोखिम झन् बढेको डा पुनले बताए।

पुनका अनुसार यस पटक लक्षण पनि अलि परक देखिएको छ। बालबालिकामा खाना नरुच्ने वान्ता हुने र युवामा नाकबाट पानी मात्रै आउने अरु लक्षण नदेखिने लक्षण पनि देखिएको उनले बताए।

कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा सबै भन्दा धेरै संक्रमित बालबालिकाहरु छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समिर अधिकारीले हालसम्म १८ वर्ष भन्दा मुनिका २२ हजार एक सय ६ जना संक्रमित भएको बताए। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.