|

काठमाडौं : नइ प्रकाशनले राष्ट्रिय जनजीवनका नौ जना विशिष्ट महानुभावलाई २०७७ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ।

नइ प्रकाशनले सनातन हिन्दू दर्शन र धर्मसंस्कृतिको संरक्षण, संवर्धन र जागरणका लागि मन, वचन र कर्मबाट समर्पित प्रा।डा।दीर्घराज घिमिरेलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गर्ने निणर्य गरेको छ।

नेपालको सार्वभौमिक अखण्डता, राष्ट्रिय स्वाधिनता र स्वाभभिमानको अक्षुण्णता, संरक्षण र संवर्धनका लागि अटल प्रतिबद्ध श्री कमल थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरिने भएको छ।

मैथिली तथा नेपाली भाषासाहित्यको श्रीवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याई नेपाली राष्ट्रिय एकताको सुदृढीकरणका निम्ति उल्लेखनीय भूमिका खेलेवापत प्रा।डा।राजेन्द्र विमललाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिने भएको छ।

नइ प्रकाशनले नेपाल टेलिभिजनको स्थापनाका साथै नेपाली चलचित्र, नाटक तथा श्रव्यदृश्यमूलक आम सञ्चारका क्षेत्रमा अग्रणी र ऐतिहासिक योगदानका निम्ति श्री नीर शाहलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गर्ने भएको छ।

चिकित्सा क्षेत्रमा दीर्घ सेवाका निम्ति सुविख्यात बालविशेषज्ञ डा।मणिन्द्ररञ्जन बराललाई ‘नइ भावि पुरस्कार’ समर्पण गरिने भएको छ।

नेपाली कलाका फाँटमा अविछिन्न योगदानका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत नेपाली चित्रकलाको महिमा र गरिमा बढाएबापत सुश्री शशीकला तिवारीलाई ‘नइ यउजा पुरस्कार’ समर्पण गरिने भएको छ।

त्यसैगरी नेपाली साहित्यको श्रीवृद्धिमा सिर्जनात्मक र संस्थागत रुपमा क्रियाशील रही विश्व कविता यात्रामार्फत नेपाली भाषासाहित्यको गौरव बढाए बापत श्री वसन्तकुमार चौधरीलाई  ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ।

नइ प्रकाशनले नेपाली गीतसङ्गीतको संरक्षण सम्बर्धन र सम्प्रसारमा प्रभावकारी कृत्य गरी देशदेशान्तरमा नेपाली भाषाको ख्याति बढाए बापत म्युजिक नेपालका अध्यक्ष श्री सन्तोष शर्मालाई  ‘नइ भाजप पुरस्कार’ समर्पण गर्ने भएको छ।

काठमाडौँ उपत्यकाबाहिर रहेर पनि नेपाली भाषासाहित्यको सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्‍याएबापत रुपन्देहीका श्री जङ्गबहादुर शाहलाई ‘नइ धनरूप पुरस्कार’ समर्पण गरिने भएको छ। यी सबै पुरस्कारका राशि जनही एक लाख रुपैयाँ रहेका छन्।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा आज बसेको नइ प्रकाशनको बैठकले सो निणर्य गरेको हो। नइ प्रकाशनको रजत महोत्सव तथा शताब्दी पुरुष डा।सत्यमोहन जोशीको १०२ औँ शुभजन्मोत्सवका अवसरमा शताब्दी पुरुषबाट आगामी वैशाख ३० गते काठमाडौंमा नइ पुरस्कारहरू समर्पण गरिने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.