|

काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्यान्ड्सले पहिलो जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा आइतबार मलेसियालाई १५ रनले पराजित गर्दै नेदरल्यान्ड्सले पहिलो जित हात पारेको हो।

नेदरल्याण्ड्सले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनाउन सक्यो।

उसका लागि वीरन्दीप सिंहले आक्रामक पारी खेले। उनले ५३ बलमा ६ छक्का र ६ चौकासहित ८७ रन बनाए पनि टिमलाई हारबाट जोगाउन सकेनन्। यस्तै, शेरविन मुननिआन्डेले २८ र अमीनउद्दीन रिम्लीले २६ रनको योगदान दिए। बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन्। बलिङमा आर्यन दत्त, बासडी लिडे र सेबस्टियान ब्रेटले सर्वाधिक दुई–दुई विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको थियो।

उसका लागि ओपनर म्याक्स ओडाउडले आक्रामक ब्याटिङ गर्दै शतकीय पारी खेले। उनले ७३ बलमा १५ चौका र ६ छक्कासहित अविजित १ सय ३३ रन बनाए। ओडाउडले ५९ बलमा शतक पूरा गरेका थिए। यससँगै उनी नेदरल्यान्ड्सका लागि टी–२० अन्तर्राष्ट्रिय शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन्।

नेदरल्याण्ड्सका लागि यसअघि एकै खेलमा सर्वाधिक रन वर्तमान कप्तान पिटर सिलारले बनाएका थिए । उनले २०१९ मा स्कटल्याण्डविरुद्ध अविजित ९६ रन बनाएका थिए । ओडाउडले भने यसअघि आयरल्याण्ड विरुद्ध बनाएको ६९ रन व्यक्तिगत रुपमा उच्च थियो । यस्तै, स्कट एडवार्ड्सले ३१ रन बनाउँदा बेन कुपरले २० रनमा नटआउट रहे।

बलिङमा पवनदीप सिंह र अनवर रहमानले एक–एक विकेट लिए।  यो जितसँगै नेदरल्यान्ड्सले २ खेलमा २ अंक जोडेको छ। पहिलो खेलमा नेदरल्यान्ड्स घरेलु टोली नेपालसँग ९ विकेटले पराजित भएको थियो। हारबाट सिरिजको सुरुवात गरेको मलेसियाले सोमबार नेपालको सामना गर्नेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.