|

काठमाडौं : नेकपा एमाले अनुशासन आयोगको अध्यक्ष अमृतकुमार बोहोराले पार्टी एकतालाई जोगाउनका लागि कसैले पनि मेरो गोरुको बाह्रै टक्काजस्तो ढिपी नगर्न आग्रह गरेका छन्। उनले आइतबार एक विज्ञप्ति जारी गर्दै पार्टी एकतालाई जोगाउन पार्टीको तर्फबाट भएको एकतर्फी निर्णय फिर्ता लिन आग्रहसमेत गरेका छन्। 

विज्ञप्तिमा भनिएको छ, 'मेरो आग्रह छ मेरो गोरुको बाह्रै टक्का भन्ने नेपाली उखान जस्तो ढिपी कसैले नगरौँ। पार्टीलाई पुनः एकताबद्ध बनाउन एउटा पक्ष मात्र सामेल भएर गरेको २०७७ फाल्गुण २८ गतेको एकतर्फी निर्णयलाई विना विलम्ब फिर्ता गरौं।'

पार्टीलाई विधि विपरित कमिटीमा थप गर्ने र हटाउने गरी भएका सबै निर्णय सच्याउन आग्रहसमेत गरेका छन्। पार्टीलाई सहमतिको बाटोमा अघि बढाउन नवौं राष्ट्रिय महाधिवेशनको नीति, कार्यदिशा, विधान एवम् नियमावली अनुसार बढ्नुपर्ने समेत बताएका छन्। 

'विधानको व्यवस्थाबमोजिम केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा मातहतका सबै कमिटीका बैठकहरू तत्काल बोलाऔँ । पार्टीलाई विग्रह र विभाजनको बाटोमा जानबाट बचाऔँ, पार्टी एकताको संरक्षण गरौँ। मुलुकलाई फेरि स्थायित्व प्रदान गर्ने प्रयास गरौँ । उल्लेखित विषयमा म पार्टीका सबै पक्षका जिम्मेवार कमरेडहरु र विशेषगरी पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीको गम्भीर ध्यानाकर्षण गराउँछु' विज्ञप्तिमा भनिएको छ। 

पार्टीको विधान विपरित भोलिका लागि डाकिएको केन्द्रीय आयोजक कमिटीको बैठक रोक्नसमेत आग्रह गरेका छन्। पार्टी पूर्ववत् अवस्थामा फर्केको हुनाले २०७५ जेठ २ गतेबाट अघि बढ्नुपर्ने समेत बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.