अरू पालिका 'पर्ख र हेर'को अवस्थामा

|

पर्सा : कोरोनाको कारण मृत्यु हुने र दैनिकजसो नयाँ संक्रमित थपिने क्रम अप्रत्यासित बढ्न थालेपछि वीरगन्ज महानगरपालिकाभित्रका ५ कक्षा मुनिका सबै विद्यालय बन्द भएका छन्।

सोमबारबाट अर्को सूचना जारी नभएसम्म यहाँका सानो कक्षाका सबै सबै विद्यालयहरु बन्द भएका हुन्। 

शैक्षिक सत्रको अन्त्यमा विद्यालयको सानो कक्षा बन्दै गर्नुपर्ने अवस्था आएकोले यो शैक्षिक सत्र नै चालु हुने अवस्था आयो। त्यसैले कक्षा ५ सम्मका लागि सबै विद्यालयले आन्तरिक मूल्यांकन गरी विद्यार्थीलाई अपग्रेड पनि गराउने भनी निर्णय भएको वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले बताए। ​

साना बालबालिका बचाउन विद्यालय बन्द 

सानो कक्षाका बालबालिकाको इम्यूनिटी पावर कम हुने र सुरक्षा सतर्कतामा उनीहरु बढी सचेत हुन नसक्ने हुँदा पहिलो चरणमा वीरगन्ज महानगरले ५ कक्षा सम्मका सबै विद्यालय बन्द गर्ने आइतबार निर्णय गरिएको नगरप्रमुख सरावगीले तर्क गरे।

'यही वैशाख १२ गतेदेखि २० गतेभित्र सबै कक्षाको परीक्षा लिई अनि सबै कक्षाका विद्यालय एकै पटक बन्द गर्ने महानगरको सोच थियो। तर हरेक दिन नयाँ संक्रमित थपिने र मानिसको मृत्यु पनि हुन थालेपछि कक्षा ५ सम्मका बालबालिकालाई विद्यालय आइराख्नु नपर्ने गरी विद्यालय बन्द गरेका हाैं,' उनले भने।

ठूलो कक्षाका विद्यार्थीले पनि परीक्षा दिनमात्र पर्ने 

कक्षा ६ देखि ९ सम्मका विद्यार्थीले पनि परीक्षाका लागि मात्र विद्यालय जान पर्ने गरी तालिका बनाइएको छ। त्यसको लागि सम्बन्धित विद्यालयहरुले बिहान र बेलुका दुई सिफ्टमा परीक्षा लिई यो शैक्षिक सत्र समापन गर्न पर्ने भएको छ।

ती कक्षाका विद्यार्थीले भने भौतिक रुपमा नै परीक्षा दिन जान पर्ने र दूरी कायम गरी एउटा बेन्चमा एकजना विद्यार्थी मात्र बसेर मास्क, सेनिटाइजर प्रयोग गरी परीक्षा दिने व्यवस्था मिलाउन विद्यालयलाई भनिएको वीरगन्ज महानगरले जनाएको छ।   

महानगरको आइतबारको निर्णयअनुसार कक्षा ५ भन्दा मुनिका विद्यार्थीले अब परीक्षा पनि दिइराख्नु नपर्ने भएको छ। आन्तरिक मूल्यांकनबाट अपग्रेड गराउने निर्णयले कोरोनाको जोखिम न्यूनीकरणपछि मात्र विद्यालय खुल्ने हुँदा परीक्षा कुर्ने भन्दा पनि सुरक्षालाई बढी प्राथमिकता दिइएको महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउतले पनि बताए। 

पढाइभन्दा विद्यार्थीको जीवन ठूलो 

बालबालिकाको जीवनभन्दा ठूलो परीक्षा र पढाइ नभएकोले ठूला कक्षाका विद्यार्थीहरुलाई पनि सतर्कता अपनाएर मात्र परीक्षामा सामेल गर्न सबै विद्यालयहरुलाई भनिने अधिकृत राउतले तर्क गरे।

जिल्लाका १४ पालिकामा महानगरको सिको गरेर अन्यले पनि आफ्नो रणनीति बनाउने पर्सामा अन्य पालिकाहरुले अब के गर्छन् ? भन्नेचाहिँ प्रश्न उब्जिएको छ। सुरक्षा थ्रेट कम भएका पालिकाहरुमा भने महानगरपालिकाले बन्दै गरे पनि खुल्ने सम्भावना त छ। तथापि यसै भन्न सक्ने अवस्था भने छैन। 

उता जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले भने जिल्ला र आसपासको क्षेत्रमा थप सुरक्षा सतर्कता अपनाउन नयाँ रणनीति बनाउने र कार्यान्वयन गर्दै  बढिरहेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.