सल्यान : विद्यार्थीलाई कोरोना भाइरस संक्रमण देखिएपछि शारदा नगरपालिका-८ मार्केस्थित त्रिभुवन जनता माध्यमिक विद्यालय एक साताका लागि बन्द गरिएको छ।
विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार सूचना प्रकाशन गरेर विद्यालय सात दिनका लागि बन्द गरिएको प्रधानाध्यापक दलबहादुर विकले जानकारी दिए। धेरै विद्यार्थी तथा शिक्षक रुघाखोकीबाट ग्रसित भएपछि पिसिआर परीक्षण गराउँदा कक्षा १० की एक छात्रालाई कोरोना संक्रमण देखिएको प्रधानाध्यापक विकले बताए। संक्रमित छात्रालाई स्वास्थ्य कार्यालय सल्यानले जिल्ला अस्पतालमा सञ्चालन गरेको आइसोलेसनमा राखिएको छ।
कक्षा १ देखि १२ सम्म सञ्चालित उक्त विद्यालयमा ६५० विद्यार्थी छन्। विद्यार्थीको स्वास्थ्य सुरक्षाका लागि विद्यालय बन्द गराउनु परेको नगरपालिकाका शिक्षा संयोजक लिलाधर बबालले बताए। जिल्लाका विभिन्न स्थानमा कोरोना देखिन थालेपछि अनिवार्य रूपमा मास्क लगाएर विद्यालय जान तथा अन्य सुरक्षा सावधानी अपनाउन उनले आग्रह गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।