|

उदयपुर : सडक स्तरोन्नतिको माग गर्दै उदयपुरका स्थानीयले सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी-घुर्मी सडकखण्ड सोमबारदेखि अनिश्चितकालका लागि बन्द गरेका छन्।

कटारी-घुर्मी सडकखण्ड  स्तरोन्नति  संघर्ष समितिले सडक बन्द गरेको हो। समितिका संयोजक तथा कटारी नगरपालिका-११ का वडाध्यक्ष दीपक बुढाथोकीले कटारी-घुर्मी सडकखण्डको घुर्मी, वेतेनी र पट्नाभञ्ज्याङमा स्थानीयले बन्द गरेको बताए।

बन्दका कारण ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुबाट आएका सवारीसाधनहरू कटारीको उत्तरपश्चिमी बजार घुर्मी, ताप्ली, लिम्चुङ्बुङ गाउँपालिकाबाट आएका सवारीहरू कटारी-११ को बेतेनी र कटारीबजारबाट गएका सवारीसाधनहरुलाई कटारी-८ को पट्नाभञ्ज्याङमा रोकिएका छन्। सवारीसाधन रोकिएपछि यात्रुहरू अलपत्र परेका छन्।

संघर्ष समितिले यसअघि सडकखण्ड स्तरोन्नति तत्काल गर्न सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्रको सुनुवाइ नभएपछि सडक बन्द गरिएको समितिले बताएको छ। बन्दमा एम्बुलेन्स भने चल्न दिन बताइएको छ।

सिद्धिचरण राजमार्गको कटारी नगरपालिका क्षेत्रमा पर्ने कटारीदेखि घुर्मीसम्म ४६ किलोमिटर सडक जीर्ण बनेको छ। सडक कटारी नगरपालिकाको वडा नम्वर ८, ९, १०, ११, १३ र १४ मा पर्दछ। यस सडकखण्डमा वषौँअघि गरिएको ओटासिल भत्किएको अढाई दशक बितिसक्दा पनि स्तरोन्नति नहुँदा स्थानीय र यात्रुहरुले चरम सास्ती भोग्नु परेको छ। यात्रु र स्थानीयहरू वर्षा याममा हिलो र हिउँदमा धुलो आजित हुँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.