शैक्षिक, वित्तीयदेखि सार्वजनिक स्वास्थ्य संयन्त्र नै धर्मराउँदै

|

भारतमा केही समययता दिनहुँ २ लाखभन्दा धेरै कोरोना संक्रमित थपिइरहेका छन्। राजधानी दिल्लीको अवस्था निकै जटिल, खतरनाक र गम्भीर बन्दै गएको छ। 

भारतीय सञ्चारमाध्यमहरू उल्लेख भएअनुसार दिल्लीमा परीक्षण गरिएका हरेक ३ मध्ये एक जनालाई कोरोना संक्रमण भएको पाइएको छ। संक्रमण हुनेको दर ३० प्रतिशतसम्म पुगेको हो।

महामारीबाट थप भयावह अवस्था निम्तिन नदिन मुख्यमन्त्री अरविन्द केजरीवालले केन्द्र सरकारसँग सहयोग मागेका छन्। उनले दिल्लीको अवस्था निकै खराब भएको पनि जानकारी गराएका छन्। 

आइतबार दिल्लीमा मात्रै कोरोना संक्रमित २५ हजार थपिएका थिए। त्यहाँ १६१ जना संक्रमितले ज्यान गुमाएका थिए। 

गत १५ दिनदेखि लकडाउन लगाइएको दिल्लीमा रातभर कफ्र्यू घोषणा गरिएको छ। यस्तो कडाइ गर्दा पनि कोरोना संक्रमण मामिला भने लगातार बढिरहेको छ। 

कोरोना विरुद्धको खोप लगाएका मानिसहरू केही सुरक्षित रहेको, तर नलगाएकाहरू कोरोनाका विभिन्न भेरियन्टबाट निकै जोखिममा रहेको त्यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन्। झण्डै १ अर्ब ४० करोड जनसंख्या रहेको भारतमा अहिलेसम्म जम्मा १ करोड ६१ लाखलाई मात्र कोरोना विरुद्धको भ्याक्सिन लगाइएको छ।

कोरोना संक्रमण व्यापक फैलिएकै कारण स्कुलदेखि कलेजतहसम्मका परीक्षा स्थगित गरिएको छ। केन्द्रीय शिक्षामन्त्री रमेश पोखरियालले परीक्षा स्थगित भएको जानकारी दिएका हुन्। 

कोरोनाको दोस्रो लहरले आम जनजीवन नै प्रभावित तुल्याएको छ। अहिले बैंक तथा वित्तीय संस्थाहरू पनि यसको असरबाट प्रभावित हुन थालेका छन्। अप्रिल महिनामा चेक बाउन्सको मामिला बढेको बैंकरहरूले बताएका छन्। मानिसले रोजगारी गुमाउनु र महामारीका बेला आर्थिक घोटाला गर्नेहरू सक्रिय भएकाले यस्तो समस्या निम्तिएको बताइएको छ।

संक्रमणदर नियन्त्रणमा नल्याए अब भारतको स्वास्थ्य प्रणाली नै तहसनहस हुनसक्ने त्यहाँका अखबारहरूमा लेखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.