|

झापा : वैशाख ६, झापाली दुई सपूतले सहादत प्राप्त गरेको दिन। सोही दिनको स्मरणमा सहिद सुरज विश्वास र राजन गिरीको १५ औं स्मृति दिवस झापामा विविध कार्यक्रम गरी मनाइएको छ। २०६२–६३ को दोस्रो जनआन्दोलनका क्रममा आजकै दिन झापाको सदरमुकाम चन्द्रगढीमा नेपाली सेनाको गोली लागेर सहादत प्राप्त गरेका सहिद सुरज विश्वास र राजन गिरीले देशका लागि बलिदान दिएका थिए।

सोही अवसरमा सहिद सुरज विश्वास पार्क निर्माण समितिले सोमबार बिहान भद्रपुरमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ। भद्रपुर-६ स्थित सहिद सुरजको अर्ध कदको सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो।

सहिद सुरज विश्वास पार्क निर्माण समितिका अध्यक्ष गोपाल मण्डलको अध्यक्षता तथा प्रदेश सांसद वसन्त बानियाँको प्रमुख आतिथ्यमा भएको श्रद्धाञ्जली सभामा सहभागीहरूले मुलुकमा सङ्घीय लोकतन्त्र र गणतन्त्र स्थापना गर्नका लागि सहिदले दिएको बलिदानको मूल्यलाई कसैले पनि भुल्न नहुने बताएका छन्।

सभामा सहिद माता मीना विश्वास, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बरुवाल, ४ नम्बर वडा अध्यक्ष हंस राजवंशी, नेकपा एमालेका नगर इन्चार्ज असारु राजवंशी, एमालेका नगर अध्यक्ष ब्रह्मलाल ढुङ्गाना, घनश्याम अधिकारीलगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सचिव दीपक अग्रवालले गरेका थिए।

स्मृति दिवसका अवसरमा रक्तदान

त्यस्तै, चन्द्रगढी विमानस्थलमा सङ्गठित यातायात व्यवसायीको चन्दगढ यातायात प्रालिले सहिद सुरज विश्वासको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

व्यवसायीले भद्रपुर-८ स्थित आफ्नै भवनमा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा ३१ जनाले चन्दगढ यातायातका अध्यक्ष विजय वैध अध्यक्षता तथा प्रदेश सांसद वसन्त बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको एमालेका नगर इन्चार्ज असारु राजवंशीले जानकारी दिए।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको प्राविधिक सहयोगमा भएको रक्तदानमा नगर इञ्चार्ज राजवंशीले ६५ औं पटक रगत दिएका थिए। सहिद सुरज चालक भएको र उनी चन्द्रगढी विमानस्थलमा टयाक्सी चलाउथे।  उता, सहिद राजन गिरीको अर्ध कदको सालिकमा पनि माल्यार्पण गर्दै स्मृति दिवस मनाइएको थियो।

२०६३ साल वैशाख ६ गते झापाको सदरमुकाम घेराउ गर्न हजारौँ झापाली जनता हिँडेर पुगेका थिए। शाही सत्ता तथा राजतन्त्रबाट आक्रान्त त्यो जनलहरमा थिए राजन गिरी र सुरज विश्वास। उनीहरूसँगै जनताले निषेधित क्षेत्रको घेराबन्दीलाई तोडेर शान्तिपूर्ण रूपमा आन्दोलनलाई अगाडि बढाइरहेका थिए।

निषेधित क्षेत्र घोषणा गरेर जनतालाई तर्साउन खोजेका तत्कालीन शासकहरू जनलहर हेरेर आत्तिए। सोही क्रममा तत्कालीन शाही नेपाली सेनाले निर्दोष जनतामाथि बर्बर दमन गर्न सुरु गर्‍यो। त्यसै बेला झापाली दुई युवालाई गोली लाग्यो र उनीहरूले सहादत प्राप्त गरे। सहिदद्धयले सहादत प्राप्त गरेको आज १५ वर्ष पूरा भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.