|

काठमाडाैं : इंग्लिस क्लब टोटेनहम हट्स्परले मुख्य प्रशिक्षक जोसे मोउरिन्होलाई बर्खास्त गरेको छ।

क्लब सम्हालेको १७ महिनामै मोउरिन्हो बर्खास्तमा परे। पछिल्लो पटक एभर्टनसँग २–२ गोलको बराबरी रोकिएपछि क्लब प्रशिक्षक बर्खास्तीको निर्णयमा पुगेको हो।

इंग्लिस प्रिमियर लिगमा टोटनहमको शीर्ष चारमा पर्न पनि संघर्षरत छ। हाल क्लब लिगमा ३२ खेलपछि साताैं स्थानमा छ। जसका कारण मोउरिन्होमाथि संकट मडारिएको थियो।

अन्ततः क्लबले प्रिमियर लिगमा ६ चरण बाँकी रहँदा नै मोउरन्होलाई बिदाइ गरेको हो। टोटेनहम शीर्ष चारको वेस्टह्याम युनाइटेडभन्दा ५ अंकले पछि छ। वेस्ट ह्यामको ५५ अंक रहँदा टोटेनहमको ५० अंक रहेको छ।

५८ वर्षीय मोउरिन्हो २० नोभेम्बर २०१९ मा टोटेनहमको मुख्य प्रशिक्षक बनेका थिए। उनी क्लब छैटौं अवस्थामा रहँदा क्लबको मुख्य प्रशिक्षक बने पनि जारी सिजन क्लब सातौं अवस्थामा रहँदाको अवस्थामा बर्खास्तमा परेका हुन्। उनले क्लबलाई कुनै उपाधि दिलाउन सकेनन्। उनको प्रशिक्षणमा टोटेनहमले ८६ खेल खेल्दा ४४ जित, १९ बराबर र २३ हारको सामना गरेको छ। 

त्यसअघि उनी २०१६ देखि २०१८ सम्मा अर्को इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको प्रशिक्षक रहेका थिए। उनीसँगै प्रशिक्षण टोलीका अन्य सदस्य जोओ साक्रामेन्टो, तुनो सान्तोष, कार्लोस लालित र गाभानी केराइलाई पनि जिम्मेवारीबाट अलग गरिएको छ।

क्लबका अध्यक्ष डानिल लेभीले माउरिन्हो र उनको टोली क्लबको चुनौतीपूर्ण समयमा साथमा रहेको भन्दै टिमलाई यतिन्जेल सम्म साथ दिएकोमा धन्यवाद दिए।

माउरिन्होले विश्वकै ठूला ठूला क्लबको मुख्य प्रशिक्षक भएर काम गरिसकेका छन्। चेल्सी, इन्टर मिलान, रियल मड्रिड, पुनः चेल्सी र म्यानचेस्टर युनाइटेड हुँदै टोटनहममा आएका थिए उनी।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.