|

काठमाडौं : कोरोना महामारीबीच पनि नेपाली कामदारले रोजगारका लागि स्वदेश छोड्ने क्रम रोकिएको छैन। ८ महिनामा करिब ४९ हजार नेपाली कामदार खाडीलगायत विभिन्न मुलुक गए। 

नेपाली विदेश गए पनि नेपालमा भने विदेशी नागरिक कामकै लागि आउने क्रम रोकिएको छैन। कोरोना जोखिममा पनि नेपालमा काम गर्नकै लागि श्रम स्वीकृति लिने विदेशी नागरिकको संख्या दिनहुँ बढिरहेको छ।

९ महिना यता १ हजार ६ सय ५७ गैरनेपाली कामदारले श्रम स्वीकृति लिएका पाइएको छ। साउन १ गतेदेखि वैशाख ६ गतेसम्म ५८ देशका करिब १७ सय विदेशी कामदारले श्रम स्वीकृति गराएका श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ।

विभागका अनुसार ६ सय ७८ विदेशीले नयाँ स्वीकृति लिएका छन्। ६ सय १५ पुरुष र ६३ महिला छन्। सबैभन्दा बढी चीनका नागरिकले स्वीकृति लिएका छन्। ४ सय ८६ पुरुष र २५ महिला गरी ५ सय ११ जनाले लिएका छन्। २७ जापानी, २४ श्रीलंकाका, २१ जना भारतीय र २१ बेलायतीलगायत अन्य मुलुकका नागरिकले श्रम स्वीकृति लिएका छन्।

लामो समयदेखि नेपालमै रहेर श्रम स्वीकृति लिने विदेशी कामदार बढिरहेका विभागका प्रवक्ता दीपक केसी बताउँछन्। भन्छन्,' विदेशी नागरिकले तीन क्षेत्रमा काम गरिरहेका छन्। उत्पादन, निर्माण र सेवा उपलब्ध।' ६ महिनाभन्दा बढी स्वीकृति लिने विदेशीलाई १५ हजार र १ वर्षसम्मका लागि २० हजार रुपैयाँ श्रम शुल्क लिने गरिएको उनले जानकारी दिए।

उनका अनुसार पुनः श्रम स्वीकृति नवीकरण गर्नेमा चिनियाँ नागरिक बढी छन्। जसमा ८ सय २८ पुरुष र १ सय ५१ महिलाले मात्र नवीकरण गरेका छन्। नेपालमा मात्र ११ सय ८७ चिनियाँ कामदार रहेका उनले जानकारी दिए। हाइड्रोपावर,  सिमेन्ट फ्याक्ट्री र सडक निर्माणलगायत काममा चिनियाँ नागरिकले श्रम स्वीकृति लिने गरेका केसीले बताए। 

भारतीय अदक्ष जनशक्तिले लिँदैनन् श्रम स्वीकृति

नेपालमा बसी काम गरिरहेका भारतका दक्ष जनशक्तिले मात्र श्रम स्वीकृति लिने गरेका केसी बताउँछन्। उनका अनुसार बढीजसो बैंक र चिकित्सा क्षेत्रमा काम गर्नेले मात्र यस्तो स्वीकृति लिन्छन्। अदक्ष जनशक्तिले भने श्रम स्वीकृति नलिएका उनले खुलाए। त्यस्ता भारतीय नागरिक निर्माण क्षेत्रमा बढी रहेका विभागसँग उनीहरूको तथ्यांक छैन।

यस अवधिमा जापानका ४९ नागरिकले श्रम स्वीकृति लिए भने नयाँ स्वीकृति २७ र नवीकरण २२ कामदारले लिए। जापानीहरूले जाइकाको आयोजनामा काम गर्न श्रम स्वीकृति लिएका हुन्। 

यसैगरी बेलायती ७७, भारतीय ५५, अमेरिकाका ३९ र दक्षिण कोरिया ३१ लगायतका बढी नागरिकले श्रम स्वीकृत लिएका पाइएको छ। अन्य मुलुकका थोरै संख्यामा नागरिकले थोरै श्रम स्वीकृति लिएका छन्।  

युरोपेली र अमेरिकी नागरिकहरू बढी शिक्षक पेसाका नेपालमा आबद्ध रहेकाले उनीहरूले स्वीकृति लिने गरेका पाइएको छ। पश्चिमा मुलुकका नागरिकले दातृ निकायका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा काम गर्न श्रम स्वीकृति लिने गरेका छन्।  क्यामरोन, स्पेन, इजिप्ट, नाइजेरिया, फ्रान्स र अष्ट्रेलियाका थोरै मात्रामा कामदार नेपालमा छन्। 

विदेशी नागरिकले श्रम स्वीकृति लिने के छ प्रक्रिया?

सम्बन्धित मन्त्रालयको पत्र, गृह मन्त्रालयको कार्य सहमती, बायोडाटा, पासपोर्ट र भिसाको प्रतिलिपि, कम्पनीको करचुक्ता कागजपत्र, कम्पनी दर्ता प्रमाणपत्र, प्यान कार्ड, कम्पनीले खोजेको पत्रिकामा प्रकाशित विज्ञापन र सामाजिक सुरक्षा कोषमा दर्ता प्रमाणपत्र भएमा नेपालमा रहेका विदेशी कामदारले श्रम स्वीकृति सजिलै पाउने विभागले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.