|

धनगढी : सुदूरपश्चिममा गठित लोकसेवा आयोगमै कर्मचारी अभाव देखिएको छ। प्रदेशमा कर्मचारी पदपूर्तिका लागि गठन गरिएको आयोगमै कर्मचारी अभाव देखिएको हो। 

प्रदेशमा कर्मचारीको अभाव हुने गरेको भन्दै प्रदेश सरकारले करिब २० महिना पहिले प्रदेश लोक सेवा सम्बन्धी ऐन निर्माण गर्यो। उक्त ऐनलाई टेकेर गत चैत ९ गते प्रदेश लोक सेवा आयोग गठन गरियो। 

चैत १८ गते आयोगका पदाधिकारीले पदभार ग्रहण गरे। आयोग गठन भएको एक महिना कट्यो, तर यस अवधिमा कार्यालय स्थापना मात्रै भएको छ। योबाहेक अन्य काम सुरु हुन सकेको छैन।  

हाल आयोगमा ९ जना मात्रै कर्मचारी कार्यरत छन्। ९ जनाले नै कार्यालय सञ्चालन गर्दै आएका सुदूरपश्चिम लोक सेवा आयोगका सचिव दुर्गा विष्टले बताए। आयोगका लागि ४५ जना कर्मचारी आवश्यक भए पनि ९ जनाले धानिरहेको उनले बताए। थप कर्मचारीका लागि मुख्यमन्त्री कार्यालयमा माग गरिएको पनि उनले बताए। 

कर्मचारी भर्नाका लागि सूचना सार्वजनिक तयारी 

आयोगले आउँदो आर्थिक वर्षसँगै प्रदेशमा कर्मचारी भर्नाका लागि सूचना सार्वजनिक गर्ने विष्टले जानकारी दिए। तथापि आयोगमै कर्मचारी अभाव रहेका बेला आयोगले तत्काल कर्मचारी भर्ना गर्नेमा भने अन्योल देखिएको छ। 

आयोगका सुदूरपश्चिम अध्यक्ष यज्ञराज बोहरा भन्छन्, ‘हामी अध्ययनमा छौं। नयाँ आर्थिक वर्षबाट कर्मचारी पदपूर्तिका लागि सूचना प्रकाशन गरिने छ।’ 

३९ प्रतिशत कर्मचारी दरबन्दी रिक्त

सुदूरपश्चिम प्रदेशका मन्त्रालय, मातहत कार्यालय, स्थानीय तह तथा संस्थानमा करिब ३९ प्रतिशत कर्मचारी दरबन्दी रिक्त छ। प्रदेशका मन्त्रालयहरू, स्थानीय तह तथा संस्थानमा पनि कर्मचारी अभाव देखिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.