|

पर्सा : जिल्ला प्रशासन कार्यालय पर्साले कार्यालयबाट प्रवाह गर्ने सेवा स्थानीय तहअनुसार दिन तोकेर गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साको सोमबार बसेको आन्तरिक बैठकले यस्तो निर्णय गरेको हो ।

भारतसँग सीमा जोडिएको खुला पर्सामा परीक्षण गराएकामध्ये ६३ प्रतिशत कोरोना संक्रमण देखिएपछि सम्भावित संक्रमणलाई रोक्न सतर्कता अपनाएको कार्यालय पर्साले जनाएको छ। जिल्लाको सबै स्थानीय तहका सेवाग्राही आउँदान भीडभाड बढी हुन थालेपछि दिन बिराएर सेवा दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए।

नागरिकता, राहदानी, संघ संस्था दर्ता तथा नवीकरणलगायत जिल्ला प्रशासनबाट प्रवाह हुने सेवा लिन आउने सेवाग्राहीको बाक्लो उपस्थिति कम गर्न नै यस्तो निर्णय गर्नु परेको उनको भनाइ छ।

सेवाग्राही र कर्मचारीको सुरक्षाका लागि नयाँ निर्णय

१४ स्थानीय तह रहेको पर्सामा स्थानीय तहअनुसार दिइने सेवा मंगलबारदेखि लागु हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बढ्दो कोरोना संक्रमणको जोखिमबाट बच्न तथा सेवाग्राही र कर्मचारीको पनि सुरक्षालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको बताइएको छ। कोरोनाको पहिलो लहरमा पनि जिल्ला प्रशासन कार्यालय पर्साले यो अभ्यास गरिसकेको थियो ।

पालो कहिले?

शान्ति सुरक्षा, मुद्दा तथा अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरू पालो अनुसार गरिने छ। आईतबार र सोमबार कालिकामाई, जगरनाथपुर, ठोरी, पकाहामैनपुर, सखुवाप्रसौनी, छिपहरमाई, जिराभवानी, धोबीनी, पटेर्वासुगौली गाउँपालिकाका सेवाग्राहीले सेवा पाउने छन्।

त्यसै गरी मंगलबार र बुधबार पर्सागढी, बहुदरमाई, पोखरिया नगरपालिकाहरु र बिन्दबासिनी गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने छ। बिहीबार र शुक्रबार वीरगञ्ज महानगरपालिकाका सेवाग्राहीका लागि समय तालिका बनाइएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए।

एकै पटक २५ जनाभन्दा बढी सेवाग्राही भेला नहुन्, मास्क र सामाजिक दूरी कायम होस् भनी जिल्ला प्रशासन कार्यालयबाट नै सेवाग्राहीको हितलाई समेत ध्यानमा राखी पालोको आधारमा कार्यसम्पादन सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.