|

विराटनगर : उदयपुरस्थित सब डिभिजन वन कार्यालयका कर्मचारी ४६ वर्षीय लेखनाथ बास्तोलाको मृत्यु प्रकरणमा प्रहरीको अनुसन्धान फितलो भएको मृतकका परिवारको आरोप लगाएका छन्। मृतकका परिवारले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी उक्त घटनाको खोज अनुसन्धान फितलो गरेको आरोप लगाएका हुन्।

जंगलमा गस्ती गएका बेला गत मंसिर १७ मा भरुवा बन्दुक पड्किएर वन रक्षक बास्तोलाको मृत्यु भएको बताइएको छ। उनी सुनसरीको दुहवीका बासिन्दा हुन्।

घटना भएको दिन अर्थात् मंसिर १७ साँझ ८ बजे श्रीमानसँग टेलिफोन सम्पर्क गर्दा श्रीमान हडबडाए र खुलेर कुराकानी गर्न नसकेको मृतककी श्रीमती देवकुमारीले बताइन्। उनका अनुसार  टेलिफोन सम्पर्क भएको दुई घण्टापछि श्रीमानको मृत्यु भएको खबर आएको थियो।

‘मैले श्रीमानलाई फोन गरें, उहाँ हल्लामा बोल्न नसक्ने अवस्थामा हुनुहन्थ्यो‚’ उनले भनिन्, 'केही समय फोन होल्डमा नै राखेर सुनें, श्रीमानले अफिस पुगेर फोन गर्छु भन्नुभएकाले मैले फोन काटें। निदाउन लागेको थिएँ। करिब राति १० बजेको श्रीमानको साथीले उहाँको मृत्युको खबर सुनाउन फोन गरे। हामीसँग सवारी साधन नभएकाले तत्काल उदयपुर जान सकेनौं।'

जंगलमा गस्ती जाने क्रममा भेटिएको भरूवा बन्दुक ल्याएर गाडीबाट निकाल्ने क्रममा उदयपुरको बेलका नगरपालिका-१ स्थित कार्यालयको प्रवेशद्वार अगाडि पड्किएर बास्तोलाको मृत्यु भएको बताइएको छ। तर‚ परिवारले भने उक्त घटना मृत्यु नभएर हत्या भएको दावी गर्दै आएका छन्।‘हामी घटनास्थलमा पुग्दा गाडीको सिटमा रगत थियो‚’मृतककी श्रीमतीले भनिन्, 'बन्दुक पड्किएर मृत्यु भएको हो भने त भुइँमा रगत हुनुपर्ने तर गाडीको सिटमा मात्रै थियो।’

देवकुमारीले  तस्कर र कर्मचारीको मिलेमतोमा श्रीमानको हत्या गरेको आरोप लगाइन्। 'उहाँले पहिलेदेखि नै जागिर खान गाह्रो छ छोडौँ कि के गरौं भन्नु हुन्थ्यो‚' उनले भनिन्, 'छोराहरुको पढाईले मैले नै नछोड्नु भनेको थिएँ।'

श्रीमानको मृत्युपछि उनको काँधमा १८ र १४ वर्षीय दुई छोरोका जिम्मेवारी आएको छ। घटनाको निश्पक्ष खोज अनुसन्धान हुनुपर्ने, श्रीमतीलाई फुल पेन्सन हुनुपर्ने मृतकको परिवारको माग छ।

यता जिल्ला वन कार्यालय उदयपुरका प्रमुख सत्यनारायण चौधरीले गस्ती जाने क्रममा सिकारीले फालेर भागेको भरुवा बन्दुक लिएर कार्यालय फर्किने क्रममा एक्कासी कार्यालयको गेट अगाडि पड्किएर बास्तोलाको मृत्यु भएको बताएका छन्।

‘मंसिर १७ गते गस्तीको क्रममा राति ८:१५ तिर बेलका नगरपालिका-१ स्थित बगाहा खोलामा उनीहरूले सिकारी देखेछन्,’ चौधरीले भने, ‘सिकारीले बन्दुक फालेर भाग्यो, उनीहरूले सिकारीले फालेको भरुवा बन्दुक गाडीमा हालेर लिएर आउँदै गर्दा कार्यालयको गेट अगाडि मान्छे झर्ने क्रममा एक्कासी बन्दुक पड्किएर लाग्दा बास्तोला सिकिस्त घाइते हुनुभयो। उनलाई उपचारका लागि अस्पताल लग्ने क्रममा बाटोमा नै मृत्यु भयो।'

आफू फिल्डको कर्मचारी भएकाले पीडितको मागबारे मुख्य डिभिजन वन कार्यालयमा पहल गर्दा उचित हुने चौधरीले जानकारी दिए।

घटनाको खोजअनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा मंसिर १९ गते जाहरी दिन खोज्दा प्रहरीले अस्वीकार गरेको मृतकका दाइ उदयकुमार बास्तोलाले बताए। जिल्ला प्रशासन कार्यालयका प्रमुख साथै सरकारी वकिलको कार्यालयको दवावले प्रहरीले उक्त घटनाको मुद्दा दर्ता लिएको उनको भनाइ छ।

के भन्छ प्रहरी?

घटनालाई फिलतो बनाउने विषय नै नरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भिमबहादुर दाहाल बताउँछन्। उनले उक्त घटनामा प्रहरीले सत्यतथ्य अनुसन्धान गरेको बताए।

‘यो घटना इलाका प्रहरी कार्यालय रामपुरबाट अनुसन्धान भएको हो,' एसपी दाहालले भने, ‘उहाँहरुले भने जस्तो तरिकाले प्रहरीले फितलो अनुसन्धान गरेको छैन, सत्य तथ्यको अधारमा सूक्ष्म अनुसन्धान गरिरहेका छौँ।’

लापरवाही भएकाले उक्त घटना भएको हुनसक्ने एसपी दाहालको भनाइ छ। ‘बेलुका गस्ती जाने क्रममा सिकारीले छोडेको भरूवा बन्दुक बरामद गरी गाडीको पछाडी राखेको र निकाल्ने क्रममा  पड्किएको छ,' उनले भने‚ ' यो घटनाको सूक्ष्मरूपमा अध्ययन गरेका छौं।’

बन्दुक पड्किँदाको विश्लेषणसहित ल्याब रिपोर्टको आधारमा यथार्थ रूपमा मुद्दा अगाडी बढेको उनको दाबी छ।

‘घटना भएका बेला रहेका कर्मचारीलाई प्रतिवादी बनाएर मुद्दा अगाडी बढाएकोमा कोही धरौटीमा छुटेका छन्,' उनले भने, 'पोलिग्राफिक टेष्ट समेत गरेर अनुसन्धान भएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.