|

कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै अक्सिजनको अभाव भएपछि भारतले अक्सिजन एक्सप्रेस रेल शुरू गरेको छ।

सबैभन्दा बढी प्रभावित महाराष्ट्रसहित थुप्रै राज्यमा अक्सिजनको अभाव भएपछि भारतको रेल मन्त्रालयले अक्सिजन एक्सप्रेस रेल शुरू गरेको हो। अक्सिजनका विषेश डिब्बा भएको पहिलो रेल गएराति आठ बजेतिर मुम्बईबाट विशाखापटनमतर्फ प्रस्थान गरेको थियो।

रेल मन्त्रालयका एक अधिकारीका अनुसार पहिलो रेल मुम्बईको कालम्बोली रेल्वे स्टेशनबाट खाली कंटेनर लिएर विशाखापट्टनमबाट अक्सिजन भरेर फर्किनेछ।

मन्त्रालयले ७ डिब्बा भएको विशेष रेल तयार गरेको छ। हरेक डिब्बामा १६ मेट्रिकटन मेडिकल अक्सिजन आउनेछ। मन्त्रालयले यो रेलको आवतजावतलाई प्राथमिकता दिइने र यस्तै अर्को रेल पनि सञ्चालन तयारी थालेको जानकारी दिएको छ।

यसैबीच भारतले १८ वर्षमाथिको सबैका लागि खोप कार्यक्रम शुरू गर्ने भएको छ। दैनिक लाखौँ संक्रमित थपिँदै गएपछि भारतले १८ वर्षभन्दा माथिका सबैलाई खोप दिन लागेको हो।

आगामी मे १ गतेदेखि १८ वर्षमाथिका सबैलाई खोप शुरू गर्ने भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले तयारी गरेको छ। यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतका खोप निर्माताहरूसँग विशेष बैठक गर्दैछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.