|

चितवन : गर्मी लागेसँगै यहाँ तरकारीमा अत्यधिक विषादी भेटिन थालेको छ। गर्मी याममा तरकारीहरूमा रोगकीरा बढी लाग्ने भएकाले यहाँका किसानहरूले जथाभावी विषादी प्रयोग गर्न थालेका छन्।

फागुनदेखि नै तरकारीहरूमा विषादी प्रयोग बढेको पाइएको विषादी अवशेष द्रुत परीक्षण प्रयोगशालाले जनाएको छ। भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित भरतपुर महानगर तरकारी तथा फलफूल थोक बजारमा प्रयोगशाला रहेको छ।

चैतमा विषादीको मात्रा अत्यधिक पाइएका तीन किसिमका तरकारीहरू नष्ट गरिएको प्रयोगशाला प्रमुख बाली संरक्षण अधिकृत पूर्णिमा क्षेत्रीले बताइन्। चितवनमै उत्पादन भएको ब्रोकाउली, काँक्रो र सिमीमा अत्यधिक विषादीको मात्रा भेटिएको उनले बताइन्। भारतबाट आएको घिरौँलामा पनि अत्यधिक विषादी पाइएपछि नष्ट गरिएको उनको भनाइ छ।

‘चितवनमा नै उत्पादन भएको दुई ठाउँको काँक्रो, ब्रोकाउली र सिमीमा बढी मात्रामा विषादी भेटियो’, उनले भनिन्, ‘त्यस्तो तरकारीहरूलाई बजार समितिको जिम्मा लगाएर नष्ट गर्न लगायौँ। नष्ट गरेपछि उहाँहरूले त्यसको मुचुल्का ल्याएर दिनुहुन्छ।’ अक्सन बजारमा किसान आफैले बिक्री गर्न ल्याएको ब्रोकाउलीमा अत्यधिक विषादी भेटिएको उनले बताइन्।
चितवनको मंगलपुर र ब्रह्मपुरमा उत्पादन भएको कांक्रो, रत्ननगरमा उत्पादन भएको ब्रोकाउली र भीमनगरमा उत्पादन भएको सिमीमा अत्यधिक विषादी पाइएको क्षेत्रीले जानकारी दिइन्।

फागुनमा पनि अत्यधिक विषादी भेटिएको पाख्रिबासको टमाटर, राप्तीको भेँडे खुर्सानी र टमाटर नष्ट गरिएको थियो।

तरकारीमा कार्बामेट्स र अर्गानोफस्फेट विषादीको मात्रा प्रयोगशालामा परीक्षण गरिन्छ। यस किसिमको विषादी किसानहरूले कीरा मार्न बढी प्रयोग गर्नेगर्छन्।

तरकारीमा ३५ प्रतिशतसम्म विषादी भेटिए तरकारी खानयोग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म भेटिएमा केही दिन क्वारेन्टीन गरेर राख्नुपर्छ। 

कम्तिमा तीन दिनसम्म क्वारेन्टीन गरेर राखेको तरकारीमा विषादी मात्रा पुनः परीक्षण गरिन्छ। ३५ प्रतिशतभन्दा कम पाइएमात्रै उपभोग गर्न सकिने उनी बताउँछिन्। यदि तरकारीमा ४५ प्रतिशतभन्दा बढी विषादीको मात्रा भेटिएमा त्यस्तो तरकारी तुरुन्तै नष्ट गरिने क्षेत्रीको भनाइ छ।

'चैतमा क्वारेन्टीन गर्नुपर्ने तरकारीहरू पनि भेटिए। रत्ननगरको काउली र भान्टा र राप्तीको टमाटरमा ३५ प्रतिशतभन्दा बढी विषादी पाइएको छ,' उनले थपिन्‌, ‘गर्मी सिजनमा तरकारीहरूमा कीरा बढी लाग्ने भएकाले विषादीको पनि बढी प्रयोग भएको हुनसक्छ, कीरा मार्न जति पनि विषादी हाल्ने प्रवृत्ति छ। सचेतनाका कार्यक्रमहरू पनि गरिरहेका छौँ।’

अत्यधिक विषादी हालिएको तरकारी खाँदा टाउको दुख्ने, वान्ता हुने, शरीर चिलाउने र एलर्जी हुने जस्ता समस्याहरू देखिन्छन्। विषादीको दीर्घकालिन असर भनेको क्यान्सर र श्वासप्रश्वास सम्बन्धि रोग लाग्नु हो।

कसरी गरिन्छ परीक्षण ?

प्रयोगशालाका कर्मचारीहरूले हरेक दिन विहान ४ बजेदेखि ८ बजेसम्म तरकारीमा विषादीको मात्रा परीक्षण गर्छन्।

पुनः परीक्षण गर्नुपर्ने भए कहिलेकाहीँ बिहानको १० बजेसम्म पनि काम हुन्छ। दैनिक ५ वटा नमूना लिएर विषादी परीक्षण गरिन्छ।

एउटा नमूनाको रिपोर्ट आउन कम्तिमा ३० मिनेट लाग्ने प्रयोगशाला प्रमुख क्षेत्री बताउँछिन्। विषादी परीक्षणका लागि क्षेत्रीसहित तीन जना कर्मचारीहरू खटाइएको छ। 

तरकारी तथा फलफूल थोक बजारमा किसानहरूले सोझै बिक्री गर्न पनि पाउँछन्। उनीहरूका लागि बजारभित्रै अक्सन बजारको व्यवस्था गरिएको छ।

व्यापारीहरूले आ–आफ्नो स्टलबाट तरकारी बिक्री गर्छन्। 

किसान र व्यापारीहरूले बिक्रीका लागि राखेका तरकारी तथा फलफूलको नमूना उठाएर परीक्षण गरिने उनी बताउँछिन्। ‘व्यापारी र किसानले ल्याएका तरकारीको शंकास्पद नमूना लिएर परीक्षण गर्छौँ’, उनले भनिन्, ‘कहिले त किसानकै बारीमा पुगेर पनि नमूना ल्याउँछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.