|


काठमाडौं : राहदानी विभागले इ–पासपोर्ट छाप्न दुई वटा मेसिन ल्याउने भएको छ। विभागले पहिलो चरणमा ल्याउन लागेको हो। मेसिनका लागि आइडेमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्सेली कम्पनीले दुई करोड ११ लाख अमेरिकी डलर बराबरको ठेक्का पाएको थियो।

विभागले करिब साढे दुई अर्ब रुपैयाँ लागतमा उक्त पासपोर्ट छाप्ने तयारी गरेको जनाएको छ। कम्पनीसँग तीन वटा मेसिन खरीद गर्ने गरी सम्झौता भएको विभागका निर्देशक राजेन्द्र पाण्डेले बताए। कम्पनीले सुरुमा दुई वटा मेसिन ल्याएर काम गर्ने उनले बताए। उनका अनुसार बुकलेट तयारी भइरहेको छ।

बुकलेट तयारी भइसकेपछि मात्र मेसिन निर्माणको काम कम्पनीले अगाडि बढाउने उनले जानकारी दिए। पाण्डेले भने,‘ई–पासपोर्टका लागि तीव्रगतिमा काम भइरहेको छ। कम्पनीलाई हामीले सम्पूर्ण काम चाँडै सक्न भनिसकेका छौ। सम्भवतः अबको चार महिनामा काम सुरु हुने आश्वासन पाएका छौ।’ कर्मचारीमा प्राविधिक ज्ञानको अभाव हुन सक्ने भएकाले सुरुवातीको २–३ महिनाको समय विभागमै पासपोर्ट बनाउन आउनेको भिड हुने उनको दाबी छ।

जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासनमा लाइभ इन्डोरमेन्ट (अनलाइनमार्फत फारम भर्ने) स्थापना गरी फोटो खिचेर राहदानी विभागमा पठाउने पाण्डेले जानकारी दिए। उनले भने,‘फोटो खिची फिंगर प्रिन्ट अपलोड हुनेबित्तिकै फारम तत्कालै पाउँछौँ। त्यहीँ फारमबाट सम्पूर्ण विवरण हेरी पासपोर्ट बनाएर जिल्ला–जिल्लामा पुनः पठाउँछौं।’

विभागले तीन वर्षसम्मका लागि २० लाख सेवाग्राहीलाई पुग्ने गरी पासपोर्ट बनाउन लागेको हो। तीन वर्ष पछाडि नयाँ प्रक्रिया गरेर बनाउन सकिने उनले जानकारी दिए। उनले भने, ‘सरकारले आफ्नै सेक्युरिटी प्रेस खरिद गरेर पनि निर्माण गर्न सक्छ वा अन्य गृहकार्य गरेर पनि तयार गर्न सक्छ।’ ३२ पृष्ठको पासपोर्टमा कायम रहेको मूल्य नै रहने पाण्डेले जानकारी दिए।

ट्राभल गरिरहने सेवाग्राहीका लागि ६६ पृष्ठको पासपोर्ट बनाउने तयारी गरिरहेको उनले जानकारी दिए। उनले भने, ‘बढी पृष्ठ भएको पासपोर्टको मूल्य कायम मूल्यभन्दा दोब्बर हुन्छ।’ यसका लागि निर्णय भइनसकेको तर प्रक्रियामा रहेको उनले जानकारी दिए। ई–पासपोर्ट साथमा भए विमानस्थलको ई–गेटबाट सहजै प्रवेश पाउन सक्ने उनले बताए।

पासपोर्टमा भएको डाटा मिलेमा, अनुहार र आँखा मिल्नासाथ विमानस्थलबाट पर्यटकले सहजै प्रवेश पाउन सक्ने उनको भनाइ छ। पासपोर्टको दुरुपयोग हुन नसक्ने उनले जानकारी दिए। विगतमा एक व्यक्तिको पासपोर्ट अन्य व्यक्तिले प्रयोग गरी भ्रमणमा निस्कने गरेकोमा ई–पासपोर्टले त्यस्ता कार्यलाई निरुत्साहन गर्ने उनको विश्वास छ। विदेशस्थित विभिन्न कूटनीतिक नियोगबाट ई–पासपोर्टबाट अहिले जस्तै आवेदन दिन सकिने उनले प्रस्ट पारे।

एमआरपी पासपोर्ट लिन कागजपत्र पेस गरेर पठाउनुपर्थ्यो भने यसका लागि सम्पूर्ण कागजपत्र इन्टरनेटबाट आउनेछ। हस्तलिखित पासपोर्टका कारण विभिन्न ठाउँमा भ्रमण गर्दा रोकिएको पाण्डेले स्मरण गराए। लिखित पासपोर्ट प्रयोगका कारण नेपाली राहदानी बाहकले विदेशस्थित विभिन्न मुलुकमा दुःख पाएका उनले सुनाए।

सूचना जारी गरेपछि आवश्यक परेका मानिस मात्र पासपोर्टका लागि आवेदन दिन आइरहेको पाण्डेले सुनाए। हाल दैनिक दुई सय देखि चार सयको हाराहारीमा सेवाग्राही आइरहेको उनले जानकारी दिए।

विभागले कम्पनीसँग ई–पासपोर्ट निर्माणका लागि आगामी सेप्टेम्बर सम्मको लागि सम्झौता गरिएको पाण्डेको भनाइ छ। अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले २०३० सम्ममा संसारभर पर्यटकको संख्या वृद्धि हुने अनुमान गरेको थियो। २०१८ मा विश्वभर घुम्न जाने पर्यटकको संख्या बढेको थियो त्यहीँ अनुसार आइकाओले आँकलन गरेको हो।

आइकाओको प्रावधानअनुसार एकै ठाउँबाट सुरक्षित साथ वितरण गरिने व्यवस्था मिलाउन लागिएको उनको भनाइ छ। आइकाओको आग्रह अनुसार नेपालले ई पासपोर्ट जारी गर्न बाध्य भएको हो। 

ई–पासपोर्ट के हो ? 

विश्वका करिब एक सय २० भन्दा बढी मुलुकले यो पासपोर्ट प्रयोगमा ल्याइसकेका छन्। नेपालले पनि प्रयोगमा ल्याउन लागेको हो। पाण्डेका अनुसार हस्तलिखित पासपोर्ट, मेसिन रेडिएबल पासपोर्टभन्दा एक तह माथिको हो। जसमा चिप्स समावेश गरिएको हुन्छ। चिप्समा नागरिकको सम्पूर्ण विवरण राखिएको हुन्छ। जसमा आँखा, फिंगर प्रिन्टको विवरण समावेश गरिएको हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.