|

मकवानपुर : बागमती प्रदेशसभाको चालु सातौं अधिवेशन अन्त्य गरिएको छ। प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले आज राति १२ बजेबाट लागू हुने गरी चालु अधिवेशन स्थगित गरिएको सूचना जारी गरेका छन्। 

लामो समयदेखि स्थगित हुँदै आएको अधिवेशन गत चैत २४ गतेबाट सञ्चालनमा आएको थियो। ‘बागमती प्रदेश मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधान धारा १८३ को उपधारा (२) बमोजिम २०७८ बैशाख ७ गते मंगलबार राति १२ बजे प्रदेशसभाको सातौं चालु अधिवेशन अन्त्य गरेको छु।’ प्रदेश प्रमुख प्रसाईंले जारी गरेको सूचनामा उल्लेख छ। 

पछिल्लो समय प्रमुख प्रतिपक्षी माओवादी केन्द्र र प्रतिपक्षी नेपाली काङ्ग्रेसले प्रदेश सरकारले जनअपेक्षाविपरीत काम गरिरहेको भन्दै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएका थिए।

सरकारले मदन भण्डारी फाउन्डेसनको नाममा ५० लाख कार्यकर्ताका लागि बाँडेको तथा विद्युतीय बस टेन्डरमा प्रक्रियाविपरीत काम गरेको भन्दै संसदमा विरोध भइरहेको थियो। सरकारको कामकारबाहीबारे चित्तबुझ्दो जवाफ माग्दै संसद् अवरुद्ध भइरहेका बेला अधिवेशन स्थगित गरिएको हो। 

प्रदेशमा माओवादी केन्द्रसहित विपक्षी दलले सरकारको कारबाहीप्रति असन्तुष्ट जनाउँदै आएका छन्। हिजो सोमबार मुख्यमन्त्री डोरमणि पौडेलले आह्वान गरेको सर्वदलीय बैठक समेत उनीहरूले बहिष्कार गरेका थिए। 

माओवादी केन्द्र, कांग्रेस, विवेकशील साझा लगायतको खबरदारी आइरहेका बेला प्रदेशसभामा आवश्यक बिजनेसलाई ध्यान नदिई चालु अधिवेशन अन्त्य गरिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.