|

काठमाडौं : कोभिड–१९ संक्रमण बढ्दै गएपछि  वैशाख ६ गतेबाट बढी प्रभावित १४ जिल्लाका विद्यालय वैशाखभर बन्द हुँदै छन्। 

विद्यालय बन्द भए पनि वैकल्पिक प्रणालीबाट पढाइ सुचारु गर्न सरकारले भनेको छ। अतिप्रभावित जिल्लाहरू काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङका विद्यालय बन्द हुनेछन्।  तर सरकारले निर्देशन दिएजस्तै अनलाइन कक्षा चलाउन सजिलो छैन। पढाइ चुनौतीपूर्ण हुने देखिएको छ। तर, यसलाई प्रभावकारी बनाउन विज्ञहरूले विभिन्न उपाय भने देखाएका छन्।

विद्यालय बन्द भए पनि कसरी विद्यार्थीलाई पढाउने अर्थात् उनीहरूको सिकाइ नरोक्न कसरी व्यवस्थापन गर्न सकिन्छ भनी शिक्षाविद् डा. विद्यानाथ कोइरालाले केही उपाय सुझाएका छन्। 

जस्तै :

–जे प्रविधि विद्यार्थीमा छ त्यही अनुसार पढाउने
–शिक्षकले विद्यार्थीलाई १० देखि १५ मिनेटसम्म बोल्न दिने 
–बाँकी समयमा विद्यार्थीले शिक्षकलाई प्रश्न गर्ने
– शिक्षकले प्रतिक्रिया दिनुपर्ने
–धारणा राख्न समय मिलाउनुपर्ने 
– शिक्षक, विद्यार्थी र अभिभावकबीच निरन्तर सूचना प्रवाह गर्नुपर्ने 

शिक्षाविद् काेइरालाले अनलाइन कक्षा विस्तार गर्न नगर,गाउँपालिका र वडा कार्यालयसँग समन्वय गरे अनलाइन कक्षालाई राम्रोसँग प्रभावकारी बनाउन सकिने बताए। भने, ‘यसका लागि स्थानीय तहले सबै क्षेत्रमा इन्टरनेट पुर्‍याउनुपर्छ, त्यसपछि शिक्षकलाई 'जबरजस्ती' भए पनि शिक्षा प्रदान गर्न लगाउनुपर्छ।’

ग्रामीण क्षेत्रमा के गर्ने ?

– पाठ्यक्रममा भएका सामग्री अडियो रेकर्ड गरी रेडियोबाट बजाउने
–भिडियो बनाई टिभीमा देखाउने 
–कुनै पनि प्रविधि नभएका ठाउँमा विद्यार्थी संख्या र घरधुरी छुट्टाएर शिक्षकले घरमै बसेर सीमित समयसम्म शिक्षा दिनुपर्ने 

शिक्षाविद् डा. विनयकुमार कुसियतले अनलाइन प्रविधिभन्दा पनि बढी रेडियोबाट पढाउँदा प्रभावकारी बन्ने बताउँछन्। ‘यो अनलाइन पढाइ सहरमा मात्रै प्रभावकारी होला तर, गाउँघरमा नेट हुँदैन, प्रविधि हुँदैन, त्यसैले रेडियोलाई दूर शिक्षा प्रणाली पनि भन्छन्, अनलाइनभन्दा बढी यो प्रभावकारी हुन्छ,’ उनले भने।

कसरी परीक्षाको तयारी गर्ने?

माध्यमिक शिक्षा परीक्षा (एसइई) लगायत अन्य तहका वार्षिक परीक्षा नजिकिँदै छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मानविकी, व्यवस्थापन र शिक्षा शंकायको वार्षिक परीक्षा अहिले सञ्चालनमा छ। स्कुल बन्द भए पनि विद्यार्थीले घरमै राम्रोसँग परीक्षा तयारी गर्न सक्ने विज्ञहरू बताउँछन्। घरमै बसेर परीक्षा तयारी गर्न पनि सम्भव हुने शिक्षाविद् डा.प्रमोद भट्टको भनाइ छ। 

उनका अनुसार

–नियमित पढ्ने, अभ्यास गर्ने
–सेल्फ अध्ययनमा ध्यान दिने
–पढ्दै मुख्य बुँदाहरू टिपोट गरी नोट बनाउने 
–आफूले नजानेका कुरा शिक्षकलाई म्यासेन्जर,भाइबर, फोनजस्ता माध्यमबाट सोध्ने 
–प्रायः शिक्षक र विद्यार्थीबीच सञ्चार हुनुपर्ने

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.