|

कालिकोट : राजधानी दैनिकका कालिकोट समाचारदाता विश्वनाथ सिम्खाडालाई माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) जिल्ला संयोजक मनसिंह शाहीले ज्यान मार्ने धम्की दिएका छन्।

'कखरा लेख्ने सेतो बोर्डमा पार्टीको झण्डा' भन्ने शीर्षकमा लेखिएको समाचार प्रकाशनलाई लिएर संयोजक शाहीले सिम्खाडालाई मिडिया तोडफोडसहित हातखुट्टा भाँच्ने धम्की दिएका हुन्।

आफ्नो संगठनबारे समाचार किन लेखेको भन्दै संयोजक शाहीले पत्रकार सिम्खाडालाई ज्यान मार्ने धम्की दिए। जिल्लाभरका पत्रकारले यस घटनाप्रति निन्दा गरेका छन्। 

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश र जिल्ला शाखा कालिकोटले छुट्टाछुट्टै विज्ञप्ति निकालेर 'दादागिरी शैली'मा पत्रकारमाथि धम्की दिने मनसिहं शाहीलगायत पात्रलाई कानुनअनुसार कारबाही गर्न माग गरिएको छ। 

जिल्ला शाखा अध्यक्ष भरतराज विष्ट र कर्णाली प्रदेश महासचिव खगेन्द्रप्रसाद भट्टराई हस्ताक्षरित छुट्टाछुट्टै विज्ञप्तिमा समाचार चित्त नबुझेमा कानुनी प्रक्रियामा जाने ठाउँ हुँदा हुँदै माओवादी शैली मात्र होइन युद्धका धाक दिँदै 'पत्रकारलाई मार्ने' मिडिया हाउस तोडफोड गर्ने र हात खुट्टा भाँच्ने जस्ता अराजक धम्कीले नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।  

पत्रकारले स्वतन्त्र रुपमा समाचार लेख्न पाउने अधिकारलाई बारम्बार यो समूहले कुण्ठित गर्दै आएको र जिल्लामा हुने हरेक अराजक गतिविधिमा मनसिहं शाहीलगायत समूह सक्रिय रहेकाले प्रहरी प्रशासनको समेत ध्यान जान जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ। शिक्षा पत्रकार समूह कर्णाली प्रदेशले समेत आपत्ति जनाएको छ। 

यस्तै जिल्लाका माओवादीनिकट पत्रकार संघबाहेक अरु सबैले धम्कीको घोर भर्त्सना गर्दै खेद प्रकट गरेका छन्। मंगलबार कालिकोटको महावै गाउँपालिकाको देव माविको कक्षा कोठामै अखिल क्रान्तिकारीका जिल्ला संयोजक शाहीलगायत समूहले आफ्नो पार्टी र संगठनको झण्डा कक्षाकोठाको बोर्डमा टाँसेर कलिला बालबालिकालाई हात उठाएर लाल सलाम गर्न लगाएको थियो।

पत्रकार  सिम्खाडा  शिक्षा पत्रकार समूह कालिकोटका संयोजक, 'अनलाइन न्युज खबर'का अध्यक्ष , तथा 'राजधानी दैनिक'मा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.