|

विराटनगर : मोरङको विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या थपिइरहेको समयमा जनशक्ति अभाव भएको छ।

दैनिक संक्रमित थपिइरहेको समयमा ८ जना जना स्वास्थ्यकर्मीले उपचार गराउन बाध्य छन्। जनशक्तिको अभाव भएकाले संक्रमित उपचार गर्न समस्या भइरहेको स्वास्थ्यकर्मीले बताउन थालेका छन्।

‘दैनिकरूपमा लक्षण सहितका बिरामी थपिइरहेका छन्,’ नाम नखुलाउने सर्तमा उनले भने, ‘यो अवस्थामा ४ जना डाक्टर र नर्स मात्रैले काम गर्न गाह्रो भइरहेको छ।’

प्रदेशले नयाँ जनशक्ति थप गर्ने भनिए पनि पहिलो चरणमा खटिएको कर्मचारीको अनुभवका आधारमा उनीहरूलाई नै अस्पतालमा ल्याउन सके काम गर्न थप सहज हुन उपचार केन्द्रका एक कर्मचारीको भनाइ छ।

यसअघि माघ २८ गतेसम्म २४ जना स्वास्थ्यकर्मी कोरोना संक्रमितको उपचारका  स्वास्थ्यकर्मी खटिएका थिए।

कर्मचारीको करार मिति सकिएको दोश्रो दिन अर्थात् माघ २९ गते एकजना संक्रमित थपिएपश्चात् संक्रमित बिरामीको उपचारका लागि ५ जना करारका कर्मचारीले स्वेच्छाले खटिएका कोभिड उपचार केन्द्र सूचना शाखाका अनुपम राजवंशीले जानकारी दिए।

‘करारमा रहेका स्वास्थ्यकर्मीहरुको माघ २८ गतेसम्मको मात्रै थियो जिम्मेवारी,’ उनले भने, ‘उनीहरुको काम गर्ने मिति अन्त्य भएकै भोलिपल्ट एक जना संक्रमित थपिए, घर जाने गए तर ५ जना करारका कर्मचारीले आफ्नै इच्छाले बिरामीको उपचारमा खटिए, उनीहरूलाई सामाजिक विकास मन्त्रालयको तर्फबाट खान र बस्नको व्यवस्था थियो।'

कोभिड उपचार केन्द्रका लागि अस्पतालमा रहेको थप बेड सञ्चालनमा ल्याउन प्रदेशले राखेका जनशक्तिलाई पुनः बोलाउने तयारी गरिरहेको उनले बताए। 

‘अहिले कोभिड उपचार केन्द्रमा १८ जना संक्रमित भर्ना भएका छन्। थप अरु पनि बेड छन्, ’राजवंशीले भने, ‘थप बेड सञ्चालन गर्न प्रदेशले जनशक्ति राखेको जनशक्तिलाई पुनः बोलाएर अन्य बेड पनि सञ्चालनमा ल्याउने तयारी छ।’

दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै चैत्र २५ गतेदेखि वैशाख ८ गते यो समाचार बनाउँदासम्म १८ जना संक्रमितको उपचार भइरहेको राजवंशीले जानकारी दिए। उनका अनुसार १८ जना संक्रमितमध्ये अधिकांश मोरङका छन्।

कोभिड उपचार केन्द्रको तथ्यांकअनुसार मोरङका ११ जना, सुनसरीका २, झापा ३, र सप्तरीका २ जना गरी १८ जना संक्रमितको उक्त अस्पतालमा उपचार भइरहेको छ ।

'जनशक्ति थपिन्छ'

कोभिड उपचार केन्द्रमा जनशक्ति थप गर्ने तयारीमा प्रदेश सकार लागिरहेको प्रदेश १ का सामाजिक विकास मन्त्री उषाकला राई बताउँछिन्। पहिलो चरणमा कोरोना संक्रमितको उपचारमा खटिएका २४ स्वास्थ्यकर्मीलाई  पुनः बोलाइने तयारी रहेको उनले  जानकारी दिइन्।

‘पहिलो चरणमा सुरुवातदेखि नै कोरोना संक्रमित बिरामीको उपचारमा २४ जना स्वास्थ्यकर्मी खटिनुभएको रहेछ, ’मन्त्री राईले भनिन्, ‘कोसी अस्पतालसँग समन्वय गरेर सामाजिक विकास मन्त्रालयले त्यसैअनुसार काम बढाइरहेका छौं।’

पछिल्लो समय बढ्दै गएको संक्रमणका लागि प्रदेश सरकार सजक रहेको उनले बताइन्। कोसी कोभिड उपचार केन्द्रमा ४ जना डाक्टर, ४ जना स्टाफ नर्स तैनाथ राखेको पनि उनले बताइन। बाँकी जनशक्तिलाई तत्काल फिर्ता गर्ने तयारीका विषयमा प्रदेश सरकारको सिसिएमसी बैठक बसिसकेको र प्रत्येक जिल्लामा कोभिडका लागि १० वटा बेड छुट्याउने निर्णय भएको उनको भनाइ छ ।

सीमामा कडाइसाथै हेल्थ सेन्टर पनि राख्ने निर्णय भएको मन्त्री राईले जानकारी दिइन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.