नियन्त्रण र अनुसन्धानतर्फ दिल्लीले पर्याप्त काम गरेन : वैज्ञानिक

|

नेपालको दक्षिणी छिमेकी देश भारत यतिखेर कोरोना (कोभिड–१९) महामारीको दोस्रो लहरमा लपेटिएको छ। त्यहाँ भाइरसका विभिन्न भेरियन्ट भेटिएका छन्। 

भारतमा भेटिएको कोरोनाको नयाँ भेरियन्टले त्यहाँको स्थिति निकै भयावह बनाइरहेको छ। दैनिक ३ लाख संक्रमित थपिइरहेका छन् भने २४ घण्टाभित्र ३ हजार हाराहारीमा संक्रमितको ज्यान गइरहेको छ। 

कोरोना महामारीले विकराल रुप लिएपछि अमेरिका लगायत मुलुकले आफ्ना नागरिकलाई भारत यात्रा नगर्न ट्राभल एड्भाइजरी नै जारी गरेका छन्। भारतमा फैलिएको महामारीलाई गम्भीरतापूर्वक नियालिरहेको अमेरिकी अधिकारीहरूको भनाइ छ।

यतिखेर विश्वभरका वैज्ञानिकहरू कोरोना महामारी अनुसन्धान गर्न भारत केन्द्रित भएका छन्। त्यहाँ फैलिएका कोरोनाका भेरियन्ट विश्वभर फैलिएको छ/छैन भन्नेबारे पत्ता लगाउने प्रयास भइरहेको छ। 

डबल म्यूटेन्ट भेरियन्ट (दोस्रो पटक उत्परिवर्तन भएर नयाँ स्वरुप ग्रहण गरेको भाइरस) का कारण संक्रमण बढेको एकीन गर्न भारतीय वैज्ञानिकहरू निरन्तर खोजमा लागेका छन्।

सो डबल म्यूटेन्ट भेरियन्टलाई बी.१.६७ नामाकरण गरिएको छ। पछिल्लो समय संक्रमित भएका अधिकांशमा यो भेरियन्टको कोरोना पुष्टि भएको छ। 

अहिलेसम्म भारतमा यो भेरियन्टको कोरोना नियन्त्रण गर्न पर्याप्त जिनोम सिक्वेन्सका लागि नमूना एकत्रित गर्न सकिएको छैन। तर, महाराष्ट्रमा एकत्रित गरिएको नमूनामध्ये ६१ प्रतिशतमा यो भेरियन्टको भाइरस संक्रमण भएको थाहा लागेको छ। 

हवाई यात्रा जारी रहेका कारण भारतको भेरियन्ट बेलायतसम्म पुगेको छ। यो साताको शुरुमा बेलायतको स्वास्थ्यमन्त्री म्याट हेनककले १०३ जना संक्रमितमा भारतीय भेरियन्ट फेला परेको जानकारी दिइसकेका छन्। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का कोभिड टेक्निकल लिड अफिस मारिया वेन केरखोवेले यो भाइरस निकै अचम्मलाग्दो भएको र विश्वका अन्य क्षेत्रमा पनि फेला परेको भेरियन्टमा पनि फेला पर्नु चिन्ताजनक रहेको बताएका छन्। 

यस्तो पाइएपछि बेलायतले भारतलाई यात्रा प्रतिबन्ध सूचीमा राखिसकेको छ। जीआइएसएआइडीको डेटाबेस हेर्दा सो भारतीय भेरियन्ट कम्तिमा १७ देश र अमेरिकाका १५ राज्यमा समेत फैलिसकेको छ। 

वैज्ञानिकहरूले भारतमा इ४८४क्यू र एल४५२आर एकसाथ नयाँ भेरियन्टमा बदलिएको जानकारी दिएका छन्। यो भाइरस निकै संक्रामक रहेको र हालसम्म बनेका भ्याक्सिनले पनि निस्तेज पार्न नसक्ने खालको रहेको बताइएको छ। 

भाइरसको उत्परिवर्तनबारे पत्ता लगाउन वैज्ञानिकहरूले जीनोम सिक्वेन्स अध्ययन गर्छन्। यसका लागि संक्रमितको स्वाब लिइन्छ। भाइरसको जेनेटिक कोड विन्यास गरेर म्यूटेशन निगरानी गरिन्छ। 

म्यूटेशनका अधिकांश हिस्साले धेरै महत्व राख्दैनन्। तर इ४८४क्यू जस्तो म्यूटेशनले भाइरसलाई खतरनाक बनाइदिन्छ। 

लुसियाना स्टेट विश्वविद्यालयको हेल्थ साइन्स सेन्टर का डा. जर्मी कामिलले इ४८४क्यू निकै हदसम्म इ४८४के सँग एकरुप रहेको बताएका छन्। इ४८४के को म्यूटेशन दक्षिण अफ्रिका र ब्राजिलमा भेटिएका भेरियन्ट रहेको र धेरैपटक फैलिएको उनको भनाइ छ। उनका अनुसार शरीरको रोग प्रतिरोधात्मक क्षमता एन्टी बडी नष्ट गर्न यो भाइरस निकै सक्षम पाइएको छ।

भारतको स्वास्थ्य मन्त्रालयले यो डबल म्यूटेन्ट भेरियन्टले प्रतिरोधी क्षमता कमजोर बनाइदिने र संक्रमण ह्वात्तै बढाइदिने गरेको जानकारी गराएको छ। 

भारतीय भेरियन्टको नमूना अहिलेसम्म पर्याप्त जम्मा भइनसकेको वैज्ञानिकहरूले बताएका छन्। यो भेरियन्टको पहिलो मामिला गत अक्टोबरमा फेला पारिएको थियो।

अहिलेसम्म विश्वभर भएको अनुसन्धानअनुसार भारतीय भेरियन्टको कोरोनाका ६५६ जीनोम सिक्वेन्स साझेदारी भइसकेको छ। भारतमा अहिलेसम्म ८ हजार १७० जिनोम सिक्वेन्स सेयर गरिएको छ। 

डा. कामिलले भनेका छन्, 'अहिलेसम्म भारतीय वैज्ञानिकहरूले जीनोम शेयरिङको दिशामा राम्रो काम गरेका छैनन्, यदी समयमै यो शेयर हुन्थ्यो भने भारत र विश्वभरका वैज्ञानिकका लागि निकै महत्वपूर्ण हुने थियो।' 

वैज्ञानिकहरूले भारत र अमेरिकाले धेरैभन्दा धेरै जीनोम सिक्वेन्स साझेदारी गर्न र सो निगरानी गर्न आवश्यक रहेको बताइरहेका छन्। 

यसबाट जोगिन गरिबीको चपेटामा रहेको नागरिकलाई सशक्त बनाउन र समाजमा भरोसा उत्पन्न गराउन आवश्यक रहेको वैज्ञानिकहरूको भनाइ छ। उनीहरू बिरामी पर्नासाथ नमूना दिन तयार बनाउनुपर्ने पनि उनीहरूले बताएका छन्।

क्याम्ब्रिज विश्वविद्यालयको क्लिनिकल माइक्रोबायोलोजीका प्राध्यापक रवि गुप्ताले प्रयोगशालामा भारतीय भेरियन्टको कोरोना भाइरसबारे जानकारी हासिल गर्ने कोशिश भइरहेको बताएका छन्। गुप्ता बेलायती सरकारलाई कोरोना भाइरसको नयाँ भेरियन्टबारे सल्लाह दिइरहेका वैज्ञानिक हुन्। 

उनले भनेका छन्, 'भारतीय भेरियन्ट यसकारण चिन्ताको विषय हो कि यसमा दुई खतरनाक म्यूटेशन रहेको छ। यी दुवै म्यूटेशन विश्वको अलग–अलग क्षेत्रमा पाइएको छ। यसले आम मानिसको प्रतिरोधी क्षमतामा विपरीत प्रभाव पारिरहेको छ।' 

भारतमा भाइरसको अनियन्त्रित प्रसारका कारण यो स्थिति निम्तिएको गुप्ताले बताएका छन्। त्यहाँको व्यापक जनघनत्व भाइरस म्यूटेशन हुन अनुकूल रहेको र १५ अप्रिलयता भारतमा प्रतिदिन दुई लाखभन्दा धेरै संक्रमित थपिइरहेकाले अवस्था चिन्ताजनक भइसकेको उनले विश्लेषण गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.