नगरप्रमुख भन्छन् : भवन सञ्चालनमा ल्याउन आर्थिक चलखेल हुँदैछ

|

काठमाडौं : भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा–९ को राधेराधे चोक नपुग्दै एउटा अग्लो रङ नलगाइएको नांगो भवन देखिन्छ। ती घरका केही रडहरुमा खिया लागिसकेका छन्।  

११ वर्षदेखि यो भवन अलपत्र छ। जोकोहीले देख्दा यो भवन कसको हो भन्दै जिज्ञासा राख्छन्। धेरैले यो बेवारिसे भवन भारतीय अभिनेता गोविन्दा आहुजाको हो भन्ने गर्छन्। हल्ला पनि यस्तै छ। यस विषयमा नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठ यो भवन गोविन्दाको नभएको बताउँछन्। ‘भवन निर्माण हुँदै गर्दा भवनको अवलोकन गर्न आएका थिए, उनको भने होइन्,’ श्रेष्ठले स्पष्ट पारे।

किन अलपत्र भयो भवन?

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले स्थानीय हिँड्ने बाटोको विषयले भवन विवादित बनेको बताउँछन्। ‘भवनको विषयमा हाम्रो अधिकार क्षेत्रमा पर्दैन, तर, कति बाटो छाड्नुपर्ने भन्ने विषयमा नगरपालिका, सडक डिभिजन कार्यालय भक्तपुरले टुंग्याउन नसक्दा विवादित भएको भन्ने बुझिएको छ,’उनले भने। 

नगरपालिका प्रमुख श्रेष्ठले सार्वजनिक जग्गाको राजकुलोमा भवन बनेकोले विवादित बनेको जानकारी दिए। उनले भने, ‘सार्वजनिक जग्गाको राजकुलो मिचेर भवन बनाएको छ, यो अनियमित ढंगले भवन बनेकाले ११ वर्षदेखि रोकिएको हो।’

नक्सा पासमा पनि विवाद आएको उनले बताए। उनका अनुसार २०६५ सालमा पाँच तलाको मात्र भवन बनाउने भनी नक्सा पास भएको थियो, त्यसबेला अग्लो भवन बनाउन नपाइने नियम थियो। तर, १७ तलाको भवन ठडियो।

यो भवन अहिले कसको नाममा छ भन्ने प्रश्नमा उनले भने, ‘सुरुमा नक्सा पास गर्ने बेला जगदम्बा टावरको नाममा थियो, अहिले विष्णु न्यौपानेको नाममा भवन छ।’ उनका अनुसार करिब तीन रोपनी क्षेत्रफलमा भवन ठडिएको छ। 

सञ्चालनमा ल्याउन अहिले ठूलो आर्थिक चलखेल भइरहेको पनि उनले जानकारी दिए। ‘सार्वजनिक जग्गामा यसरी निजी भवन बनाउन पाइँदैन तर, पावर लगाएर जबरजस्ती भवन बनेको छ,’ श्रेष्ठले भने।

के हुन्छ भवन?

नगरप्रमुख श्रेष्ठका अनुसार अझै पनि भवन सञ्चालनमा अन्योल छ। सबै कानुनी प्रक्रिया पूरा गरी स्थानीयको सहमतिमा मात्रै सञ्चालन गर्न दिइने उनले बताए।  ‘भवन भत्काउन सकिँदैन, ’उनले भने, ‘आवश्यक पनि छैन, सबै आर्थिक चलखेल बन्द भएपछि कानुनी प्रक्रिया  पुर्‍याएर पत्रकार सम्मेलन गरी पारदर्शी रुपले यसबारे जानकारी दिने योजना बनाएका छौँ।’ 

कहिले सार्वजनिक हुन्छ भन्ने प्रश्नमा आफ्नो कार्यकालमा नहुने उनले प्रष्ट्याए। ‘जसले यस विषयमा छुन्छ, त्यो बदनाम भइन्छ, त्यसैले हाम्रो कार्यकालमा नहोला,’ श्रेष्ठले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.