१० जना पक्राउ, वडा अध्यक्षसहित ६ जना फरार

|

झापा : तीन वर्षदेखि योजना बनाएर बिर्तामोडका स्व. टुंङगबहादुर बस्नेतको नामको करोडौं मूल्य पर्ने जग्गा अधिकृत वारेसनामासहित किर्ते कागजात बनाएर बिक्री गरेको आरोपमा झापा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

घटना संलग्न अझैं ६ जना फरार छन्। पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले बिहीबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा वारेसनामा आफ्नो नाममा ल्याउने बाह्रदशी गाउँपालिका–३ हाल बिर्तामोड–२ चैतुवारी बस्ने ३९ वर्षीय मङ्गलसिंह राजवंशी, नक्कली जग्गाधनी बनेका बिर्तामोड–१० हाल कोटीहोम सुरुङ्गामा बस्ने ७१ वर्षीय देवीप्रसाद पाण्डे, जग्गा खरिद गर्ने बिर्तामोड नगरपालिका–४ बस्ने ३३ वर्षीया रञ्जु राई, उनका श्रीमान् दोभान कन्स्ट्रक्सन कम्पनी बिर्तामोडका सञ्चालक ३४ वर्षीय गोविन्द बान्तवा छन्।

​यस्तै, नापी कार्यालयका पूर्व कर्मचारी तथा नमस्ते होटेल चन्द्रगढीका सञ्चालक भद्रपुर–७ बस्ने ५२ वर्षीय नवीन कोइराला, बाह्रदशी गाउँपालिका–५ का ५० वर्षीय लिला धर राजवंशी, भोजपुर तिवारी भञ्ज्याङ्ग–२, हाल गौरीगञ्ज गाउँपालिका–१ बस्ने ३७ वर्षीय बलराम विश्वकर्मा, नेपाल विद्युत् प्राधिकरण फिक्कल शाखाका कर्मचारी शिवसताक्षी नगरपालिका–८ बस्ने ४२ वर्षीय भुपदेव कटुवाल, बिर्तामोडमा ट्याक्टर स्वरुम सञ्चालक तथा जग्गा किनबेच गर्ने अजर्नुधारा नगरपालिका–५ बस्ने ५३ वर्षीय लेखनाथ खनाल र मोरङ उर्लाबारी–४ बस्ने ४८ वर्षीय राजन विश्वकर्मा रहेको प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए।

उनीहरूलाई विभिन्न मितिमा विभिन्न स्थानबाट पक्राउ गरी ठगी, सरकारी छाप दस्तखत किर्ते, आपराधिक लाभ तथा सङ्गठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कसको भूमिका के ?

बस्नेतबाट वारेसनामा जारी गरेका मङ्गलसिंह राजवंशीले बलराम विश्वकर्मा र लिला धर राजवंशीसँग मिलेर सुरुङ्गाको कोटीहोमस्थित गाई धर्मशालामा बसोबास गर्ने ७१ वर्षीय देवीप्रसाद पाण्डेलाई पाँच लाख दिने प्रलोभन देखाई नक्कली टुंङगबहादुर बस्नेतको रुपमा खडा गराएको साथै बस्नेतको धर्मपुत्रको रुपमा भूमिका खेलेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

त्यसपछि नक्कली टुंङगबहादुर बस्नेतबाट काठमाडौं जिल्ला अदालतबाट जग्गा बेचबिखन गर्न पाउने गरी अधिकृत वारेसनामा लिई सो जग्गा रञ्जु राईको नाममा मालपोत कार्यालय झापाबाट राजीनामा पास गराएको डिएसपी थापाले बताए। त्यस्तै नक्कली जग्गाधनी (टुंङगबहादुर बस्नेत) बनेका देवीप्रसाद पाण्डेले मङ्गलसिंह राजवंशीलाई अधिकृत वारेसनामा बनाउन भूमिकामा खेलेका थिए।

जग्गा खरिद गर्ने रञ्जु राईले श्रीमान् गोविन्द बान्तवा लगायत अन्य योजनाकारहरूको सहमतिमा बस्नेतको जग्गा राजवंशीले पाएको अधिकृत वारेसनामा मार्फत बेचबिखन गर्न असहज हुने देखिएकोले उनको नाममा राजीनामा पास गराएको डिएसपी थापाले जानकारी दिए। यस्तै बान्तवाले उनकी श्रीमती रञ्जुको नाममा राजीनामा पास गराउन भूमिका खेल्नुका साथै योजनालाई सफल बनाउन रकम बन्दोबस्तमा जुटेका थिए।

नापी कार्यालयका पूर्व कर्मचारी कोइरालाले बस्नेतको जग्गा हडप्ने योजनामा सुरु देखि संलग्न भएको अनुसन्धानबाट खुलेको छ। उनले बस्नेतको नाममा रहेको जग्गा पत्ता लगाउने, धनीपूर्जा किर्ते गर्ने र बस्नेतको नागरिकताको विवरण इलाम सम्म गई पत्ता लगाई किर्ते गरी नागरिकता बनाउने कार्यमा गिरोहलाई सहयोग गरेका थिए। उनले विभिन्न समयमा उक्त काम गरे बापत गोविन्द बान्तवासँग १४ लाख रुपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

त्यस्तै लीलाधर राजवंशीले नक्कली जग्गाधनी खडा गर्ने क्रममा उपयुक्त व्यक्ति पहिचान गरी योजनामा सहयोग गरेको र मङ्गलसिंह राजवंशीलाई ठूलो रकम फाइदा हुने प्रलोभन देखाइ धर्मपुत्रको रुपमा कार्य गर्न प्रेरित गरेको अनुसन्धानबाट खुलेको छ।  उनले नै सुरुङ्गाको कोटीहोममा बसोबास गर्ने देवीप्रसाद पाण्डेको पहिचान गरी बलराम विश्वकर्मा र मङ्गलसिंह राजवंशीसँग पटक–पटक भेटघाट गराएको र  अधिकृत वारेसनामा कार्यको लागि काठमाडौं पठाउन सहयोग गरेको खुलेको छ।

त्यसैगरी बलराम विश्वकर्माले लेखनाथ खनाल, प्रकाश कार्की, नवीन कोइराला, भुपदेव कटुवाल, गोविन्द बान्तवासँग मिलेर बस्नेतको जग्गा हत्याउने योजना बनाएका थिए। उनले नै गौरादह नगरपालिका–७ का वडा अध्यक्ष बलराम खरेल (हाल फरार) लाई काठमाडौं सम्म लगी अधिकृत वारेसनामा बनाउने कार्यमा सहयोग गर्नुका साथै भुपदेव कटुवालसँग मिलेर बस्नेतको नागरिकतामा भएको विवरण समावेश गरी देवीप्रसाद पाण्डेको फोटो टाँसेर नक्कली नागरिकता बनाएको र मालपोतमा राजीनामा पास गराएको लिखत कागजातमा समेत साक्षी बसेको डिएसपी थापाले बताए।

साथै उनले मालपोत कार्यालयबाट जग्गा पास गर्नको लागि आवश्यक हुने घर बाटो सिफारिस, तिरो तिरेको रसिद गौरादहका वडा अध्यक्ष बलराम खरेलसँग मिलेर किर्ते कागजात बनाएका थिए। भुपदेव कटुवालले बस्नेतको नक्कली नागरिकता प्रतिलिपि बनाएको र अधिकृत वारेसनामा गर्ने कार्यको लागि काठमाडौंसम्म गई प्रतिवादी देवबहादुर विष्ट (हाल फरार) लाई सहमत गराई बलराम विश्वकर्मा, मङ्गलसिंह राजवंशी, बलराम खरेल र देवी प्रसाद पाण्डेलाई काठमाडौं बोलाएका थिए।

त्यस्तै योजनामा सुरुदेखि संलग्न भएका लेखनाथ खनालले जग्गा बेचबिखन गरी सल्टाउने कार्यमा गोविन्द बान्तवालाई योजनामा सामेल गराएको र यसका लागि आवश्यक पर्ने रकमको बन्दोबस्त गर्ने काममा मध्यस्थताको भूमिकामा बान्तवाबाट पैसा लिएर गिरोहलाई सहयोग गरेका थिए। साथै मालपोतका कर्मचारीसँग सहज रुपमा काम गराउने वातावरण मिलाएको र राजीनामा लिखतमा समेत साक्षी बसेको डिएसपी थापाले बताए।

अधिकृत वारेसनामा बनाउने क्रममा राजन विश्वकर्माले आफ्नो गाडी प्रयोग गरेको र अन्य प्रतिवादीहरूको अनुरोधमा विभिन्न सिम कार्ड निकाल्न सहयोग गरेको अनुसन्धानबाट खुलेको डिएसपी थापाको भनाई छ। 

६ जना अझैं फरार 

बस्नेत जग्गा प्रकरण घटनामा संलग्न ६ जना अझैं फरार रहेको प्रहरी कार्यालय झापाले जनाएको छ। घटनामा वडा अध्यक्ष, मालपोत अधिकृत, कर्मचारीदेखि साक्षी बसेका व्यक्तिहरू अझैं फरार छन्।

किर्ते कागजात तयार गर्न सहयोग गरेको, अधिकृत वारेसनामा गर्ने कार्यको लागि अन्य प्रतिवादीहरुसंगै काठमाडौं जिल्ला अदालतसम्म गई समन्वयात्मक भूमिका खेलेको तथा अन्य प्रतिवादीहरूलाई भगाउने कार्यमा संलग्न भएका गौरादह नगरपालिका–१ का वडा अध्यक्ष बलराम खरेल, बैंकिङ्ग कारोबार लगायतका प्रक्रिया

नपुग्दै राजीनामा पास गर्नको लागि लिखत पारित गरिदिएका भूमिसुधार तथा मालपोत कार्यालय झापाका अधिकृत चेतन अधिकारी, सक्कली बस्नेतको जग्गा धनीपूर्जामा भएको फोटो र नक्कली बस्नेतको फोटो भएको धनी पुर्जालाई रुजु नगरी मोठ भिडाएको मालपोतका तत्कालीन नायव सुब्बा हरि तिवारी, अदालतको अधिकृत वारेसनामा साक्षी बसेका जिल्ला ओखलढुङ्गा चिशंखुगढी गाउँपालिका–७ बस्ने ५६ वर्षीय वेगप्रसाद कोइराला, अधिकृत वारेसनामाको लिखत प्रक्रियाको

लागि कानुन व्यवसायी मिलाएर लिखतमा साक्षी बसेका खोटाङ हलेसी तुवाचुङ्ग नगरपालिका–११ स्थायी ठेगाना भई हाल काँडाघारी, काठमाडौं बस्ने ३२ वर्षीय देवबहादुर विष्ट र अधिकृत वारेसनामा तथा जग्गा पास गर्ने कार्यमा वातावरण मिलाइदिने र बस्नेतको स्रेस्तामा कायम रहेका जग्गा सम्बन्धी सूचना सङ्कलन गरी गिरोहलाई उपलब्ध गराउने भद्रपुर–७ का ५३ वर्षीय प्रकाश कार्की फरार रहेको डिएसपी थापाले बताए। उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

के भएको थियो घटना ?

साबिक चारपाने गाविस–१ हाल बिर्तामोड नगरपालिका–१ अदुवा पुलस्थित पूर्व–पश्चिम राजमार्ग नजिकै स्वर्गीय टुंङगबहादुर बस्नेतको कित्ता नम्बर ४१८३ को एक कट्टा पौने १४ धुर जमिन बिर्तामोड नगरपालिका–७ का रञ्जु राईको नाममा रजिस्ट्रेसन पास भएको छ।

२०७७ साल माघ २१ गते राईको नाममा रजिस्ट्रेसन पास भएको हो। तर, जग्गाधनी बस्नेतको २०७६ साल साउन २४ गते मृत्यु भइसकेको थियो। जग्गाधनीको मृत्यु भएको एक वर्ष दुई महिना ४ दिनपछि नक्कली जग्गाधनी बनेकाले ७१ वर्षको उमेर खुलाएर काठमाडौं जिल्ला अदालतमा गएर अधिकृत वारेसनामा बनाइएको थियो।

उनले २०७६ असोज २८ गते बाह्रदशी गाउँपालिका–३ डाँगावारि बस्ने ३९ वर्षीय मङ्गलसिंह राजवंशीको नाममा वारेसनामा बनाएको र राजवंशीले राईलाई सो जमिन ८४ लाख ३७ हजार पाँच सय रुपैयाँमा बिक्री गरेको मालपोतको स्रेस्तामा देखिन्छ। सो जग्गाको बजार मूल्य १० करोड हाराहारी रहेको बुझिएको छ।  

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.