|

झापा : झापामा ट्रकको ठक्करबाट सिटी सफारीमा सवार वृद्ध महिलाको मृत्युपछि घटनास्थल तनावग्रस्त बनेको छ। ट्रक चालकले गाडी ब्याक गरी चक्काले किचेर महिलालाई मारेको र प्रहरीले मुचुल्का नबनाई शव उठाएको विरोधमा मृतकका आफन्तजन र स्थानीयले विरोध प्रदर्शनमा उत्रिएपछि घटनास्थल दिनभर तनावग्रस्त बन्यो।

​बिहीबार बिहान करिब साढे ९ बजे भएको घटनापश्चात् उत्पन्न विवाद सहमति हुन नसक्दा घटनास्थलमा सशस्त्र र जनपथ प्रहरी उल्लेख्य सङ्ख्यामा परिचालन गरिएको छ।

मृतकका आफन्तजन र स्थानीयले मेची राजमार्ग अन्तरगतको चाराआली चन्द्रगढी सडक खण्ड अवरोध गरेर विरोध प्रदर्शन गरिरहेका छन्।  प्याकुरेल घाइते भएको वा मृत्यु भइसकेको केही जानकारी नगराई प्रहरी कार्यालय झापाबाट आएका प्रहरी निरीक्षक जीपी तिम्सिनाको नेतृत्वको प्रहरी टोलीले स्थलगत मुचुल्का नगरी त्रिपालमा पोको बनाएर लगेको मृतककी बुहारी मार्था प्याकुरेलले आरोप लगाएकी छन्। 

आदेश दिनेको नाम सार्वजनिक हुनुपर्ने र प्रहरी निरीक्षकलाई कारबाही हुनुपर्ने उनीहरूको माग रहेको छ। घट्नापछि पीडित परिवारले घटनाको विषयमा भद्रपुर ९ नम्बर वडा कार्यालय, भद्रपुर नगरपालिका र जिल्ला प्रहरी कार्यालयमा बोधार्थ दिएर निवेदन दर्ता गराएको मृतकका आफन्त चक्र फुँयालले बताए।

प्रहरी निरीक्षकले माथिको आदेश भन्दै नियमविपरीत शव लग्नुमा उद्योगीहरूको दबाब हुनसक्ने उनको भनाइ छ। घटना ढाकछोप गर्न प्रहरी लागिपरेकाले सत्य बाहिर नल्याएसम्म परिवारले शव नबुझ्ने आफन्तजनले बताएका छन्।

सार्वजनिक मुचुल्का नउठाई शव प्रहरीले लैजानु गलत भएको ९ नम्बर वडा कार्यालयका कार्यवाहक अध्यक्ष रामबहादुर दाहालले बताए। घट्नाको विषयमा सत्य तथ्य बाहिर आउनुपर्ने उनको भनाइ छ।

चाराआली केचना सडक खण्डअन्तर्गत भद्रपुर नगरपालिका ९ स्थित चन्द्रगढी सामुदायिक वन कार्यालयअगाडि चन्द्रगढ जाने सडकमा भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको मे१क २६७ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मे १ ह ६४५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिँदा सिटी सफारीमा भद्रपुर ९ बस्ने ७५ बर्षीया गायत्री देवी प्याकुरेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

मृतक प्याकुरेल व्रतबन्धको फूलपाती बिर्सजनका लागि देउनिया खोला गइरहेकी थिइन्। ट्रक भद्रपुरस्थित दक्षिणकाली प्लास्टिक उद्योगको रहेको प्रहरीले जनाएको छ। पानीको ट्याङ्की लोड गरिएको ट्रक चारआलीतर्फ गइरहेको थियो। यता चालक भने फरार रहेको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.