|

काठमाडाैं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिनासम्म नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ।

मन्त्रालयले कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखा परेकाले अबको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो।

बिहीबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आगामी बजेट सम्बन्धमा भएको छलफलमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस्तो तथ्यांक प्रस्तुत गरेका हुन्।

उनका अनुसार ३ लाख संक्रमितमध्ये ६० हजारलाई अस्पतालमा उपचार गर्नुपर्ने, ३० देखि ३५ हजार बिरामीलाई अक्सिजन दिनुपर्ने र १५ हजार बिरामीलाई सघन उपचार कक्ष (आइसियु) आवश्यक पर्ने अनुमान छ।

सोहीअनुसार मन्त्रालयले तयारी गरिरहेको पनि सचिव अर्यालले बताए। भने, ‘असारसम्म करिब मोडरेज सिनारियोमा पनि हामीसँग ३ लाखको इन्फेक्सन आउँछ भन्ने छ। ३ लाखको इन्फेक्सन आउँदा करिब ६० हजार बिरामीहरु हस्पिटल आउनुपर्छ भन्ने देखिन्छ।'

उनले थपे, 'यो बीचमा हामीले कोभिडका लागि गरेको ६ सय ४९ आधारभूत अस्पतालमा बेडहरु चलाएका छौं। केही जिल्ला अस्पताललाई स्तरोन्नति गरेका छौं, केही संघीय अस्पतालमा बेड थप्ने काम गरेका छौं। यो बीचमा हामी करिब ५ सय जति आइसियु बेडहरु थप्यौं, करिब ४ सय जति भेन्टिलेटरहरु थप गर्न सक्या छौं र त्यो भन्दा पनि महत्वपूर्ण यो अवधिमा हामीले २ हजार बेड हाई डिपेन्डेन्सी युनिटमा थपेका छौं।’

सचिव अर्यालले पछिल्लो केही दिन काठमाडौंका अस्पतालमा आएका कोरोना संक्रमित बिरामीको स्थिति छिटो क्रिटिकल अवस्थामा पुग्ने देखिएको बताए। उनले भने, ‘पछिल्लो हामीले दुई तीन वटा हस्पिटलहरुको टेकु हस्पिटल, पाटन हस्पिटल हेर्दा बिरामी असाध्यै सिकिस्त भएपछि अस्पताल आउने, पहिलो दिनमा उहाँहरु जनरल बेडमा हुनुहुन्छ, दोस्रो दिनमा अक्सिजनमा जानुहुन्छ, तेस्रोमा आइसियुमा, चौथोमा भेन्टिलेटर त्यसपछि एक दुई दिन भित्र बिरामीहरु मरिरहेको अवस्था देखिन्छ। यति छिटो संक्रमण बढिराखेको छ।’ 

गत वर्ष देखिएको भेरियन्टमा एक जना संक्रमितले अरु चार पाँच जनामा सार्न सक्ने भए पनि अहिलेको भेरियन्टमा एक जनाले ४० देखि ७० जनासम्मलाई सार्न सक्ने देखिएको छ । जुन युके भेरियन्ट नै रहेको पुष्टि भइसकेको पनि सचिव अर्यालले बताए।

मन्त्रालयले चालु आर्थिक वर्षमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि करिब ८ अर्ब रुपैयाँ खर्च गरेको छ। जसमा पिसिआर कीट, एक्स्ट्राक्सन किट, भाइरल ट्रान्सपोर्ट मिडिया (भीटीएम), एन्टिजेन किट, मास्क, गाउन, सर्जिकल पञ्जा, अक्सिजन प्रणाली सुदृढीकरण, आइसियू, एचडियू, तथा अन्य औषधि उपकरणहरुको व्यवस्थापन, स्वास्थ्यकर्मीको जोखिम भत्ता, निःशुल्क परीक्षण तथा उपचार, खोप खरिद तथा अभियान सञ्चालनलगायत कोभिड–१९ रोकथाम तथा नियन्त्रण लगायतका क्रियाकलापहरुको लागि ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भएको जनाएको छ।

त्यस्तै खोप कार्यक्रम र एच.डी.यु.को लागि २ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ। चालु वर्षमा मन्त्रालयलाई ५८ अर्ब ९८ करोड ४१ लख ७२ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म २७.५४ प्रतिशत अर्थात १६ अर्ब २४ करोड, ५१ लख ८८ हजार रुपैयाँ मात्रै खर्च भएको छ।

आगामी आर्थिक वर्षका लागि ६२ अर्बको सिलिङ्ग प्राप्त भए अनुसार कार्यक्रमहरु तयार गरिएको सचिव अर्यालले बताए। यस्तै कोभिड व्यवस्थापनबाहेक थप २९ अर्ब ८० करोड रुपैयाँ बजेट आवश्यक पर्ने पनि बताए। भने, ‘कोभिडको व्यवस्थापनबाहेक हामीलाई थप २९ अर्ब ८० करोड रुपैयाँ चाहिन्छ भनेको हो। सिलिङ्गमा चाहिं ६२ अर्बको सिलिङ्ग हामीलाई दिनुभएको छ भने हामीकोमा आउट आफ सिलिङ्ग २९ अर्ब ८० करोड चाहिन्छ भनेको हो। कोभिडको पहिलो चरणमा १४ अर्ब खोपसहित साउनसम्म खोप किन्न सकिन्छ की भन्ने हिसाबले बढी राखेको हो र असोज सम्मको कोभिडको संक्रमण रेट अफ ट्रान्समिसनको आधारमा प्रोजेक्सन गर्नुपर्ने हुन्छ।’

सचिव अर्यालले कुल जनसंख्याको ७२ प्रतिशतमा कोभिड–१९ विरुद्धको खोप लागाउने योजना बनाएको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.