|
फाइल तस्बिर

काठमाडौं : भूकम्प गएको झण्डै ६ वर्षमा ६ हजार भन्दा बढी विद्यालय पुनर्निर्माण भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार २०७२ सालको भूकम्पले ३१ जिल्लाका ९ हजार ७२ वटा विद्यालयमा क्षति पुर्‍याएकोमा सात हजार पाँच सय ५३ विद्यालयमा पुनर्निर्माण गर्ने सरकारको कार्यक्रम छ। 

बिहिबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र शिक्षा पत्रकार सञ्जाल (इजोन) ले आयोजना गरेको विद्यालय पुनर्निर्माण सम्बन्धी पत्रकार सम्मेलनमा एकाइ (शिक्षा) का अधिकृत यदु विक्रम थापाले अहिले सम्म ६ हजार दुई सय ५३ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिए।

 १३ सय सात वटा निर्माणधिन रहेको उनले बताए। उनका अनुसार ति क्षति पुगेका विद्यालयमा ५४ हजार पाँच सय ८४ कक्षा कोठामा क्षति पुगेको थियो भने, २१ हजार एक सय ६९ कक्षाकोठा पूर्ण रुपमा क्षति भएको थियो। जसमा तीन सय २७ वटा मर्ज भएका छन् भने, एक सय ५३ विद्यालय सञ्चालनमा छैनन्। तीन हजार पाँच सय ५८ कक्षा कोठा बनिसकेका छन् भने १३ हजार ६ सय ५३ निर्माणधीन छन्।

‘पाँच हजार ३६ शौचालय पुनर्निर्माण गर्नुपर्नेमा दुई हजार सात सय सात सम्पन्न भएको छ,’उनले भने,‘बाँकी निर्माणधिन छन्। एक हजार सात सय एक खानेपानी निर्माण गर्नुपर्नेमा दुई सय १६ सम्पन्न भएको छ।’ विद्यालय पुनर्निर्माणका लागि कूल आवश्यक रहेको एक खर्ब १० अर्ब ७९ करोड ७४ लाख २५ हजारमा ०७६/०७७ सम्म ५३ अर्ब १९ करोड ३९ लाख ८३ हजार खर्च भएको उनले जानकारी दिए।

‘८० प्रतिशत सरकारकै बजेटबाट विद्यालय बनेका छन्। अरु विदेशी तथा स्वदेशी दातृ निकाय एडिबी ऋण, निर्माण व्यवसायी लगायतको सहयोगले विद्यालय बनेका छन्, ‘बाँकी विद्यालय यो वर्षमा पुनर्निर्माण सम्पन्न गर्छौ’ उनले भने।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख रामशरण सापकोटाले बाँकी विद्यालयको पुनर्निर्माणको काम यो वर्षमा सम्पन्न गर्ने बताए। ‘प्राधिकरणले विद्यालय पुनर्निर्माणमा ठूलो प्रगति हासिल गरेको छ,’सापकोटाले भने,‘बाँकी यो वर्षमा सम्पन्न गर्छौ। क्याम्पस पनि ३९ वटा बनाउने योजना बनाएका छौँ। यो भने २०८१ सम्ममा सकिन्छ।’ 

उनले एक हजार पाँच सय १९ वटा विद्यालय मर्मतमा भने कम प्राथमिकता दिएको जानकारी दिए। ‘सरकारले नै पहिला भत्केका विद्यालय मात्र बनाउने भनेको छ त्यसैले यी विद्यार्थी कम प्राथमिकता दिइएको हो। पछि विस्तारै यी विद्यालयमा पनि कार्यक्रम पुग्छ।’

उनले आठ सय ८२ वटा विद्यालय निर्माणमा भने बजेटको आवश्यक रहेको सुनाए। ‘एक विद्यालय पुनर्निर्माणको लागि डीपीआर गरी निर्माण गर्दा करिब तीन करोड खर्च हुन्छ। हामीले अर्थ मन्त्रालयमा माग गरेका छौं,दातृ निकायसँग पनि समन्वय गरिरहेका छौं,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.