असारभित्र पुन:निर्माण सकिने प्राधिकरणको दाबी

|

काठमाडौं : आज भूकम्प गएको ६ वर्ष पूरा भएको छ। गोरखाको बारपाक केन्द्रबिन्दु भएर २०७२ साल वैशाख १२ गते ठूलो भूकम्प गएको थियो। त्यसबेला करिब ९ हजार व्यक्तिको ज्यान गयो भने हजारौं मानिस घाइते भए।

सम्पदा, सरकारी तथा निजी भवन लगायतमा निकै क्षति पुग्यो। राष्ट्रिय पुन:निर्माण प्राधिकरणका अनुसार भूकम्पले ३१ जिल्लाका ९ हजार ७२ वटा विद्यालयमा क्षति पुर्‍याएकाे थियो।

९२० वटा ऐतिहासिक-सांस्कृतिक सम्पदा क्षतिग्रस्त भएका थिए। त्यस्तै, भूकम्पले १ हजार १९७ वटा स्वास्थ्य संस्थाका भौतिक संरचना क्षतिग्रस्त बनाएको थियो। कुल ४ सय १५ सरकारी भवनमा क्षति पुगेको थियो।

पुन:निर्माणमा विवाद र निरूपण

०७२ को भूकम्पले उपत्यका ऐतिहासिक सम्पदा रानीपोखरी, काष्ठमण्डप, धरहरा र पशुपतिनाथ मन्दिर क्षेत्रका मठमन्दिर लगायत सम्पदामा क्षति पुग्यो।

जसमध्ये रानीपोखरी पुन:निर्माण सम्पन्न भैसकेको छ। रानीपोखरी राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ मा पुन:निर्माणको शिलान्यास गरेकी थिइन्।

भूकम्पको पाँच वर्षपछि रानीपोखरी मल्लकालीन स्वरूपमा निर्माण सम्पन्न गरी २०७७ कात्तिक ५ मा राष्टपति भण्डारीले उद्घाटन गरिसकेकी छिन्। 

रानीपोखरी भने त्यति सजिलो गरी बनेको होइन। यसको निर्माण ढाँचालाई लिएर निकै विवाद भयो। काम हुँदै गर्दा पोखरीमा डोजर चल्यो।

सम्पदा अभियन्ताहरू काठमाडौं महानगरपालिकाले कंक्रिटको प्रयोग गरी पोखरीको इतिहास मेटेर ‘स्विमिङ पुल’ बनाउन लागेको भन्दै विरोधमा उत्रिए। नभन्दै त्यही दबाबका कारण विज्ञ बोलाएर परम्परागत पोखरी बनाउने शैली सिकाइयो। भक्तपुरका महिलाहरूलाई बोलाएपछि उनीहरूले पोखरी बनाए। 

वसन्तपुरस्थित काष्ठमण्डप पुन:निर्माणको काम अन्तिम चरणमा पुगेको छ। काष्ठमण्डप पुन:निर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार पुन:निर्माणको काम ९० प्रतिशत भन्दा बढि सकिएको छ। शाक्यले भने, ‘अब काष्ठमण्डप छाउने, गजुर राख्ने लगायत केही काम बाँकी छ, तीव्र गतिमा काम भैरहेको छ, अब छिट्टै सबै काम सम्पन्न गर्ने हाम्रो लक्ष्य छ।’

धरहराको पनि टावर निर्माण सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेका छन्। तर, काम भने पूरा भएको छैन। पुन:निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बाँकी काम आगामी मंसिरसम्म सकिने बताए। काम नै नसकी प्रधानमन्त्री ओलीले जस पाउन उद्घाटन गर्न हतार गरेको भन्दै चर्को आलोचना पनि यतिखेर भैरहेको छ। 

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाका अनुसार भूकम्पबाट ती क्षेत्रका ९३ वटा सम्पदामा क्षति पुगेको थियो। जसमध्ये ४२ वटा बनेको, ३३ वटा बन्ने क्रममा रहेको र अन्य पुनःनिर्माण गर्ने प्रकृयामा छ। त्यही ठाउँको जयवागेश्वरी मन्दिर बन्न सकेको छैन, विश्वरूपा लगायत मन्दिर पुन:निर्माण थालिएकै छैन।

स्वयम्भू स्तूप परिसरका १७ वटा घर एकीकरण र पुन:निर्माण सम्पन्न गरिएको छ। भूकम्पले वुद्धाचार्य परिवारका ती घर जीर्ण बनाएको थियो। ती घर वैशाख १३ गते घरधनीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ।

भूकम्पले दरबार हाइस्कूल पनि भत्किएको थियो। छिमेकी मुलुक चीनले पुरानै स्वरूप देखिनेगरी अत्याधुनिक नयाँ भवन बनाइदिएको छ। २०७५ साउनबाट पुन:निर्माण थालेको चीनले भित्री भाग अत्याधुनिक बनाइदिएको छ।

चीनले ८५ करोड रुपैयाँ खर्चेर ठड्याएको चार तले भवनमा ४६ कोठा छन्। भवन निर्माणकार्य सकिएपछि गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन्। अत्याधुनिक भवनकै कारण त्यहाँ पढ्ने विद्यार्थीको चाप बढ्दो छ। विद्यार्थी तथा अभिभावक आकर्षित भएका छन्।

त्यस्तै, ललितपुरको ऐतिहासिक पूर्णचन्डी पोखरी पुरानै स्वरूपमा निर्माण भएको छ। 

क्षतिग्रस्त भवन र सम्पदाहरूको पुन:निर्माण अवस्था

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अहिलेसम्म ४९३ वटा सम्पदाको पुन:निर्माण सम्पन्न भएको र २८८ वटा पुन:निर्माण भैरहेको जानकारी दिएका छन्‌। उनका अनुसार ४०२ वटा गुम्बामा क्षति पुगेकोमा २९४ वटाको पुन:निर्माण भइसकेको छ।

‘६९८ स्वास्थ्य संस्थाका संरचना निर्माण सम्पन्न भएको छ,’ उनले भने, ‘२९६ वटा निर्माण भैरहेको छ, सरकारी भवन ९० प्रतिशत सकिएको छ, प्राधिकरण अन्तर्गत २१६ मध्ये २१४ वटा सम्पन्न भएको छ।’ 

ज्ञवालीका अनुसार निजी आवासको पुन:निर्माणका लागि ८ लाख ११ हजार ८५४ लाभग्राहीहरूसँग अनुदान सम्झौता भएकोमा ७ लाख ५३ हजार १०४ जनाले सेवा पाइसकेका छन्।

६ हजारभन्दा बढी विद्यालय पुन:निर्माण

प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का अधिकृत यदुविक्रम थापाले अहिलेसम्म देशभर ६ हजार २५३ वटा विद्यालय पुन:निर्माण सम्पन्न भएको जानकारी दिए।

उनका अनुसार ती विद्यालयका ५४ हजार ५८४ कक्षा कोठामा क्षति पुगेको थियो। २१ हजार १६९ कक्षाकोठा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। ३ हजार ५५८ कक्षा कोठा बनिसकेका छन् भने १३ हजार ६५३ निर्माणाधीन छन्। 

उनले १ हजार ३०७ वटा विद्यालय निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए। 

बाँकी संरचना कहिले बन्छन ?

भूकम्प गएको ६ वर्ष बितिसक्दा पनि अझैसम्म क्षतिग्रस्त सम्पदा, सरकारी तथा निजी भवन र विद्यालय पुन:निर्माण हुन सकेको छैन।

कतिपय मन्दिरका पुराना ऐतिहासिक काठहरू मक्किसकेका छन् त कुनै सम्पदा अझै टेकोकै भरमा छ। तर, संरक्षण गरिएको छैन।

प्राधिकरण कार्यकारी अधिकारी ज्ञवालीले बाँकी सम्पदा र भवनहरू आर्थिक वर्षभित्र सम्पन्न गर्ने दाबी गरेका छन्‌।

‘भूकम्पपछि हामीले भूकम्प प्रतिरोधी ढंगले राम्रो र बलियो संरचना बनाएका छौं, यसै आर्थिक वर्षभित्र बाँकी आधारभूत संरचनाको पुन:निर्माण सक्ने योजना छ,’ उनले भने।

प्राधिकरणका एकाइ (शिक्षा) का प्रमुख रामशरण सापकोटाले पनि बाँकी विद्यालय पुन:निर्माणको काम यो वर्षभित्रै सम्पन्न गर्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.