|

काठमाडौं : विश्वभर पुनः कोरोना संक्रमण फैलिरहेको छ। हरेक दिन संक्रमणको नयाँ रेकर्ड कायम हुन थालेको छ। विश्वका शक्तिशाली देश पनि संक्रमणका कारण थला पर्न थालेका छन्। 

केही समय मत्थर भएको कोरोनाको लहर पुनः फैलिएपछि नेपालमा पनि यसको असर भयानक रूपमा देखिन थालिसकेको छ। दुई अंकमा सीमित संक्रमित संख्या हजारमा गनिन थालेका छन्। आज मात्रै संक्रमित संख्या २५ हजारमाथि उकालो लागेको छ। मृतक संख्या पनि ह्वात्तै बढ्न थालेको छ। 

कोरोना संक्रमणको पहिलो लहरपछि नेपालमा संक्रमण फेरि हुन सक्नेलाई ध्यानमा राखेर कुनै पनि पूर्वतयारी थालिएन।

अन्य देशको जस्तो संक्रमणको ठूलो असर देखा नपर्दा पनि सरकार यसप्रति चिन्तित भएन। तर फेरि पनि यही गतिमा संक्रमण चुलिँदै जाने हो भने नेपालको स्वास्थ्य प्रणालीले थेग्‍न सक्ला? यो प्रश्‍न हामीमाझ छ।

यसै विषयमा रहेर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा कृष्ण प्रसाद पौडेलसँग थाहाकर्मी सविना खनालले गरेको कुराकानी जस्ताको त्यस्तै :

दोस्रो लहर सुरु भएसँगै तीन वटा कुराले गर्दा गत वर्षको भन्दा यस पटक देखिएको संक्रमण जोखिमपूर्ण छ।

गत वर्ष संक्रमण सुरु हुँदा र संक्रमण उच्च विन्दुमा पुगेको असोज कात्तिकको समयसम्म हामी पूर्ण लकडाउनमा थियौँ। जसले मानिसमा एक आपसमा भेटघाट हुने सम्भावना कम थियो। जसले गर्दा मानिसहरूको धेरै मानिससँग सम्पर्क कम हुन्थ्यो। आपसमा संक्रमण फैलन सम्भावना धेरै कम थियो।

तर अहिले संक्रमण बढ्दै जाँदा अवस्था फरक छ। अहिले नयाँ भेरियन्ट देखिएको र संक्रमण बढ्दै गएको बेला पनि सबै क्षेत्र खुला छ। अझै हाम्रोमा सार्वजनिक यातायात,  होटल रेष्टुराँ खुला छ। सभा समारोह भइरहेको छ। यसले गर्दा संक्रमण झन् फैलँदो छ। अर्कोतर्फ सबैभन्दा महत्वपूर्ण कुरा जनस्वास्थ्यको मापदण्ड पालना धेरै कम भएको छ। जुन हाम्रो लागि धेरै दुर्भाग्यको कुरा हो। नयाँ भेरियन्ट समुदायसम्म  फैलनु जनस्वास्थ्यको मापदण्ड पालना कम हुनु हाम्रो लागि धेरै नै जोखिमपूर्ण कुरा हो।

जनस्वास्थ्य मापदण्डको पालना नगर्दा र संक्रमणको दर हेर्दै जादा भोलि हाम्रो स्वास्थ्य प्रणालीले नधान्ने हो कि भन्ने छ। संक्रमण बढ्दै जाँदा हाम्रो अर्को जोखिम भनेको पहिला संक्रमित भएकाहरूको समय ६ महिना बढी भइसकेको छ। यसले गर्दा  संक्रमणपछि उनीहरूको शरीरमा बन्ने एन्टिबडी पनि कम हुँदै गएको हुन्छ। र पुनः संक्रमण हुने सम्भावना धेरै हुन्छ। जुन हाम्रो लागि संक्रमण बढ्ने अर्को जोखिम छ।

अर्कोतर्फ भारतमा संक्रमण बढ्दै गएकाले हाम्रोमा जोखिम झनै बढ्दै गएको हो। हाम्रोमा हालसम्म युके भेरियन्टबाहेक अरु भेरियन्ट पुष्टि नभए पनि भारतमा नयाँ भेरियन्टसहित संक्रमित बढ्नु हाम्रो लागि जोखिम छ। भोलि हाम्रोमा त्यहाँ जस्तै संक्रमण बढ्दै गए हाम्रो संरचनाले नधान्न पनि सक्छ। जुन कुरा हाल हाम्रो केही ठाउँमा बढ्दै गएको संक्रमण दरले देखाउँछ।

अहिले बाँकेमा संक्रमण तीव्र बढेको छ। जसले गर्दा त्यहाँका स्थानीय तहले प्रतिबन्ध नै गरेको अवस्था छ। भोलि बाँकेमा संक्रमित बढ्दै गएको देख्दा त्यसरी नै अन्य ठाउँमा संक्रमण बढ्दै गए हाम्रो स्वास्थ्य प्रणालीले नै धान्दैन कि जस्तो त देखिएको छ। बाँके जस्तै अन्य केही ठाउँमा पनि आगमनसहित कडा प्रतिबन्ध गर्नुपर्ने अवस्था देखिएको छ।

अहिले खोप लगाउनु‍भएको धेरैमा अब संक्रमण हुँदैन भन्ने पाइएको छ। तर खोपले संक्रमण पछि हुने गम्भीर असर कम गर्ने हो। संक्रमण हुँदै नहुने भन्ने होइन। तर हाम्रो लागि राम्रो पक्ष भनेको हाम्रोमा समुदायस्तरमा पुगिसकेको युके भेरियन्टलाई खोप प्रभावकारी हुन्छ भन्ने अनुसन्धानले देखाएको छ। तर हाल भारतमा फैलिएको ब्राजिल र अफ्रिकी भेरियन्टलाई खोपले काम नगर्न सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.