यात्रीमोटरसाइकलको मूल्य १९ लाखभन्दा बढी

|

काठमाडौं :  असीम पाण्डे १९ वर्ष हुँदा एयर स्पेश इन्जिनियरिङ पढन नेदरल्याण्ड गए। पढाइ सँगसँगै काम गरेका उनले त्यहाँ ब्याचलर्स र मास्टर पनि सके। पढाई मात्र सकेनन् उनले साथमा पढाइसँगै सपना पनि लिएर उनी नेपाल फर्के ।

सपना देख्न निन्द्रामा हुनुपर्छ भन्ने मान्यतालाई असीमले विदेशमा रहँदा तोडिदिएका थिए। त्यहीँ सपनाले नेपालसम्म डोर्याएर आएका सफल उद्यमी बन्ने जमर्कोमा छन् उनी।

जुन बेला उनी काम गर्थे दैनिकजसो इलेक्ट्रिक साइकलको सहारामा अफिस जाने-आउने गर्थे। विदेशको सहारा नै स्वदेशमा आएपछि सबैको सहारा भएका छन् उनी। काठमाडौं जस्तो धुवाँ-धुलो भएको सहर र दिनप्रतिदिन इन्धनको मूल्यमा भइरहेको विद्युतीय सवारी साधनले केही राहत प्रदान गर्ने भएको छ।

जुन बेला अध्ययनका लागि उनले नेपाल छोड्दै थिए त्यस समयमा देशभर लोडसेडिङको समस्या थियो। सदाको लागि लोडसेडिङ नरहने उनलाई विश्वास थियो। अहिले मुलुकमा लोडसेडिङ छैन। विद्युतीय सवारीसाधनको लागि सम्भावनाका ढोका खुल्दै गएका छन्। लोडसेडिङको अन्त्य नै विद्युतीय सवारीसाधन उत्पादनको उपज माग्छन् उनी।

असीमले नेपालमा गएर इलेक्ट्रिक साइकल बनाइ सञ्चालन गर्ने सोच बनाएका थिए। नेदरल्यान्डका प्रधानमन्त्रीले साइकल प्रयोग गरी आफ्नो कार्यालय गएको उनले देखेका थिए। देशको सबैभन्दा ठूलो पदमा रहेका व्यक्ति साइकलमा कार्यालय आउजाउ गरेको देखेपछि साइकल बनाई चलाउने सोच आएको उनी बताउँछन्।

तिनै असीम यतिखेर यात्री मोटरसाइकल फाउन्डरको रुपमा परिचित छ। साइकल बनाउँछु भनी आएका उनी अहिले विद्युतीय मोटरसाइकल बनाइसकेर बिक्री गर्ने ध्याउन्नमा छन्। दैनिक जसो मोटरसाइकल बुकिङका लागि विभिन्न माध्यमबाट सम्पर्क गरिरहेको उनी बताउँछन्।

पहिलो मोटरसाइकलको अनुभवले दोस्रो बन्यो

असीमको टिमले सन २०१७ मा पहिलोपटक 'पि-शून्य' मोडलको यात्री नामक मोटरसाइकल बनाएका थिए। गत वर्ष लकडाउन नभएको भए पि-शुन्य मोटरसाइकल सार्वजनिक भइसक्थ्यो।

कोरोना महामारीको कारण भएको लकडाउनले धेरैको पदचाप तातो सडकमा बजारियो। जो कयौं घण्टा लगाएर बासस्थान पुग्न बाध्य भएका थिए। तर असीमका लागि लकडाउन भने अवसर बन्यो। लकडाउनकै समयमा उनले नयाँ 'पि-वान' मोडलको अर्को मोटरसाइकल निर्माण गरे। उनले भने, 'अरूका लागि लकडाउन कहर बन्यो, मेरो लागि अवसर बनी दोस्रो यात्री बनाएँ।'

पि-वान को सुरुवाती असीमका लागि पहिलो खुड्किलोजस्तै पि-शून्यले गरेको थियो। पहिलो मोटरसाइकलको अनुभवले दोस्रो यात्री बनाउन सफल भएको उनी सुनाउँछन्।

नेपालमा ठूला-ठूला उद्योग नहुँदा भने उनलाई मोटरसाइकलका पार्टस् पाउन समस्या भएको छ। मोटरसाइकलमा लाग्ने पार्टपुर्जा सबै नेपालमा नपाइने नहुँदा समयमा मोटरसाइकल तयार गर्न नसक्ने पीडाले सताउने गरेको छ उनलाई।

'मोटरसाइकलमा लाग्ने विद्युतीय ब्याट्री, तार यतै तयार गरेर लगाउने गरेका छौं,' असीम भन्छन्, 'हामीसँग पर्याप्त मात्रामा इन्जिनियरहरू छन्। मोटरसाइकलका लागि रिसर्च गरी एनालाईसिस गर्ने टिम पनि छुट्टै छन्।'

स्वदेशमा ठूला-ठूला उद्योग नहुँदा विदेशको भर

असीमले मोटरसाइकलमा लाग्ने प्राविधिक पार्टसहरू नेपालमा नपाइने हुनाले विदेशबाट आयात गरेर निर्माण गर्ने गरेका छन्। मोटरसाइकलमा लाग्ने टायर सबै विदेशबाट आयात गर्ने गरेको उनले सुनाए। स्वदेशमा ठूला-ठूला उद्योग स्थापना हुने हो भने बाहिरबाट सामग्री आयात गर्ने झन्झटबाट मुक्त हुने उनी बताउँछन्।

यात्री मोटरसाइकल नाम कसरी छनौट गर्नुभयो भन्ने प्रश्नमा असीम भन्छन्,' नाम सोच्न धेरै समय लागेन। पाँच मिनेट लाग्यो। सडक र यात्रा सम्झें। त्यसैबाट झट्ट मनमा यात्री आयो। यहीँ नाम सबैभन्दा राम्रो जस्तो लाग्यो र यसैलाई निरन्तरता दिइरहेको छु।'

यात्री मोटरसाइकलले अहिलेसम्म २ वटा बनाइसक्दा बजारमा बिक्री गरेको छैन। खरिदका ग्राहकले अनलाइनबाट पेमेन्ट र बुकिङ गर्न सक्ने छन्। भर्चुअल माध्यमबाट मोटरसाइकलको बजार मूल्य सार्वजनिक गरेका छन्। पि-शून्यको १९ लाख ४९ हजार र पि-वानको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ।

प्रि अर्डरमा पि-शून्य ५० वटा तयार गर्न सकिने उनी सुनाउँछन्। 'खल्ती ' एप बाट १० हजार डिपोजिट गरी अग्रिम बुकिङ गर्न सकिन्छ र तीन महिना भित्र ग्राहकले मोटरसाइकल पाउन सक्छन्।

पि-शुन्य मोटरसाइकललाई २ घण्टा फुल चार्ज गर्दा २ सय ३० किमी दूरी पार्न गर्ने र पि-वानलाई ३ घण्टा चार्ज गर्दा १ सय १० किमी सम्मको दूरी पार गर्ने उनले जानकारी दिए। पि-वान मोटरसाइकल अफ रोडमा कुदाउन सकिने र पि-शून्य पक्की सडकमा कुदाउन सकिन्छ।

'मोटरसाइकल निर्माण मात्र अन्तिम उदेश्य होइन'

मोटरसाइकल निर्माण मात्र अन्तिम उदेश्य नभएको उनले सुनाए। निकट भविष्यमा साइकल र चारपाङ्ग्रे सवारीसाधन बनाउने योजना रहेको असीम बताउँछन्।

बहुराष्ट्रिय कम्पनी बन्न खोजेकाहरूले साना-साना कम्पनीलाई सहयोग गरेको विदेशमा बस्दा उनले सुनेका थिए। नेपालमा आएपछि बाहिर बस्दा जे सुनेका थिए त्यसको ठिकविपरीत रहेको महसुस गरेका छन्। स्टार्ट अप बिजनेस गर्नलाई यहाँ अहिले भरपर्दो वातावरण बनिनसकेको उनले महसुस गरेका छन्।

नयाँ-नयाँ कम्पनीलाई सुरुवातीमा स्थापित हुन गाह्रो रहेको उनले बताए। सरकारी तहबाट सहयोग भए पनि नयाँ-नयाँ उद्यमशीलतालाई प्रोत्साहन गर्नुपर्छ भन्ने सोच विकास नभएको उनलाई लाग्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.