स्थानीय प्रहरी रमिते, जिल्लाबाट खटिएकाले सरसामान समात्दै

|

झापा : स्थानीय प्रहरीकै मिलेमतोमा सीमा नाकाबाट सरसामान अवैध रुपमा भन्सार छलेर नेपाल भित्र्याउने र भारत निकासी हुने गरेको पाइएको छ।

दोस्रो लहरको कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गृहदेखि स्थानीय प्रशासनसम्मले सीमा नाकामा कडाइ गर्न सीमामा तैनाथ सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ। तर, सो निर्देशनविपरीत नाकामा तैनाथ प्रहरीले सीमा कडाइ गर्न छाडेर अवैध कारोबारलाई प्रोत्साहन दिइरहेको पाइएको छ।

स्थानीय प्रहरीले सरसामान बरामद गर्न छाडेपछि जिल्लाबाट खटिएका सादा पोसाकका सशस्त्र र नेपाल प्रहरीले दैनिक सरसामान बरामद गर्न थालेपछि यस्तो पाइएको हो।

प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोसाकका प्रहरी टोलीले गत सोमबार राति भद्रपुर–३ स्थित १०३/३ नजिकैको सीमा पिलर नजिकैबाट डेढ लाख मूल्य बराबरको मोटरपार्टस बरामद गरेको छ। 

दुई वटा साइकलमा कार्टुन र बोरामा प्याक गरेर नेपाल भित्र्याइएको ट्याक्टरको पार्टस् बरामद गरेको प्रहरी कार्यालय झापाले जनाएको छ।  प्रहरीले बरामद गरेको सामान भद्रपुर भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ।

सो सामान भारतीय कारोबारी ओकिल मियाँले भद्रपुरका कारोबारी यमका लागि भन्सार छलेर ल्याएको प्रहरी स्रोतको दाबी छ। प्रहरीले यसअघि पनि सोही नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको ८ पोका लत्ताकपडा बरामद गरेको थियो।

भद्रपुर भन्सारभित्रै पटक पटक कर्मचारीसँग लेनदेनको विषयमा लफडा हुन थालेपछि कारोबारीले भन्सार भित्र्याउने लत्ताकपडा चोरी निकासीको बाटो प्रयोग गरी ल्याउन कारोबारी खोज्ने र त्यही कारोबारीमार्फत कपडा भित्र्याउँदै आइरहेका छन्। 

सोही मौकामा कारोबारीले भित्र्याइएको कुर्थी र कुर्तालगायत लत्ताकपडा प्रहरीले भद्रपुर–३ स्थित झोलुंगे पुल नजिकैबाट बरामद गरेको थियो। त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाबाट खटिएका सादा पोसाकको टोलीले बिहीबार राति भद्रपुर–३ स्थित किचकबध नाकाबाट ३५ कार्टुन स्याउ बरामद गरेको छ।

१०५/२ नम्बरको पिलर नजिकैबाट चोरी निकासीको बाटो प्रयोग गरी भारत लैजान लाग्दा सशस्त्रका सादा पोसाकको टोली करिब ४४ हजार मूल्य बराबरको स्याउ बरामद गरेको हो। बरामद गरिएको स्याउ जुटको बोरामा प्याक गरिएको थियो। त्यसलाई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार बुझाइसकेको जनाइएको छ। 

सादा पोसाकका सशस्त्र र नेपाल प्रहरीले सो नाकाबाट पटक–पटक सामान बरामद गर्दा समेत स्थानीय प्रहरी रमिते बनेको छ। त्यस नाकामा एउटा सशस्त्रको बिओपी र तीन वटा प्रहरी चौकी छ।

कसको जिम्मेवारी कहाँ?

महेशपुर प्रहरी चौकी इन्चार्ज असई भूपराज अधिकारी, मेचीपारि प्रहरी चौकी इन्चार्ज प्रेम श्रेष्ठ, किचकबध प्रहरी चौकीका इन्चार्ज असई महादेव ठाकुर र सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट महेशपुरका इन्चार्ज सई युवराज राउतको जिम्मेवारी हो।

प्रहरी चौकी मेचीपारि र महेशपुर वडा प्रहरी कार्यालय भद्रपुर अन्तरगत पर्छ। वडाका इन्चार्ज प्रहरी निरीक्षक डम्बर पुरी हुन्। 

किचकवध प्रहरी चौकी सीमा प्रहरी चौकी पृथ्वीनगर अन्तरगत पर्छ। पृथ्वीनगरका इन्चार्ज सई रत्न श्रेष्ठ हुन्।  महेशपुर बिओपी पृथ्वीनगर बिओपी अन्तरगत पर्छ।

पृथ्वीनगर बिओपीका इन्चार्ज प्रहरी निरीक्षक अशोक न्यौपाने हो। उनी चन्द्रगढीका स्थानीय बासिन्दा हुन। सो चौकी र बिओपीले सीमा पिलर १०३ देखि १०५ सम्म हेर्न गरेको छ। सोही नाकाबाट अहिले धमाधम सरसामान भित्रिएसँगै दुवै देशका नागरिक आवतजावत गरिरहेका छन्।

यति हुँदाहुँदै सो नाकाबाट सरसामान भन्सार छलेर भित्र्याउनु र भारत लैजानुमा स्थानीय प्रहरीको मिलेमतो प्रस्ट देखिन्छ। सामान बोकेर आउँदै गरेका एक भारतीय कारोबारीले भने, ‘यताका सशस्त्र र नेपाल प्रहरीसँग कुनै टेन्सन छैन, यिनीहरू सबैलाई मिलाएका छौँ, जिल्लाबाट आउने सशस्त्र र प्रहरीसँग मात्र डर हो।’ 

यता भद्रपुर–३ स्थित १०२/३ नम्बर सीमा पिलरबाट पनि दैनिक रुपमा साइकलका साइकल खाद्यान्न, चिनी, दाल, तेल, घरायसी सामान, मोटरपार्टस, भाडा वर्तन, कस्मेटिक सरसामान भन्सार छलेर भित्रिरहेको छ।

भद्रपुरको डाँगीवारि–गलगलियाको भक्सरभिट्टा नाकाबाट रातदिन दर्जनौँ साइकलमा ती सामान भद्रपुर बजारसम्म ल्याउने गरिन्छ। साइकल व्यापारीले त्यसबापत स्थानीय प्रहरीलाई प्रतिसाइकल गनेर रकम बुझाउने गरेका स्थानीय एक कारोबारीले बताए।  

उता प्रहरी कार्यालय झापाबाट खटिएका सादा पोसाकको प्रहरी टोली कचनकवल–१ स्थित केचना नाकाबाट भन्सार छलेर ल्याइएको दुई लाख बढीको सामान गत मङ्गलवार बरामद गरेको छ। बरामद गरिएको सामानमा खानेपानी पाइप, मोटरपार्टस, खाद्यान्न, सुर्ती लगायतको सामान रहेको प्रहरीले जनाएको छ। प्रहरीले सामानसहित दुई वटा साइकल र बिआर ३७इ०२७७ नम्बरको भारतीय मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। 

यता सशस्त्र प्रहरीको जनशक्ति कम भएका कारण सरसामान अवैध तरिकाले पास हुन सक्ने सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण हेट क्वार्टर झापाका एसपी रमेश कुमार पाण्डेले बताए।

स्थानीय प्रहरी हुँदाहुँदै जिल्लाबाट खटिएको टोलीले सामान बरामद गरेपछि प्रहरी कर्मचारीमाथि शंका उत्पन्न भएको उनको भनाइ छ। ‘कुनै सशस्त्र प्रहरी कर्मचारी कारोबारीसँग मिलेको प्रमाणित भए तुरुन्त कारबाहीको दायरामा ल्याउँछु, उनले भने। कोरोना सङ्क्रमणलाई लक्षित गरी सीमा नाका कडाइ गर्नुपर्ने भनी सबै युनिटका इन्चार्जलाई निर्देशन दिइसकेको उनको भनाइ छ।

त्यस्तै प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले १४४/२ किलोमिटर खुला सीमा रहेकोले तस्करी गतिविधि रोक्न प्रहरीलाई समस्या भइरहेको बताए।

सीमा नजिकै रहेका प्रहरी चौकीहरूले त्यहाँका सबै काम गर्नुपर्ने भएकाले जिल्लाबाट सरसामान समात्न सादा पोसाकमा प्रहरी परिचालन गर्दै आइरहेको उनले बताए। भने, ‘स्थानीय प्रहरीको कहीँ कतै मिलेमतो भएको पाइएमा कारबाही गर्छौँ। कोरोना संक्रमण बढी रहेकोले सीमा नाकाबाट हुने खुलमखुला आवतजावत रोक्न प्रहरी इञ्चार्जहरूलाई निर्देशन दिइसकेका छौँ, खुला सीमा भएकोले आवतजावत रोकथाम गर्न प्रहरीलाई चुनौती थपिएको छ।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.