|

चितवन : भरतपुर महानगरपालिका–१ ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्न त्रिशुली नदीमाथि निर्माण गरिएको पुल आइतबार दोस्रो पटक भत्किएको छ।

पुलको एक खण्डमा राखिएको फलामको ट्रस नदीमा खसेको हो। ट्रसलाई सन्तुलनमा राख्न कामदारले नटबल्टको काम गर्दा ट्रस अचानक नदीमा खसेको हो।

पुलको काम गर्न १४ जना कामदार फिल्डमा थिए। ३ जना कामदार देवघाटतर्फको कंक्रिट ढलानमा भएकाले उनीहरु भागेर बाँच्न सफल भए। ११ जना त्रिशुली नदीमा खसे।

ट्रसलाई बाँधेको केबल तार चुडेपछि ट्रससँगै कामदार नदीमा खसेका चितवन मेडिकल कलेज (सिएमसी)मा उपचाररत धीरज पटेलले बताए। 

‘तार चुडेपछि ट्रस खसेको हो’, उनले भने, ‘हामीले नटबल्ट कसेर ट्रसलाई लेबलमा ल्याउँदै थियौँ। तारले नथामेपछि अचानक ट्रससँगै पानीमा खस्यौँ।’ पानीमा खसेपछि आफै पौडिएर बाहिर निस्किएको उनले बताए। उनका अनुसार नटबल्टको काम गरेका सबै कामदारले सेफ्टी बेल्ट लगाएका थिए। उनको हात र टाउकाको विभिन्न भागमा चोट लागेको छ। 

गएको चैत २४ गते यस पुलको ८० मिटर कंक्रिट ढलान भत्किएको थियो। पुलको जम्मा लम्बाइ २२० मिटर र चौडाइ ८.५ मिटर छ। पुल भत्किएपछि त्यसको अध्ययन गरेर प्रतिवेदन तयार गर्न सडक विभागले प्राविधिक टिम बनाएको थियो।

एक हप्ताभित्र प्रतिवेदन बुझाउने भनिए पनि अहिलेसम्म प्रतिवेदन नआएको सडक डिभिजन भरतपुरले बताएको छ। यसअघि के कारणले भत्किएको भनेर यकिन नहुँदै पुनः काम थाल्दा कामदारको मृत्यु हुने गरी पुल भत्किएको हो। दुई जना कामदार त्रिशुली नदीमा खसेर बेपत्ता भएका छन्।

चार वटा स्पान रहेको २२० मिटर लामो पुलको एक खण्डमा फलामको ट्रस हालिएको थियो। ट्रसले स्पानहरुलाई राम्रोसँग समाइसकेको थिएन। यसअघि पनि पुल भत्किएपछि ट्रसको सन्तुलन बिग्रिएको थियो। पुलको फलामको ट्रसलाई कामदारहरुले सन्तुलन मिलाउने क्रममा ट्रस खसेको हो।

ट्रसलाई दुईतिरको स्पानमा स्टेट टावर बनाएर केबल तारले बाँधिएको थियो। ठिमुरातर्फको केबल तार यसअघि भत्किएको कंक्रिट ढलानको भरमा अडिएको थियो। ट्रसको नटबल्ट कसेर त्यसलाई सन्तुलनमा राखेपछि एकापट्टि भुइमा छोएको कंक्रिट ढलान हटाउने सडक डिभिजन भरतपुरको योजना थियो। 

सडक डिभिजन भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनालले प्रकृयागत त्रुटिका कारण ट्रस खसेको हुनसक्ने बताउँछन्। ‘ट्रसलाई बलियो बनाउन र सन्तुलनमा राख्न बटन कर्डको नटबल्ट कस्नु नै पर्ने थियो’, उनी भन्छन्, ‘स्टेट टावरमा बाँधेको केबलले धान्छ भन्ने अनुमान हाम्रो थियो, तर प्रकृयागत त्रुटिका कारण घटना भएको हुनसक्ने हाम्रो अनुमान छ।’
बेपत्ताको खोजि कार्य जारी
ट्रस खस्दा ट्रसको नटबल्ट कसिरहेका ११ जना कामदारहरु त्रिशुलि नदीमा खसेका हुन्। सबै कामदारहरु भारतीय नागरिक हुन्। तीमध्ये एक जनाको मृत्यु भएको छ भने दुई जना कामदार नदीमा बेपत्ता भएका छन्। घाइते ८ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। 

मृत्यु हुनेमा भारत वेतिया बस्ने ४३ बर्षीय विजय यादव छन्। नदीमा खसेका यादवको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको हो। सोही ठाउँका २५ वर्षीय धीरज पटेल, ३४ वर्षीय मुन्ना चौधरी मलाहा, ३५ वर्षीय सञ्जय शर्मा, १९ वर्षीय राजकुमार यादव, ३३ वर्षीय सन्तोष महतो, ३६ वर्षीय सुरेन्द्र राम, २३ वर्षीय अशोक महतो र ४३ वर्षीय अख्लु राय घाइते भएका छन्।

सुजित माझी र श्यामबाबु पाठक नदीमा बेपत्ता छन्। बेपत्ता भएकालाई नेपाली सेना र सशस्त्र प्रहरीको गोताखोरले आइतबार दिनभर खोजी गर्दा पनि फेला नपरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए।

बेपत्ताहरूलाई नदीले बगाएको हुन सक्ने भन्दै प्रहरीले नदीको तल्लो क्षेत्रमा निगरानी गरिराखेको उनले बताए। उनीहरुलाई गोताखोरले सोमबार पुनः खोजी गर्ने उनको भनाइ छ। 

इलाइट–एडभेन्चर–इन्द्रेणी जेभीले २०७१ कार्तिक २० गते पुल निर्माणको जिम्मा पाएको हो। सुरुमा १९ करोड १० लाख ६६ हजार रुपैयाँ लागतमा सम्झौता भएको पुलको पछि डिजाइन ‘रिभ्यु’ गरेर २१ करोड ६८ लाख ८४ रुपैयाँ पुर्‍याएको थियो। चार पटकसम्म म्याद थप भएको पुलको भौतिक प्रगति ७५ प्रतिशत हुँदा गएको चैत २४ गते भत्किएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.