|

विराटनगर : कोभिड–१९ महामारी रोकथाम तथा न्यूनिकरणका लागि सरकारले गत चैत्र ११ गते बन्दाबन्दीको घोषणा गरेसँगै थलिएको रानीनाकाका अधिकांश पसल अझै उठ्न सकेका छैनन्।

समान्य अवस्थामा  पसलमा आउने ग्राहकको भीडले बोल्नसमेत फुर्सद नहुने विराटनगरस्थित रानीनाकाका व्यापारी दिनभर पसल खोलेर ग्राहक कुरेर बस्छन्। 

अधिकांश भारतीय नागरिकको भरमा थेगिएको रानीनाकाका व्यवसाय डेढ वर्षदेखि ठप्पजस्तै छ। पछिल्लो समय मानिसको आवतजावत निकै कम हुन थालेको छ। 

दैनिक २५ सय देखि ४ हजार रुपैयाँसम्मको कारोबार गत चैत्र ११ देखि दिनमा २ सय रुपैयाँमा झरेको विराटनगर रानी–१६ की होटल व्यवसायी विष्णुमाया श्रेष्ठ बताउछिन्।

खाजा नास्ता खान अधिकांश भारतीय नागरिक आउने गरे पनि कोरोना संक्रमण फैलिएपछि र सीमामा लगाइएको रोकका कारण उनीजस्ता धेरैको व्यापार उठ्न सकेको छैन। भन्छिन्, ‘नियमित ग्राहक नै पारि (भारत) का थिए, नाका बन्द भए पछि मान्छे नै आउन छोडे।’

आफ्नै घरमा पसल भएकाले उनलाई घरभाडा तिर्न नपर्ने हुँदा सहज छ। तर व्यापार नहुँदा छोराछोरी पढाउन सकस हुन थालेको उनी बताउँछिन्।

त्यस्तै विराटनगर रानी–१६ नम्बरको तेश्रो ढाटमा २५ वर्षदेखि व्यवसाय गर्दै आएका मुन्ना स्टोरका चन्द्रराम दिनभर पसल खोलेर घर फर्कने मात्रै काम भएको बताउँछन्। लकडाउन सुरु भएसँगै व्यापारमा डेढ वर्षदेखि परिवार, घरखर्च चलाउने चिन्ता लागेको उनले बताए। 

‘अधिकांश भारतबाट आँखा उपचारका लागि आउने भारतीय नागरिक थिए, हाम्रा ग्राहक’, उनले भने, ‘कोरोना महामारीका कारण नाका बन्द भएपछि आउन छाडे, पसल पनि सुनसान भयो।’

विराटनगर रानी–१५ कै हाजी स्टोरका सञ्चालक मुहम्मद रहिस पनि १५ वर्षदेखि सोही स्थानमा व्यवसाय गर्दै आइरहेका छन्। व्यवसायिक यात्राको लामो समयमा लकडाउन साथमा व्यापार ठप्प भएको पहिलो अनुभव उनीसँग छ। 

‘पहिले, पहिले बन्द हड्तालको समयमा २ घण्टा पसल खोल्दा मनग्य व्यापार हुन्थ्यो,’ उनले भने ‘तर यो कोराना भाइरसको कारण लामो समयको लकडाउन र व्यवसाय नै बन्द भएको  पहिलो अनुभव हो।’

सीमा नाका बन्द भएसँगै भारतीय नागरिक नेपाल प्रवेश गर्न छोडेदेखि सिटी सफारीसमेत पसलको बाटो भएर निकै कम मात्र हिँड्छन्। व्यवसाय ठप्प भए पनि घरधनीले भाडा नलिएकाले केही राहत भने मिलेको उनको भनाइ थियो। 

सोही स्थानका कतिपय व्यवसायी भाडा तिर्न नसकेर व्यवसाय  नै त्यागेर विस्थापितसमेत भएको स्थानीय व्यवसायीहरु बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.