विराटनगर : रानी सीमानाकामा कडाई गर्दै विराटनगर महानगरपालिकाले ‘एन्टिजेन परीक्षण’ सुरू गरेको छ। पछिल्लो समय भारतमा कोरोना संक्रमण दर बढेसँगै नेपालमा पनि जोखिम बढ्ने खतारा न्यूनिकरणका लागि भारतबाट नेपाल प्रवेश गर्ने शंकास्पद नागरिकलाई लक्षित गर्दै महानगरले नाकामा ‘एन्टिजेन परीक्षण’ सुरू गरेको हो।
भारतको महामारी फैलिएको क्षेत्रबाट नेपाल भित्रिने नागरिकलाई एन्टिजेन परीक्षण अनिवार्य गरिएको महानगरले जनाएको छ। महानगरले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकको व्यक्तिगत विवरण संकलन गरिसकेपछि उनीहरुको हेल्थ स्क्रिनिङ र ट्राभल हिस्ट्रिको आधारमा एन्टिजेन परीक्षण गर्ने गरेको छ।
महानगरले दैनिक २५ देखि ३५ जनासम्मको एन्टिजेन परीक्षण गर्दै आएको छ। एन्टिजेन परीक्षण दिएको १५ मिनेट भित्र नतिजा प्राप्त हुने महानगरका मेडिकल अफिसर डा. कमलकिशोर यादवले जानकारी दिए। उनले एन्टिजेन पोजिटिभ देखिएका व्यक्तिलाई तत्कालै सम्बन्धित व्यक्तिको स्थानीय तहको समन्वयमा १४ दिने होम क्वारेन्टाइनमा पठाउने व्यवस्था गरिएको जानकारी दिए।
‘हामीले संक्रमित देखिएका नेपाली नागरिकलाई सम्बन्धित पालिकामै पठाउँछौं’ उनले भने, ‘भारतीय नागरिकलाई आफ्नै देश फर्काउँछौं।’ विराटनगर–१६ स्थित रानी नाकामा विश्व स्वास्थ्य सङ्गठनले निमार्ण गरिदिएको अस्थायी टहरा मार्फत महानगरले जोगबनी नाका हुँदै नेपाल भित्रिएका एक सय ३० जनाको एन्टिजेन परीक्षण गरिसकेको छ।
जसमध्ये १० नेपाली र एक भारतीयसहित ११ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये १० नेपालीलाई महानगरले सम्बन्धित स्थानीय तहमै पठाएको छ भने १ भारतीय नागरिकलाई उनकै देश फर्काएको महानगरले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।