अभिभावक भन्छन्‌ : छोराछोरीलाई केही भए को जिम्मेवार ?

|

काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर उच्च छ। अब काठमाडौंको अवस्था भयावह हुने चेतावनी विज्ञहरूले दिइरहेका छन्।

सरकारले वैशाख ६ गतेबाट बढी प्रभावित काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ लगायत १४ जिल्लाका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरिसकेको छ। ती विद्यालयमा वैकल्पिक माध्यामबाट पठनपाठन चलाउन सरकारले भनेको छ।

तर, उपत्यकाका केही विद्यालयले नियम उल्लंघन गर्दै परीक्षा लिने निहुँमा विद्यालय सञ्चालन गरिरहेका छन्। अहिले पनि सडकमा विद्यालय पोशाक लगाएका विद्यार्थीहरू विद्यालय गइरहेका देखिन्छन्‌।

खोप लगाएका मानिसले समेत थेग्न नसक्ने ​कडा खालको उत्परिवर्तित भाइरस फैलिएका बेला विद्यालयहरूले गरेको हेल्चेक्य्राइँले गम्भीर परिणाम निस्कन सक्ने भन्दै अभिभावकहरू नै चिन्तित बनेका छन्‌। 

नगरपालिका भन्छ : परीक्षा सकिएपछि विद्यालय बन्द हुन्छ 

सरकारले विद्यालय सञ्चालन र अनुगमन गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ।

तर, स्थानीय तहले नै विद्यालय सञ्चालन गर्न विद्यालयलाई अनुमति दिइरहेको पाइएको छ।

यता, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले सरकारको निर्णय अनुसार सबै तहका परीक्षा स्थगित गर्न सबै विद्यालयलाई निर्देशन दिइसकेको दाबी गरेको छ। तर, परीक्षा रोकिएको छैन। 

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगानाले कक्षा–८ को परीक्षा जारी भएकोले विद्यालय बन्द नगरिएको तर्क गरे।

‘अहिले परीक्षा भइरहेकोले विद्यालय बन्द नगरिएको हो, ’उनले भने, ‘पूर्ण रूपमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन गरिएको छ, एक साताभित्र परीक्षा सकिन्छ, अनि बन्द हुन्छ।’

उनले अनलाइनबाट परीक्षा दिन नसक्ने विद्यार्थीहरूलाई मात्रै भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरेको सुनाए। 

विद्यालय तत्काल बन्द गर्न अभिभावकको माग 

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले परीक्षाका नाममा सञ्चालन भएका विद्यालय तत्काल बन्द गर्नुपर्ने माग गरे।

‘सरकारले नै विद्यालय बन्द गर्नु निर्देश गर्दा पनि निजी विद्यालय सञ्‍चालकले अटेरी गरिरहेका छन्‌,  परीक्षाका नाममा विद्यालय सञ्चालन गरिरहेका छन, ’ भण्डारीले भने, ‘मैले पनि कतिपय विद्यालय सञ्चालन गरेको देखिरहेको छु, भोलि हाम्रा छोराछोरीलाई केही भए यसको जिम्मेवार को बन्छ? अटेर गर्ने विद्यालयलाई सरकारले अनुगमन गरी कानुनी कारबाही गरिहालोस्‌।’

उनका अनुसार उपत्यकाभित्र एक दर्जन निजी विद्यालय अहिले पनि सञ्चालनमा छन्। तर, स्थानीय निकायले ती विद्यालयमा पठनपाठन रोक्न केही एक्सन लिएको छैन।

‘कोरोना बढेको बढ्यै छ, तर विद्यालयका सञ्चालकहरू किन अटेरी भइरहेका छन्‌? हामीले विरोध गरी केही विद्यालय त बन्द भैसक्यो, ’ आक्रोशित हुँदै उनले भने।

‘अनुगमन गरिरहेका छौं, लुकीछिपी विद्यालय सञ्चालन गर्नेलाई कारबाही हुन्छ’

काठमाडौं महानगरपालिका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले अनुगमन गरिरहेको दाबी गर्दै पठनपाठन सञ्चालन लुकिछिपी गर्ने विद्यालयलाई कारबाही गर्नै बताए।

उनले भने, ‘विद्यालय सञ्चालन गर्न पाइँदैन, सूचना पनि जारी गरेका छौं, केहीले लुकिछिपी विद्यालय सञ्चालन गरिरहेको होलान्‌, ती विद्यालयलाई कारबाही गर्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.