पहिल्यैझैं सीमामा आवतजावत

|

सर्लाही : छिमेकी मुलुक भारतमा दोस्रो लहरको कोरोनाले दैनिक लाखाैंमा संक्रमित भेटिरहँदा सर्लाही सीमालगायत अन्य ठाउँमा भने कुनै किसिमको सतर्कता अपनाइएको देखिँदैन। 

सर्लाहीका सीमावर्ती स्थानमा पहिल्यैझैं सर्वसाधारण आवतजावत गरिरहेका छन्। दैनिक रुपमा ठूलो संख्यामा हुने आवतजावतले कोरोना जोखिम बढाउँदै लगेको छ। 

गएको शनिबार जिल्ला प्रशासन कार्यालय सर्लाहीको जारी सूचनामा विद्यालय, कार्यालय, र हाटबजारमा भीडभाड नगर्ने, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कने, निस्कनुपरे मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने उल्लेख छ। तर यसतर्फ भने सर्वसाधारणले कुनै चासो दिएका छैनन्। 

सधैंजसो भीडभाड हुने जिल्ला सदरमुकाम मलंगवा, बरहथवा, लालबन्दी, हरिवन, ईश्वरपुर, गोडैतालगायत हाट बजारमा अहिले पनि कुनै किसिमको सतर्कता अपनाइएको पाइँदैन।

नेपालबाट रोजगारीका लागि भारत गएकाहरु घर फर्किने क्रम बढ्दो छ। सामान किनमेल गर्न सीमा क्षेत्रमा बसोबास गर्नेहरू पारि जाँदा सरोकारवाला निकाय मौन देखिन्छ। तर यसले संक्रमण बढाएको नागरिक अगुवा उग्रकान्त झाको गुनासो छ। 

जोखिम बढ्दै गएपछि यसको नियन्त्रण गर्न सुरक्षा सतर्कता बढाउँदै जाने सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताए। एक्कासि सीमा नाका बन्द गर्दा यसले त्यस क्षेत्रमा बसोबास गर्ने नागरिकमा निराशा छाउने उनको भनाइ छ। 

त्यसैले क्रमिक रुपमा सीमा नाकामा कडाइ गरिँदै लैजाने उनको भनाइ छ। नेपालबाट भारततर्फ जानेलाई निरुत्साहित पार्ने प्रजिअ तामाङले बताए। भारतमा रोजगारी होस या अन्य कुनै कारणले भारतमा रहेका नेपाली आउन सहज होस् भनेर सदरमुकाम मलंगवामा एकीकृत स्वास्थ्य जाँच केन्द्र रहेको र त्यही भएर नेपाल प्रवेश गर्न आफूहरूले आग्रह गरेको प्रजिअ तामाङको कथन छ। 

कोरोना संक्रमणको दास्रो लहर सुरु भएपछि सर्लाहीमा दुई जनाको मृत्यु हुँदा समेत जिल्लावासी सचेत हुन सकेका छैनन्। कोरोनाबाट संक्रमितको मृत्यु भइसक्दा समेत संक्रमितको सम्पर्कमा रहेकाको समेत कोरोना चेकजाँच हुन सकेको छैन।

जसले गर्दा जिल्लामा संक्रमण झन् फैलिने देखिन्छ।.सर्लाहीमा हालसम्म भीडभाड कम गर्नेतर्फ कसैको पनि ध्यान गएको देखिँदैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.