|

दाङ :  गत असोजमा ५ प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ तोकिएपछि देउखुरीका नागरिकहरू धेरै खुशी भएका थिए।

विभिन्न कारणले पछाडि परेको र त्यसमा पनि भालुवाङ क्षेत्र नै ऐलानी भएकाले खासै विकास भएको थिएन। स्थायी राजधानी तोकिएसँगै भालुवाङ क्षेत्रले मुहार फेर्न लागेको स्थानीयहरूको भनाइ छ।

यता, लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणले प्रदेशको स्थायी राजधानीको गुरुयोजना निर्माणसँगै प्रदेश सरकारले अगाडी सारेका अन्य संरचनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम गरिरहेको छ।

अहिले देउखुरी क्षेत्रमा विस्तारै विकास निर्माणले गति लिन थालेको स्थानीय अंशु बोहराले बताइन्। उनले भनिन्, ‘राजधानी आएसँगै धेरै विकास निर्माणका काम भइरहेका छन्। सडकदेखि मन्त्रालय सम्मको लागि संरचनाहरू बन्न लागेका छन्। जुन पहिलेको तुलनामा धेरै विकास हुन लागेको हो। विकाससँगै यहाँका बेरोजगार युवाहरूले समेत रोजगारी पाएका छन्। यस्तै विकास भएमा करिब ५ वर्षमै देउखुरीको मुहार परिर्वतन हुन्छ होला!’

अर्का स्थानीयबासी वीरेन्द्र गिरीले देउखुरी क्षेत्रमा ओझेलमा परेका ठाउँहरू राजधानी आएसँगै बाहिर आइरहेको बताए। जसले गर्दा देउखुरीबासीहरूलाई खुशीको महशुस भएको उनको भनाइ छ।

अहिले जसरी विकास निर्माणका कार्य भएका छन्, ती पहिला नहुँदा यो क्षेत्र पछाडि परेको समेत उनले बताए। ‘हामी देउखुरी बासीमा समेत अन्यौलता थियो। प्रदेशको राजधानी कहाँ हुन्छ भनेर,’ उनले भने, ‘तर, राजधानी आएपछि यहाँको अवस्था त्यस्तै हुन्छ कि भन्ने पनि लागेको थियो। तर, अहिले हुन लागेको विकासले त्यो सबै हटाएको छ। हामी सबैलाई सकारात्मक सन्देश दिएको छ।’

यहाँका व्यवसायीहरू समेत खुशी भएका छन्। राजधानी व्यवस्थापन तथा विकास निर्माणका कामले गति लिँदा व्यवसायीलाई पनि फाइदा हुने राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष सुरज खड्काले बताए। त्यस्तै, उनले अब यहाँ उद्योग धन्दाहरू पनि व्यवस्थित रूपमा संचालन हुने हुँदा व्यापारीहरूलाई फाइदा हुने बताए।

उनले भने, 'अहिले सम्म त उद्योगधन्दाहरूको लागि कुनै त्यस्तो काम भएको छैन। तर, यो ठाउँ राजधानी भएपछि अवश्य पनि उद्योग धन्दाहरू संचालनमा आउलान्‌, प्रदेश सरकारले डीपीआर तयार गरेर कुन क्षेत्रमा के राख्ने भन्न बनाउँछ होला।’

प्रदेश राजधानी दाङको देउखुरी तोकिएपछि विकास निर्माणका काम र गुरुयोजना बनेका छन्‌। यो सँगै चहल-पहल बढिरहेको गढवा गाँउपालिका-१, का वडाध्यक्ष बाबुराम अधिकारीले बताए।

गढवा गाउँपालिका, राप्ती गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिका आसपास क्षेत्रका नागरिकहरू पनि निकै खुशी भएको समेत उनले बताए। अहिले दीर्घकालीन विकास निर्माणका प्लान तथा गुरुयोजनाहरू बनिरहेको भन्दै वडाध्यक्ष अधिकारीले अहिले पूर्वाधार योजना शाखाको स्थापना भइसकेको समेत बताए। उनका अनुसार प्रदेश सरकारको यस वर्षको अधिवेशन स्थायी राजधानीमा गर्ने योजना तय गरेको छ।

‘अहिले यहाँ धेरै चहलपहल भएको हुँदा धेरै फरक पाएका छौँ,’ उनले भने, ‘यहाँ नागरिकहरूले पछिल्लो समय दीर्घकालीन सोच अनुसार काम गर्न लागेका छन्। प्रदेशको राजधानी घोषणा भएपछि अहिले आम नागरिकहरूले राजधानीको मीठो अनुभूति गरेका छन्।’

लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणले प्रदेशको स्थायी राजधानीको गुरुयोजना निर्माण सँगै प्रदेश सरकारले अगाडी सारेका अन्य संरचनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम गरिरहेको पूर्वाधार विकास प्राधिकरण लुम्बिनीका प्रमुख एवम्‌ आर्किटेक्ट वासु पौडेलले बताए। तत्काललाई दुई/तीनवटा कुराहरूमा केन्द्रित भएको उनले जानकारी दिए।

उनका अनुसार शहरको छवि कस्तो देखाउनेदेखि कस्तो नीति तथा मापदण्ड बनाउने भन्नेबारे काम भइरहेको छ। कुन ठाउँमा के राख्ने भन्ने तय हुँदैछ। प्रशासन भवन, मनोरञ्जन क्षेत्र, औद्योगिक, ठूला-ठूला भवनहरू कता राख्ने भन्ने रहेको छ। यस्तै, प्रदेश सरकारले अघि सारेका आयोजनाहरूको सम्भाव्यता अध्ययन पनि गरिरहेको पूर्वाधार विकास प्राधिकरणले जनाएको छ।

प्रदेश राजधानीको गुरुयोजना निर्माण गर्ने मुख्य उद्धेश्यले लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाको बिजौरीमा प्रदेश पूर्वाधार विकास प्राधिकरण कार्यालय स्थापना गरिएको छ। कार्यालयले राजधानी शहरको गुरुयोजना निर्माण निम्ति परामर्शदाता संस्था छनोट गरिसकेको समेत पौडेलले बताए।

राप्ती गाउँपालिकाका जनप्रतिनिधिहरूसँग एक चरणको छलफल आफैँ गरिसकेको पूर्वाधार विकास प्राधिकरणले राजधानी शहर कस्तो हुने भन्ने परिकल्पना समेत गरेको र छिट्टै निर्माणका काम हुने पूर्वाधार विकास प्राधिकरणका सिभिल इन्जिनियर तिलक बहादुर गाहाले बताए। उनका अनुसार राजधानीको मास्टर प्लान ६ महिनाभित्र बन्नेछ। सोही प्लान अनुसार नै कुन कुन ठाउँमा कस्ता संरचनाहरू बनाउने भन्ने टुङ्गो लाग्नेछ।

त्यसै आधारमा डीपीआर तयार गरी भौतिक संरचनाहरू बन्ने उनले बताए। प्रादेशिक पूर्वाधार विकास प्राधिकरणले राजधानी शहरको काम बाहेक लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशीक अस्पतालको विस्तृत परियोजना प्रतिवेदन तयारीको काम गरिरहेको छ।

राप्ती प्रादेशीक अस्पतालको मास्टर प्लान तयार भैसकेको छ भने विस्तृत परियोजना प्रतिवेदन तयारीको काम भैरहेको प्रदेश राजधानी व्यवस्थापन कार्यालय लुम्बिनीका प्रमुख रामप्रसाद ज्ञवालीले बताए। गत चैत्रदेखि दाङको लालमटियामा कार्यालय स्थापना गरेर प्रदेशको व्यवस्थापनको काम गर्दै आइरहेको समेत उनले जानकारी दिए।

उनका अनुसार अन्य प्रदेशभन्दा लुम्बिनी प्रदेशलाई कसरी राम्रो र बलिया बनाउने भन्नेबारे मास्टर प्लान तयार गरिँदैछ। कार्यालय प्रदेश राजधानी भएको ठाउँमा मात्र नभइ जिल्लाका विभिन्न ठाउँमा रहेका सार्वजनिक जग्गाको अध्ययन र अनुसन्धान गर्दै आइरहेको समेत उनले बताए।

त्यस्तै, तत्कालै प्रदेशका केही मन्त्रालय र केही निर्देशनालय तत्काल स्थायी राजधानी भएका ठाउँमा स्थापित हुन आउने सम्भावना रहेकाले भवनहरूका लागि आवश्यक जग्गा प्राप्तिका लागि सूचना प्रकाशित गरेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.