|

काठमाडौं : सरकारले आगामी बिहीबारबाट कोभिड–१९ संक्रमण नियन्त्रण गर्न १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरिसकेको छ। जसअनुसार अत्यवश्यक कामबाहेक बाहिर हिँड्डुल गर्न पाइने छैन। सवारीसाधन चल्ने छैनन्।

तर, यी निर्णयले दीपक तामाङलाई चिन्तित तुल्यायो। नुवाकोटका दीपक जोरपाटी माँकालबारीमा मजदुरी गर्छन्। घर बनाउने काम गरेर अहिलेसम्म जसोतसो परिवार पालिरहेका छन्। तर, अब उनको रोजगारी पनि अब खोसिँदै छ। 

मंगलबार जोरपाटी छहारी क्लब खगाडीमा एक घर बनाइरहेका दीपक लामो सास फेर्दै भन्छन्, ‘सरकारले निषेधाज्ञा जारी गर्ने रे, खै अब कसरी आफ्नो र परिवारको पेट भर्ने हो थाहा छैन।’सरकारले एक सातासम्म मात्रै निषेधाज्ञा गरे त खासै समस्या नआउने उनी बताउँछन्। तर लम्ब्याउँदै गए उनलाई गाह्रो पर्छ। रड तान्दै उनले सुनाए, ‘बढी नै समय काम गर्न पाइनँ भने कसरी बाँच्ने?’

मजदुरलाई काम गर्न दिनुपर्ने माग उनको छ। ‘हुने खानेले बन्द भए पनि जसरी नि खान्छन्, हामीजस्ता त काम गरेर खानुपर्छ, हामीलाई काम गर्न सरकारले दिओस्,नभए खाद्यान्नको व्यवस्था गरोस्,' उनले सरकारसँग माग गरे।

अघिल्लो लकडाउनकै कारण उनी हायलकाय भइसके। ती दिन सम्झन पनि चाहँदैनन् उनी। तर फेरि त्यस्तै दिन आउँदा दुःखमाथि थपिरहेको छ उनलाई। दीपक भन्छन्, ‘यसपालि पनि त्यस्तै समस्या भोग्नुपर्ने अवस्था आयो।’

दीपकसँगै काम गर्दै आएका भोजपुरका टेकबहादुर परियार पनि भोकै परिने भन्दै चिन्तित छन्। लकडाउनका बेला काम गर्न पाउनुपर्ने उनको पनि माग छ। बौद्ध कुमारीगालमा बस्ने उनले भने, ‘काम गर्न पाएनौं भने त भोकै परिहाल्छ नि, हामी सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गर्छौं, काम गर्न पाउनुपर्छ।’

अर्का मजदुर केशव श्रेष्ठको पनि यस्तै दुःख र माग छ। भोजपुरका केशव केही दिन मात्रै काठमाडौं आएर गोकर्ण बागमती खोलामा वाल लगाउने काम गरिरहेका छन्। तर,निषेधाज्ञा हुने चिन्ताले उनी निराश छन्। 

‘निषेधाज्ञाले कोरोनाबाट त जोगिएला, तर कसरी भोको पेटबाट भने बच्ने?’उनले प्रश्न गरे। सरकारले मजदुरी, गरिबी, दिन दुःखीका लागि आवश्यक पर्ने खाद्यान्नलगायत सामग्री व्यवस्थापन गरेर मात्रै निषेधाज्ञा गर्दा राम्रो हुने उनलाई लाग्छ। 

‘पहिलो लकडाउनमा पनि मजदुरी गर्नेले लामो समयसम्म काम गर्न नपाएपछि भोकभोकै एक हप्तासम्म पैदल यात्रा गरेर गाउँ जानुपर्ने बाध्यता आयो, यसपालि यस्तो समस्या भोग्नु नपरोस्, हामीलाई गरिखान देऊ सरकार,’ केशवले दुःख बिसाए।

याे पनि

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.