किसानमा पेसाबाटै पलायन हुने डर

|

विराटनगर : कटहरी–४ का कोपिन्द्र सिंह हरेक साल टमाटर, फुलकोभी, बोडी लगायतका खेती लगाउँछन्। परम्परागत खेतीभन्दा केही माथि उठेका उनको खेतीबाट बर्सेनि करिब चार लाखसम्म आम्दानी हुने गर्थ्यो।  

तर गत चैत्र ११ मा कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै उनको व्यवसाय ओरालो लागेको छ। लकडाउन खुलेसँगै सामान्य अवस्थामा फर्किएला भन्ने आशमा रहेका उनलाई केही समय अगाडि परेको असिनाले थप निरास बनायो। 

‘पोहोर साल लकडाउनको समय तरकारी धेरै नष्ट भयो, एक रुपैयाँ केजी टमाटर दिँदासमेत बिक्री गर्न गाह्रो भयो’, उनले भने, 'यो वर्ष असिनाले सखाप बनायो।’ खेती उनीहरूको पुर्ख्यौली पेसा हो।

बाउबाजेले पुस्तौंदेखि गर्दै आएको पेसा, व्यवसायलाई थोरै परिमार्जित गरेर खेती गर्न सुरु गरेको बताउने कोपिन्द्रको खेतीबाट नै सिंगो परिवारको भरथेग छ। भन्छन्,‘ त्यो पनि कोरोना र असिनाले सक्यो, घरीघरी त पेसा नै परिवर्तन गर्न मन लाग्छ।’

उनी लामो समय वैदेशिक रोजगारीका लागि खाडीमा बसेर आफ्नै देशमा केही गरौँ भन्ने सोँच लिएर नेपाल फर्किएका थिए। कृषि पेसालाई आधुनिकीकरण गरेर निरन्तरता दिने सोच राखेका उन  डेढ वर्षयता यही पेसामा निरास छन।

४ कठ्ठामा  बन्दाकोभी,  ५ कठ्ठामा लौका, एक बिघामा टमाटर लगायतका खेती लगाएका उनको असिनाले यो वर्ष सखाप बनाएको छ। 

टमाटर, काँक्रा, बन्दालगायत असिनाको चोटका कारण व्यापार गर्न सकस भएकाले तरकारी खेतमै सुक्दै गएको छ। स्थानीय कृषक र स्थानीय बजारबीच समन्वय अभावका कारण  र कृषि बजारमा बिचौलिया हाबी हुँदा पनि कृषकले बर्सेनि यस्ता समस्या झेल्दै आएका छन्। 

सोही स्थानका सञ्जय सिंहले बैंकबाट लोन (कर्जा) लिएर टमाटर, काँक्रा, घिरौँला खेती लगाएका थिए। पोहोर सालको लकडाउन र केही समयअघि परेको असिनाले उनको तरकारी खेती पनि बिग्रियो। अहिले उनलाई तरकारी बेच्ने भन्दा पनि बैंकको ऋण कसरी तिर्ने भन्ने चिन्ता छ।

जग्गा ठेक्का लिएर १३ कठ्ठामा टमाटर, ५ कठ्ठामा काँक्रा, ४ कठ्ठामा घिरौँलाजस्ता तरकारी लगाएका छन् उनले ।‍ गत वर्ष लकडाउनले थलिएको व्यापार यो वर्ष केही उठ्ला भन्ने आश थियो उनलाई। तर असिनाले तरकारी सखाप बनाउँदा थप चिन्तामा छन् उनी।

मोरङ, झापा, सुनसरी लगायत स्थानमा धेरैजसो तरकारी भारतबाट आउँछन्। स्थानीयस्तरमा उत्पादन भएका तरकारी स्थानीय बजारमा पुर्‍याउन सकस भएको कृषकहरूको गुनासो छ। बाली लगाउँदादेखि, टिप्दासम्म लाखौँ खर्च हुने गर्दछ। तर सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता र बिक्री नै नहुँदा तरकारी कुहिएर जाने गरेका छन्।

टमाटर टिप्दा होस् या अन्य तरकारी टिप्दा प्रतिकिलो १ रुपैँया खर्च हुने किसानहरू बताउँछन्। मजदुरलाई दिँदा र महँगो ढुवानीले गर्दा आफूहरू थप मारमा पर्ने गरेको कृषकहरूको गुनासो छ। 

लकडाउनले गरिखाने वर्गलाई असहज भएको नै थियो तर असिनाले तरकारी खेती आघात बनाउँदा खेती गर्ने जाँगर मर्दै गएको किसानहरू बताउँछन्।

कृषि ज्ञान केन्द्र भन्छ : कृषकले भनेजस्तो छैन

तर कृषकले भनेजस्तो असिनाले पूर्ण रुपले तरकारीबालीमा क्षति नगरेको कृषि ज्ञान केन्द्र सुनसरी सम्पर्क केन्द्र मोरङका कृषि अधिकृत रामदेव सिंह बताउँछन्। प्रदेश १ को केही जिल्लामा मात्रै असिनाले क्षति पुर्‍याएको उनले बताए। 

सुनवर्सी, कटहरी, उर्लाबारीलगायत क्षेत्रमा असिनाले क्षति पुर्‍याएको उनी बताउँछन्। सुनवर्सीमा मकै, कटहरीमा तरकारी बाली धेरै क्षति भएको उनले जानकारी दिए।

क्षति बेहोरैका कृषकको विषय प्रदेश मन्त्रालयको अधिकारको कुरा रहेको उनले बताए। ‘हामीले कृषकका विवरण मागेर मन्त्रालयमा पठाइसकेका छौँ,’ उनले भने, 'यो विषयमा मन्त्रालयले के भन्‍नुहुन्छ, मन्त्रालयको अधिकारको कुरा हो।’

कृषकलाई राहत सम्बन्धी छलफल हुँदै 

असिनाले केन्द्रको जोनअन्तर्गतका तरकारी बालीको क्षतिपूर्तिका लागि संघ सरकारले नै व्यवस्था गर्नुपर्छ भन्ने आग्रसहितको पत्र केन्द्रमा पठाइएको प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले बताए। मन्त्री रानाले कृषकहरूको राहतको विषयमा  छलफल भइरहेको पनि बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.