|

मकवानपुर : बागमती प्रदेश सरकारमा मन्त्रिपरिषद विस्तार हुने भएको छ। प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले खाली रहेको मन्त्रालयमा आजै (बुधबार) नयाँ मन्त्रीलाई नियुक्त गर्ने तयारी भएको स्रोतको भनाइ छ।

विश्वस्त स्रोतका अनुसार खाली रहेका तीनवटा मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीसमेत नियुक्त गरी मुख्यमन्त्री पौडेलले ४ जनालाई आजै अपरान्ह शपथ खुवाउने तयारी गरिएको बुझिएको छ।

साबिक नेकपा हुँदा आन्तरिक विवादका कारण अविश्वासमा परेका मुख्यमन्त्री पौडेललाई हटाउन राजीनामा दिएका मन्त्रीको खाली ठाउँ तथा अन्य केहीलाई राज्यमन्त्री दिएर सरकार विस्तारको तयारीमा मुख्यमन्त्री लागिपरेको बुझिएको हो।

आज विस्तार हुने सरकारको मन्त्री हुनेमा काभ्रेका चन्द्र लामा, सिन्धुपाल्चोकका सरेश नेपाल, नुवाकोटका केशव पाण्डे र दोलखाकी सरस्वती बस्नेतको नाम रहेको बताइएको छ। उनीहरुले पाउने मन्त्रालयको बारेमा भने जानकारी दिइएको छैन।

मुख्यमन्त्री पौडेलमाथि अविश्वासको प्रस्ताव पेश गर्नका लागि तत्कालीन नेकपाका प्रचन्ड–माधव पक्षमा रहेका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीबाट अरुण नेपाल, आन्तरिक मामिला तथा कानून मन्त्रीबाट सालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्रीबाट युवराज दुलालले राजीना दिएपछि ती मन्त्रालय मन्त्रीविहीन थिए।

यस्तै, आज केही राज्यमन्त्रीले पनि बागमती सरकारमा अवसर पाउने बताइन्छ। मकवानपुरकी जुनेली श्रेष्ठ, धादिङका डा.रामकुमार अधिकारी र सिन्धुलीका प्रदीप कटुवाललाई मुख्यमन्त्री पौडेलले राज्यमन्त्रीको नियुक्ति खाने चर्चा छ।

तत्कालीन नेकपामा ओली र प्रचण्ड माधव पक्षका बीच विवादका कारण प्रदेश सरकारमा राम्रो काम गर्न नसकेको अपजस खेपिरहेका मुख्यमन्त्री पौडेलले अहिले एमालेको एकल बहुमत हुँदा राम्रो काम गर्न नसकेको आरोप खेपिरहेका छन्।

ओली पक्षका पौडेलले आफ्नैलाई विश्वासमा लिनका लागि पनि अहिले सरकारमा लैजान लागेको विश्लेषण गरिएको छ।

आफ्नो पार्टीको एकल बहुमत रहे पनि आफूमाथि अविश्वासको प्रस्ताव आउला भन्ने डरले मुख्यमन्त्री पौडेलले अचानक प्रदेशसभाको अधिवेशन अन्त्य गरेको प्रदेशसभामा रहेका विपक्षी दलले आरोप लगाएको छ।

प्रदेशसभामा रहेको प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, अन्य दलहरु नेपाली कांग्रेस, विवेकशील नेपाली दल, नेमकिपा, राप्रपाले जनताको काम गर्न छाडेर अचानक अधिवेशन अन्त्य गरी भागिरहेको आरोप लगाएका छन्। मुख्यमन्त्री पौडेलको सरकार विस्तारलाई विपक्षीले उनको सरकार जोगाउने खेल भएको प्रतिकृया दिएका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.