|

जनकपुरधाम : प्रदेश २ को राजधानी जनकपुरधाममा मैथिली भाषा साहित्य, कला, संस्कृति र गीतको प्रबर्द्धनका लागि निर्माण हुने मिथिला आर्ट ग्यालरीको आज शिलान्यास गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिकाको कनकपटी गाउँमा मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मिथिला आर्टको प्रबर्द्धन र प्रोत्साहनका लागि मिथिला आर्ट संग्रहालयको निर्माण हुँदै छ।

मुख्यमन्त्री स्वच्छता अभियानका सिनियर डिभिजन इन्जिनियर भगवान् झाले ५ करोडको लगानीमा निर्माण हुने आर्ट ग्यालरीको निर्माण अगामी १५ महिनामा सकिने जानकारी दिए।

झाले आर्ट ग्यालरीसँगै सोही ठाउँमा रहेको ऐतिहासिक सुब्बाजी पोखरीको सौन्दर्यीकरण, मिथिला आर्ट ग्यालरी, वाल उद्यान, वृक्षारोपण सहितका कार्यहरू योजनाबद्ध तरिकाले गरिने जानकारी दिए।

आर्ट ग्यालरीमा मिथिला चित्र कलाको प्रदर्शन, प्रशिक्षण तथा बिक्री कक्ष पनि रहने भएकाले यसले मिथिला आर्टको विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ। मिथिला आर्टमा जीविकोपार्जन गर्न चाहनेका लागि वरदान नै साबित हुने विश्वास प्रदेश सभा सदस्य रामअशीष यादवले व्यक्त गरे।

प्रदेश  २ का प्रदेश सभा सदस्य राम अशीष यादव, जनता समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति यादव, जनकपुरधाम उपमहानगरपालिकाको सो वडाका अध्यक्ष परमेश्वर यादव, उपाध्यक्ष अम्भु प्रसाद साह, नगर अध्यक्ष द्वय विष्णु देव साह, तेजनारायण यादवले संयुक्त रुपमा शिलान्यास आर्ट ग्यालरीको शिलान्यास गरेका हुन्।  

पूर्ण स्वास्थ्य सुरक्षा सावधानी एवं नेपाल सरकारले तोकेको मापदण्डअनुसार नै कार्यक्रम गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सीमित व्यक्तिलाई मात्र आमन्त्रण गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.